नेपाली कांग्रेस (वी.पी.)ले लिपुलेक, कालापानी र लिम्पियाधुरा फिर्ता गर्न आजदेखि फागुन ७ गतेसम्म राष्ट्रिय अभियान सञ्चालन गर्ने

७ माघ २०७८, शुक्रबार ०९:०९

काठमाडौं, ७ माघ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र परम्पराको संरक्षण गर्न नेपाली कांग्रेस (वी.पि.) ले राष्ट्रियता बचाउने अभियान सञ्चालन गर्ने भएको छ । आज (शुक्रबार) रिपोर्टर्स क्बल नेपालमा पत्रकार सम्मेलन गर्दै उक्त पार्टीले राष्ट्र र राष्ट्रियता बचाउने अभियानअन्तर्गत माघ ७ गतेदेखि फागुन ७ गतेसम्म सातै प्रदेशमा एक महिने राष्ट्रिय अभियान सञ्चालन गर्ने जानकारी दिएको हो । फागुन ७ गते सातै प्रदेशमा सभा गर्ने पनि उसले जनाएको छ ।

कार्यक्रममा बोल्दै पार्टीका उपसभापति पुष्पराज पराजुलीले देशमा भ्रष्टाचार बढिरहेको उल्लेख गरे । तर, अहिले नेतृत्वमा रहेका नेताहरु देशप्रति गम्भीर नभएको उनको आरोप छ । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीप्रति नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा लचिलो भएको आरोप लगाए । यसबाट मोदी सफल भएको उनको भनाई थियो । भारतसँग बोल्न प्रधानमन्त्री देउवाको आँट नभएको पनि उनले आरोप लगाए । पूर्वप्रधानमन्त्री सुशिल कोइरालाको जतिपनि देउवामा दम नभएको आरोप लगाउँदै पराजुलीले कोइरालाले २०७२ सालमा चीन र भारतलाई सीमाको विषयमा कुटनैतिक नोट पठाएको स्मरण गराए ।

नेपाली भूभाग लिपुलेकमा नेपालको अनुमति नलिई बाटो बनाउने काम गलत हो र यसलाई रोक्नुहोस भनेर पनि नेपाल सरकारले भारत सरकारलाई भन्न नसकेको उनको टिप्पणी छ । उनले नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पनि लिपुलेक फिर्ता लिएरै छाड्छौं भनेको तर व्यवहारमा त्यसो नदेखिएको स्मरण गराउँदै ओलीको राष्ट्रवाद नक्क्ली भएको आरोप लगाए । उनले भने,‘नेपालको परराष्ट्रको जिम्मा भारतलाई दिने ओली नै हुन् र उक्त निर्णयलाई रोक्ने गिरिजाप्रसाद कोइराला हुन् । ओलीको राष्ट्रियता नाङ्गिसकेको छ ।’
पराजुलीले सबै सांसदले लिपुलेक हाम्रै हो भनेर खुशी हुँदै हस्ताक्षर गरेको स्मरण गराउँदै ओलीले पाठ्यक्रममा राख्न नसकेर राष्ट्रियताबारे उनको चरित्र प्रष्ट देखाएको बताए । उनले भने,‘नेपाली जनतालाई ओलीले बेकुफ बनाए ।’

