No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

विपदपछि सेना लगायत सबै सुरक्षा निकायसँग समन्वय गर्ने संस्थाको रुपमा यो प्राधिकरण जानुपर्छ

  •  
  •  
  •  
  •  
  •  

डा. विश्व पौडेल ।
भुइँचालोपछि हामीहरुले फेस गरेको एउटा प्रश्न यस्ता आइरहने प्राकृतिक विपत्तिबाट हाम्रो कमजोर मुलुकलाई कम लागतमा कसरी सुरक्षा गर्ने भन्ने पनि हो । धेरै नेपाली बस्तीहरु जोखिमयुक्त ठाउँमा बसेका छन् । पहाडमा जस्तै तराइमा पनि खोलाहरु अझै नियन्त्रण गर्न सकिएको छैन र यसले वर्षेनी धेरै नाश गर्छ । भुइँचालोको जोखिम बढी भएको, पहिरो खस्ने ठाउँहरुमा धेरै नेपाली बस्छन जुन स्थिति विभिन्न उपाय अपनाएर हामीले परिवर्तन गर्नसक्छौं ।

विपद आएपछि व्यवस्थापन गर्न सुरक्षा निकायको भूमिका धेरै हुने भएकोले राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणलाई गृह मन्त्रालयअन्तर्गत राखिएको हो। तर हामीलाई अब विपदपछिको व्यवस्थापनमा मात्र नभै विपद अघिनै जोखिम न्युनिकरण गर्ने योजना, तयारी जस्ता कुरामा पनि धेरै खर्च गर्नुपर्ने स्थिति छ, किनकी विपद भएपछि सानो सानो कामको लागि पनि धेरै खर्च हुन्छ। भूकम्पपछि पुनर्निर्माणको लागि ऋण लिनुपर्यो, कोभिडमा त्यस्तै ऋण लिनुपरेको छ । त्यो भन्दा विपद अघिको योजना र तयारीमा खर्च गरे विपदपछिको खर्च कम हुन्थ्यो। यसले विपदमा नोक्सानी पनि कम हुन्छ।

मलाई अब उक्त प्राधिकरणको भूमिका ठूलो हुनुपर्ने जस्तो लाग्छ । गृह मन्त्रालयमै भएपनि विपदअघि जोखिम न्युनिकरणको अनुसन्धान र भौतिक अन्य कामको लागि योजना आयोग, शहरी विकास मन्त्रालय र अर्थमन्त्रालयसँग समन्वय गर्ने र विपदपछि सेना लगायत सबै सुरक्षा निकायसँग समन्वय गर्ने संस्थाको रुपमा यो प्राधिकरण जानुपर्छ। राम्रो योजना र व्यवस्थापन गर्ने संस्थाको रुपमा यो अघि बढ्नुपर्छ।
नेपालका धेरै सरकारी कर्मचारीहरुमा एउटा समस्या के छ भने ति बाहिरबाट आएका विज्ञलाई कम आँक्छन् ।

यस्तो प्राधिकरण बाहिरी मान्छेले हाँक्न हुँदैन भनेर मसँग धेरै पूर्व ब्युरोक्रेटहरुले भनेका छन् । बाहिरबाट आएका मान्छेले सिडिओ, पुलिस चलाऊन सक्दैनन् भन्नेहरु पनि छन् । तर यो प्राधिकरण एउटा यस्तो प्राधिकरण हो जसलाई बाहिरको कुरा पनि राम्रोसँग बुझेको मानिसले चलाऊनुपर्छ । (अहिले प्रतिस्पर्धाबाट आएका, बाहिरबाट ल्याइएका दक्ष व्यक्ति सिइओ हुनुहुन्छ; आशा गरौं उहाँँले यस्ता शंकालु पूर्वकर्मचारीहरुलाई गलत सिद्ध गर्नुहुनेछ)।

प्रकाशित: २ असार २०७८, बुधबार ०६:३९
Comments
Loading...