No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

कथा : ‘मेरी आमा’

  • 6
  •  
  •  
  •  
  •  
    6
    Shares

प्रतिक गेलाल।
“कथा”
प्रिय भगवान्,
तिम्रो कृपाले आज म पढी गुनी ज्ञानी बन्न टाढा जाँदै छु। एउटा बिरानो शहर, जहाँ समाएर हिँड्न मेरि मामु को हात हुनेछैन। नराम्रो सपना देखेर आत्तिएर बोलाउँदा, सुम्सुम्याउँदै सुताउने त्यो काख हुनेछैन। आजसम्म म मामुदेखि टाढा कहिल्यै गएको छैन। तर सधैँ मामुसँग टाँसिएर बस्न पनि त नपाइने रहेछ।

अब म हिँडीहाल्छु, मेरी मामु घर आउँदा बिर्सेर मलाई बोलाउँदै पस्छिन् होला। बेलाबेलामा बिर्सेर बाबु यसो गर, भनेर भन्दी होलिन् अनि फेरि म घरमा छैन भने याद आएर हिस्स पर्दि हुन्। बाहिर उनी कसैलाई देखाउँदिनन् तर एउटा कुनामा पसेर सुँक्क सुँक्क गर्दी हुन्। मेरी मामु रुँदा म पनि सँगै गएर रुने गर्थेँ। यसपाली उनी रुँदा आँसु पुछिदिने म हुनेछैन, यो सम्झेर झन् घर्की घर्की रुँदिहुन्। तिम्ले उनको आँखाबाट कहिल्यै आँसु झर्न नदिनु है। उनलाई काममा यति व्यस्त राख्नु कि मेरो बारे सोच्ने फुर्सदै नपाउन्।

मेरि मामु सार्है भुलक्कड छिन्। औषधी खान बिर्सिन् भने तिमीले सम्झाइदिनु है। स्कुटीको चाबी गोजीमा राखेर संसार तलास्न थालिन् भने तिमीले सम्झाइदिनु है। चस्मा टाउकोमा अडयाएर ब्यागतिर खोज्दी होलिन्। “ब्यागमा खोजीस्यो न भुलक्कड मामु” भन्दै देखाइदिने अब म हुनेछैन, तिमीले सम्झाइदिए है। काममा व्यस्त रहँदा मेरो याद गर्न भुलिन भने, मैले खाना खाएँ की खाइनँ ख्याल गर्न भुलिन् भने चाहिँ तिम्ले नसम्झाउनु। उनी मेरी आमा हुन्, मलाई त भुल्नै सक्दिनन्।

घरमा मासुको झोल पाकेको दिन पनि आज त मेरो छोराले थपी थपी खाना खान्थ्यो भनेर सम्झिँदी हुन्। आइसक्रिम पार्लरको बाटो हिड्दा बाबुले कति मिठो मानेर खान्थ्यो भनेर सम्झिँदी हुन्। बजारमा मेरो साइजको लुगा देख्दा मेरो छोरालाई ठीक्क हुन्थ्यो भनी सम्झिँदी हुन्। मेरी आमाको दिल सार्है कमजोर छ के। रुन थाली हाल्छिन्। उनी रुँदा अब तिमी नै उनको सहारा बन्नु है।

मलाई मन पर्ने खानेकुरा खाँदै गर्दा “खाने?” भनी सोध्दा पनि “म अघाएकी छु” भन्थिन्, भोक हुँदाहुँदै पनि। मैले खाएको पनि यति मज्जाले हेर्थिन्, मानौँ त्यसैले उनको पेट भरिन्छ। म चाहन्छु एकदिन यस्तो आओस्, उनले खाउन् र मैले हेरीरहूँ। उनले मलाई पक्कै सोध्छिन् “खाने?” तर त्यस दिन म भन्नेछु, “भोक छैन”। त्यस दिन देख्नका लागि अहिले त मैले जानैपर्ने हुन्छ, मेरी मामुभन्दा धेरै टाढा। त्यतिन्जेलसम्म उनको दुःख मेरो पोल्टामा पारेर भएपनि उनलाई खुसी राखिदेउ, है, है।

प्रकाशित: २५ पुष २०७७, शनिबार ०४:४५
Comments
Loading...