No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

चीनमा मृतकको दाहसंस्कार नगरी गाड्न वैकल्पिक शवको जोहो गर्दा अर्का व्यक्तिको हत्या

  •  
  •  
  •  
  •  
  •  

मृत्युपछि आफ्नो शव जलाउनुको सट्टा गाडिओस् भनेका एक व्यक्तिको इच्छा पूरा गर्न चीनमा अर्का व्यक्तिको अपहरणपछि हत्या भएको पाइएको छ । दक्षिणपश्चिमी चीनका ती व्यक्तिले सन् २०१७ मा क्यान्सरका कारण मृत्यु हुनुअघि आफ्नो शव परम्परागत रूपमा समाधिस्थ गरिदिन आफ्नो परिवारलाई आग्रह गरेका थिए। तर चीनका केही स्थानमा शव गाड्न पाइँदैन ।

नियमानुसार दाहसंस्कार गर्नका लागि उनको परिवारले ती व्यक्तिको शवको साटो अर्कै शव खोज्ने जुक्ति निकाले। त्यसका लागि अर्को शव जोहो गर्न एक व्यक्तिलाई परिचालन गरे । शोकाकुल परिवारलाई वैकल्पिक शव उपलब्ध गराउने ती व्यक्तिले परिवारजनलाई थाहै नदिई अर्का एक व्यक्तिको हत्या गरिदिएछन् ।

पैसा दिएर शव खोज्ने काममा खटाइएका ती व्यक्तिले आफ्नो नाम हुआङ भनेर परिचय दिएका थिए । हत्याको अभियोगमा उनलाई सन् २०२० को सेप्टेम्बरमा तत्काल लागु नहुनेगरी मृत्युदण्डको सजाय सुनाइयो । सन् २०१७ मै हत्या भएको भए पनि सो घटनासम्बन्धी एउटा लेखले गत साता अनलाइनमा धेरैको ध्यान तानेपछि चर्चामा आएको छ ।

अदालती कागजपत्रका अनुसार जलाउनका निम्ति शव उपलब्ध गराउन लागि हुआङलाई सन् २०१७ मा उक्त परिवारले पैसा दिएको थियो । उक्त परिवार अहिले ग्वान्जोङ प्रान्तको शान्वेई नगरमा बस्छ जहाँ मृतकको शव जलाउनुपर्ने नियम छ ।

उक्त परिवारले वैकल्पिक शव जलाएर आफ्नो प्रियजनको पार्थिव शरीर परम्परागत रूपमा शव समाधिस्थ गर्ने योजना बनाएको थियो । त्यसका लागि हुआङले डाउन्स् सिन्ड्रोम नामक जन्मजात रोग लागेका एक व्यक्तिको हत्या गरिदिएर शव उपलब्ध गराइदिए ।

सडकमा फोहोर टिपिरहेका एक सुस्त मनस्थितिको व्यक्तिलाई देखेपछि हुआङले उनलाई फकाएर आफ्नो कारमा चढाएको र अचेत नहुन्चेल मदिरापान गराएको खुलेको छ। अचेतावस्थामै उनको मृत्यु भयो । त्यसपछि ती पीडितको शवलाई एउटा पेटिकामा राखेर उनले आफूलाई शव खोज्ने जिम्मेदारी दिएको परिवारलाई बुझाइदिए ।

उक्त परिवारले हुआङलाई १,०७,००० युआन (झन्डै १९ लाख नेपाली रुपैयाँ) दिएको थियो। त्यसमध्ये आरोपितले ९०,००० युआन पाएका थिए भने बाँकी रकम बिचौलियाको पोल्टामा गएको थियो । त्यसपछि उक्त परिवारले शवपेटिका फेरेर वैकल्पिक शवको दाहसंस्कार गरिदियो भने आफ्नो प्रियजनको शव गाडिदियो । सन् २०१७ मा ती पीडित व्यक्ति हराएको भन्दै औपचारिक रूपमा खोजी सुरु भयो । उक्त अपराधबारे सत्यतथ्यबाहिर ल्याउन र आरोपित फेला पार्न प्रहरीलाई दुई वर्षभन्दा बढी समय लाग्यो ।

प्रकाशित: २ बैशाख २०७८, बिहीबार ०८:२०
Comments
Loading...