No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

पृथ्वी जयन्ती मनाउन दर्जन बढी राष्ट्रवादी संघसंस्थाकाे सहकार्य

स्वतन्त्र नागरिक समाजले यसवर्षको राष्ट्रिय एकता दिवस तथा २९९ औं पृथ्वी जयन्ती समान विचार र उदेश्य भएका अन्य संघसंस्थाहरुसंगको सहकार्यमा मनाउने भएको छ ।

  • 308
  •  
  •  
  •  
  •  
    308
    Shares

काठमाण्डौं । यसवर्षकाे पृथ्वी जयन्ती मनाउन दर्जन बढी राष्ट्रवादी संघसंस्थाकाे सहकार्य हुने भएकाे छ । स्वतन्त्र नागरिक समाजले यसवर्षको राष्ट्रिय एकता दिवस तथा २९९ औं पृथ्वी जयन्ती समान विचार र उदेश्य भएका अन्य संघसंस्थाहरुसंगको सहकार्यमा मनाउने भएको छ । समाजका संयोजक हेमबिक्रम सिलवालका अनुसार यही पुष २७ गते  सोमवार २९९औं श्री ५ पृथ्वी जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउन वृहत र्याली सहित पृथ्वी शालिकमा गई माल्यार्पण गर्ने कार्यक्रम रहेको छ ।

सबै राष्ट्रवादी देशभक्त संघ संस्थाहरुको पहलमा  राष्ट्रिय झण्डा, तथा  व्यानरसहित र्यालीले शहर परिक्रमा गरी सिंहदरवारस्थित पृथ्वी शालिकमा पुग्ने कार्यक्रम रहेको छ ।

कार्यक्रम अनुसार सोमवार बिहान १०ः३० बजे प्राचिन दरवार हनुमानढोका कुमारी मन्दिरमा भेला भई र्याली सुरु हुनेछ । र्याली  प्राचिन दरवार हनुमानढोका कुमारी मन्दिरवाट सुरू भै मखन, ईन्द्रचोक, मछिन्द्र वहाल, असन, भोटाहिटी, रत्नपार्क, भद्रकाली हुदै सिंहदरवारस्थित राष्ट्र निर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाह देव सरकारको शालिकमा माल्यार्पणका लागि जानेछ ।

सरकारले नमनाए पनि नागरिक स्तरबाट सधै  पुस २७ गते आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको योगदानको कदर गर्दै राष्ट्रिय एकता दिवसका रुपमा पृथ्वी जयन्ती मनाईदै आएको छ ।  स्वतन्त्र नागरिक समाज सहितका १३ बढी अन्य संघसंस्थाको अगुवाई र संयुक्त आयोजनामा यस वर्षको पृथ्वी जयन्ती मनाउने तयारी भएको हो ।

पुस २७ गते बिहान १० बजे हनुमानढोका गद्दी दरबार अगाडिबाट आआफ्नो मौलिक पहिचान झल्किने बिविध साँस्कृतिक बाजागाजा र झाँकीहरुसहित र्याली सुरु हुनेछ । झाँकीमा नेपाली मौलिकता झल्किने लामा नाच, झ्राक्री नाच, धिमेबाजा, पञ्चेबाजा सहितको र्‍याली सिंहदरबार अगाडि पृथ्वीनारायण शाहको सालिकमा जानेछ । त्यसपछि शालीकमा माल्यार्पण गर्ने गरी तयारी अगाडि बढाइएको स्वतन्त्र नागरिक समाजले जनाएको छ ।

स्वतन्त्र नागरिक समाजका अलवा मातृभूमि संरक्षण नेपाल, नेपाल नागरिक अभियान, योगी नरहरिनाथ ट्रष्ट, अध्यत्मिक परिषद, विश्व हिन्दु एकता परिषद, ओम सेना नेपाल, बहादुर शाह प्रतिष्ठान, राष्ट्रवादी एकता पार्टी, देशभक्त प्रजातान्त्रिक गठबन्धन,माओवादी पीडित राष्ट्रिय संघर्ष समिति, राष्ट्रिय संस्कृति संरक्षण तथा सामाजिक धार्मिक विकास मातृभूमि, राष्ट्रवादी युवा मन्च, श्री हनुमान आरधना मण्डलले संयुक्त रुपमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउन लागेका हुन ।

स्मरणीयछ, आगामी माघ ५ गतेबाट स्वतन्त्र नागरिक समाजले राजसंस्था  सहतिको हन्दिु अधिराज्य पुनर्स्थापनाको लागि राजधानी केन्द्रित आन्दोलनको तयारी समेत अगाडि बढाएको छ । आगामी माघ ५ गतेदेखि फागुन ७ गतेसम्म राजधानीको माईतीघर मण्डलामा सुरु हुने राजधानी  केन्द्रीत आन्दोलनमा सबै देशभक्त जनसमुदायलाई सहभागिताका लागि पनि स्वतन्त्र नागरिक समाजले अपिल गर्दै आएको छ । माघ ५ गतेदेखि फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवसका दिनसम्म नेपालमा आन्दोलनकै बलमा राजसंस्था पुनर्स्थापना गर्ने स्वतन्त्र नागरिक समाजको दाबी छ ।

प्रकाशित: २५ पुष २०७७, शनिबार १५:०५
Comments
Loading...