No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

अफगानिस्तानबाट सैनिक फिर्ता गरेपनि सहयोग जारी राख्ने बाइडनको वाचा

  • 4
  •  
  •  
  •  
  •  
    4
    Shares

अमेरिकी राष्ट्रपति जो बाइडनले सैन्य स्रोतका साथ नभए पनि अमेरिकाले अफगानिस्तानलाई सहयोग जारी राख्ने वाचा गरेका छन् । सन् २००१ मा अमेरिकी हवाई हमला घोषणा गरिएको ह्वाइट हाउसको कक्षबाट उनले यो अमेरिकाको सबैभन्दा लामो युद्ध अन्त्य गर्ने बेला भएको बताएका हुन् ।

अधिकारीहरूका अनुसार सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकाको वर्ल्ड ट्रेड सेन्टरमा भएको आतङ्कवादी हमलाको २०औँ वार्षिकी पारेर सैनिकहरूलाई फिर्ता ल्याउन लागिएको हो । यतिखेर अफगानिस्तानमा रहेका ९ हजार ६०० नेटो सैनिकमध्ये कम्तीमा २ हजार ५०० अमेरिकी फौज छन् ।

अफगानिस्तानमा रहेका अमेरिकी सैनिकको सङ्ख्या थपघट भइरहन्छ । अमेरिकी र नेटो अधिकारीहरूका अनुसार एउटा कट्टरपन्थी इस्लामवादी अभियान– तालिबानले अफगानिस्तानमा हिंसा घटाउने वाचा अहिलेसम्म पालना गरिरहेको छ । काबुलमा अफगान अधिकारीहरूले फिर्तीको तयारीका रूपमा शान्ति वार्ता जारी राख्ने बताएका छन् ।

बुधवार अफगान राष्ट्रपति असरफ गनीले एउटा ट्वीट गर्दै आफूले राष्ट्रपति बाइडनसँग टेलिफोनमा कुरा गरेको बताएका थिए । उनले आफ्नो देशले ’अमेरिकी निर्णयको सम्मान गर्ने र सहज सङ्क्रमणको सुनिश्चितताका लागि अमेरिकी साझेदारसँग काम गर्ने’ जनाए । उनले अफगान फौजहरू आफ्नो देश र मानिसहरूको रक्षाका लागि पूर्ण रूपमा सक्षम रहेको बताए ।

बाइडन अफगान युद्धको नेतृत्व गर्ने चौथो अमेरिकी राष्ट्रपति हुन् । उनले भने, ‘हामीले उपयुक्त अवस्था गरेपछि फिर्ता हुने आशामा अफगानिस्तानमा हाम्रो उपस्थितिलाई लम्ब्याउने वा बढाउने चक्रलाई जारी राख्न सक्दैनौँ।’

उनले अफगान सरकारलाई सहयोग गर्ने काम जारी राख्ने बताउँदै तीन लाखको सङ्ख्यामा रहेका अफगान सुरक्षा बललाई सहायता दिने काम जारी राख्ने वाचा गरेका छन् । बाइडनले अफगानिस्तानमा हस्तक्षेप गर्ने अवस्था सिर्जना गराएको सेप्टेम्बर ११ को हमलाका पीडितहरूमाथि श्रद्धाञ्जलि समेत व्यक्त गरे ।

 

प्रकाशित: २ बैशाख २०७८, बिहीबार ०६:४१
Comments
Loading...