No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

वेलायतमा कोभिडका विरामीका लागि नयाँ उपचारको परीक्षण सुरु

  •  
  •  
  •  
  •  
  •  

वेलायतमा कोरोनाभाइरस सङ्क्रमणका बिरामीहरूलाई गम्भीर अवस्थामा पुग्नबाट रोक्ने एउटा नयाँ उपचारको परीक्षण सुरु भएको छ । मङ्गलवार एक बिरामीलाई उक्त उपचार उपलब्ध गराइएको बताइएको छ । यो उपचार पद्धतिमा कुनै पनि भाइरस सङ्क्रमण हुँदा शरीरले निर्माण गर्ने ’इन्टरफेरोन बेटा’ नामको प्रोटिन बिरामीलाई सुँघ्न लगाइन्छ ।

यसबाट बिरामीको शरीरको रोग प्रतिरोधी क्षमता सक्रिय भई सङ्क्रमणसँग जुध्न तयार हुने अपेक्षा गरिएको छ । पहिलो चरणको तथ्याङ्कले यो उपचारले भेन्टिलेटर चाहिने वा गम्भीर अवस्थामा पुग्ने बिरामीहरू ८० प्रतिशतले घटाउने देखिएको थियो । यो साउथह्याप्टन युनिभर्सिटी अस्पतालले विकास गरेको पद्धति हो ।

वेलायतमा यो उपचार पद्धतिका लागि प्रति बिरामी २,००० पाउन्ड लाग्ने र त्यहाँको अस्पतालको खर्चको हिसाबले यो धेरै नभएको बताइएको छ । मङ्गलवार ३४ वर्षीया अलेज्यान्ड्रा कन्सट्यान्टिनलाई परीक्षणको रूपमा यस्तो उपचार गरिएको छ । उनी सोमवार अस्पताल भर्ना भएकी थिइन् । उपचार पद्धति देखाउन नर्सले उनलाई ’इनहेलर’ दिएको र औषधिलाई बाफ बनाएपछि उनले फोक्सोमा पुग्ने गरी त्यसलाई श्वासबाट ग्रहण गरेकी थिइन् ।

उनले घरमा सानी छोरी रहेको र उनलाई भेट्न आफू आतुर रहेको बताइन् । गत वर्ष गरिएको दोस्रो चरणको परीक्षणमा यो उपचार प्रभावकारी देखिएको थियो । बिरामीहरू निको हुने सम्भावना दुईदेखि तीन गुणाले बढेको औषधि उत्पादन गरिरहेको साइनार्जेन कम्पनीले जनाएको छ । ती परीक्षणमा बिरामीमा स्वाँस्वाँ हुने अवस्था निकै कम भएको र बिरामीले अस्पतालमा बस्नुपर्ने औसत समय नौ दिनबाट छ दिनमा झारेको बताइएको छ ।

तर ती परीक्षण १०० बिरामीमा गरिएको सानो परीक्षण थियो । अहिले सुरु गरिएको परीक्षणमा भने २० देशमा ६०० बिरामी समावेश गरिने छ । परीक्षणबाट सकारात्मक नतिजा आएपछि मात्रै सो औषधि उपचारमा प्रयोग हुन आवश्यक अनुमतिका लागि योग्य हुनेछ ।

प्रकाशित: २९ पुष २०७७, बुधबार १७:२५
Comments
Loading...