No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

भृकुटी अस्पतालको निर्माण कार्य तीव्र, सरकारी मूल्यमा उपचारसेवा दिने

अस्पतालले पूर्वका पाँचथर, इलाम, ताप्लेजुङ, तेह्रथुम, मोरङ, सुनसरी लगायत जिल्लाका बिरामीलाई प्रत्यक्ष र सर्वसुलभ तरिकाले सेवा दिने योजना लिएको छ ।

झापा । जिल्लाको कमल गाउँपालिका-५ स्थित आदिवासी रंगशालनजिक निर्माणधीन भृकुटी अस्पतालको भवन निर्माण कार्यक्रम तीव्र रुपमा भइरहेको छ ।

निजी क्षेत्रले करिब १ अर्ब रुपैयाँ लागतमा निर्माण सम्पन्न गर्न लागेको यो अस्पताल पूर्वी क्षेत्रकै विशाल र अत्याधुनिक भौतिक संरचना र गरिब–निमुखामैत्री हुने संचालकहरुले बताएका छन् ।

३ बिगाह क्षेत्रफलमा निर्माण हुने अस्पतालले अर्को वर्षको दर्शै अगाडिदेनि सेवा दिने कार्यायोजना रहेको संचालक प्रताप कार्कीले बताए । भवन साढे ६ तल्लासम्मको बन्नेछन् । गएको साउन महिनाबाट शुरु गरिएको निर्माण कार्य अहिले अहिले जग (फाउण्डेशन)को डिपीसीको काम धमाधम भइरहेको छ । निर्माण कार्य ठेकेदार कम्पनीले काम रातदिन चलाइरहेको छ ।

भवन अपांगता, दृष्टिविहीनमैत्री बनाइँदैछ । भवन निर्माण सरकारले तोकेकै मापदण्डअनुरुप भइरहेको कार्कीले बताए । भृकुटीको मूल उद्देश्य असहाय नागरिकलाई सहज रुपमा सुलभ दरमा स्वास्थ्योपचार सेवा दिने रहेको उनको भनाइ छ ।

अस्पतालले शुरुमा १ सय शैय्याबाट स्वास्थ्य सेवा दिन शुरु गर्ने र क्रमशः बढाएर ५ सय पुर्याउने लक्ष्य रहेको संचालक कार्कीले बताए । ‘आउँदो दशैं अगाडि नै अस्पतालबाट स्वास्थ्य सेवा दिन शुरु गर्छौं’ उनले भने, ‘त्यसनिम्ति आवश्यक जनशक्ति तय भइसकेको छ । उपकरण खरिदसम्बन्धी प्रक्रियाका काम भइरहेको छ ।’ सेवा सुविधायुक्त र गुणस्तरीय हुने तथा सबै किसिमका जनशक्ति स्वदेशभित्रैका राखिने उनले बताए ।

अस्पतालमा मुख्य वित्तीय लगानी कुमारी बैंक लिमिटडलेको गरेको छ । संचालक समितिमा कार्की, नसिम र बुद्धिमान थापा छन् । थापा अस्पतालका अध्यक्ष हुन् भने नसिम कार्की प्रबन्ध निर्देशक हुन् । युवा लगानीकर्ता उनीहरु निजी क्षेत्रको नमूना अस्पताल बनाउने ध्येयसाथ प्रतिवद्ध भएर काममा लागिपरेका छन् ।

अस्पतालले ल्याब, एमआरआई, सिटीस्क्यान, ईसीजी, इको, लगायतका सम्पूर्ण उपकरण अत्याधुनिक र नयाँ प्रविधिमा आधारित राखिनेछन् ।

अस्पतालले पूर्वका पाँचथर, इलाम, ताप्लेजुङ, तेह्रथुम, मोरङ, सुनसरी लगायत जिल्लाका बिरामीलाई प्रत्यक्ष र सर्वसुलभ तरिकाले सेवा दिने योजना लिएको छ । उपचार सेवा मुलतः विपन्न र असहाय वर्गलाई सुलभ मूल्यमा सेवा दिने लक्ष्य अस्पतालको छ ।

अर्को महत्वपूर्ण कुरा, सरकारले देशैभर चलाएको स्वास्थ्य बीमाका कार्यक्रमसँग समन्वय गर्ने काम अस्पताल गरिरहेको छ । स्वास्थ्य बीमित बिरामी पर्दा उनीहरुको उपचार पूर्ण सेवासहित अस्पतालबाट हुने व्यवस्था मिलाइएको छ ।

यसमानेमा सरकारले चलाएको निमुखा र गरिबीको रेखामा रहेका नागरिकले सहज, सरल र छरितो रुपमा भरपर्दो उपचार भृकुटीबाट पाउनेछन् । अझ बीमा नगरेका गैरबीमितहरुलाई टिकटदेखि हरेक उपचार सरकारी मूल्यमा दिने अस्पतालको अर्को महत्वपूर्ण कार्यक्रम रहेको संचालक कार्कीले कुराकानीका क्रममा बताए । छिमेकीबाहेकका जिल्लाहरुमा समेत बिरामी लिन जाने र सहज रुपमा ल्याउन सकिने गरी अस्पतालले आवश्यक सवारी साधनको व्यवस्था मिलाइने उनले बताए ।

निर्माणाधीन अस्पताल बनेपछि एकै ठाउँमा चाहेजस्तो र सस्तो मूल्यमा उपचार पाउने स्थानीय मात्र नभई पूर्वी क्षेत्रकै बासिन्दाहरुले अपेक्षा गरेका छन् ।


प्रकाशित: १८ कार्तिक २०७८, बिहीबार १६:०५
Comments
Loading...