सत्तापक्ष र प्रतिपक्ष अहिले सबै विदेशी शक्ति केन्द्रबाट पालित/पोषित भएको आरोप लगाउँदै उनले भने,‘सत्तापक्ष र प्रतिपक्ष दुवै शक्तिले देशको लागि केही गर्न सक्दैनन् ।’ नेता पराजुलीले नेपाली कांग्रेसका महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विज्ञप्ती जारी गरेर ढर्रामात्र देखाएको आरोप लगाए । उनले प्रधानमन्त्री देउवा र ओलीमा साँच्चिकै राष्ट्रवाद छ भने पाठ्यक्रममा नेपालको नयाँ नक्सा समावेश गरी सार्वजनिक गर्नसमेत चुनौति दिए । उनले अब देउवा र ओलीको कुरा नेपाली जनताले नपत्याउने पनि दाबी गरे । उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललगायत सबै नेताहरु उस्तै भएको टिप्पणी गरे । उनले भने,‘कोही नेता देशप्रति जिम्मेवार छैनन् । उनीहरु विदेशीको इशारामा चलेका छन् ।’
राजसंस्था र राजनीतिक दलहरुबीच समस्या आएपछि विदेशीहरुले चलखेल गर्न पाएको उनको भनाई थियो । उनले राजसंस्था र राजनीतिक दलहरु मिल्नुपर्नैमा जोड दिए । राजाले प्रजातन्त्र र दलले राजसंस्था भुल्न नहुने उनको तर्क छ । भगवान गौतम बुद्धको जन्मस्थल नेपाल भएको भन्दै उनले मुलुकलाई धर्मनिरपेक्ष बनाउने कार्यमा लाग्नेहरु विदेशीको एजेण्ट भएको गम्भीर आरोप लगाए ।
सुरुदेखि हालसम्मै देशको भ्रष्टाचारको मुल नायक प्रधानमन्त्रीहरु नै भएको उनको टिप्पणी छ । उनले अहिलेसम्म भएका सबै प्रधानमन्त्रीहरुको सम्पत्ति छानबिन गर्न पनि माग गरे । उनले भने,‘श्रोत नखुलेका सबैका सम्पत्ति राष्ट्रियकरण गर्न पनि म यही मञ्चबाट माग गर्दछु ।’ उनले न्यायालयलाई उच्च स्थानमा राख्नुपर्ने बेलामा न्यायालयलाई दलहरुले नै घेराबन्दी गरेको जिकिर गरे ।

यसैगरी, पार्टीका वरिष्ठ उपसभापति गोबिन्दप्रसाद शर्माले नेपाली कांग्रेस वि.पि.को स्थापना र यसको उद्देश्य भनेको नै विपीले गरेको समाजवादको परिकल्पना पुरा गर्ने रहेको सुनाए । उनले भने,‘नेपालमा प्रजातन्त्र र राष्ट्रियताको रक्षाको लागि विपीले गरेको परिकल्पना, विपीको समाजवादको रक्षाको लागि यो पार्टी स्थापना भएको हो ।’ उनले आफ्नो पार्टीको संगठन वडा तहसम्म विस्तार गर्ने बताए । पार्टीको अबको योजना जनतामाँझ आफ्नो धारणा पुर्याउने हो ।–उनले भने,‘नेपाली जनतालाई उद्यमशिलताको माध्यमबाट अगाडि बढाउने, दिनको १/२ घन्टा पार्टीलाई पनि समय दिने, विपीको विचारलाई बोकेर हिँड्ने र उनकोे सपना पुरा गर्ने हाम्रो लक्ष्य राखेका छौं ।’ अब उनले सातैवटा प्रदेश र ७७ जिल्लामा आफ्नो पार्टीको संगठन विस्तार गरिनेपनि जानकारी दिए ।

शर्माले देशलाई विस्तार र विकास गर्नलाई आफ्नो पार्टी अगाडि बढेको स्पष्ट पारे । उनले भने,‘खाडीका देशहरु आज सुन फलाउने भएका छन्, तर हाम्रो देश नेपाल प्राकृतिक सम्पदाको हराभरा भएपनि उजाडिँदै गएको छ ।’ विपीको समाजवाद र गणेशमान सिंहको त्यागलाई नेपाली कांग्रेस विपीले आगामी दिनमा जनतामाँझ बुझाउँदै लैजाने स्पष्ट पारे । ‘हामीलाई राष्ट्रियता प्यारो छ, देश प्यारो छ । आज देशलाई अगाडि बढाउन चाहेका छौं ।’ उनले थपे । नेता शर्माले देशका जनता सबैलाई विभिन्न किसिमका रोजगारी दिन चाहेको पनि बताए । शर्माले कोभिडले ग्रस्त बनाएको बेला कसैलाई देश र जनताको चिन्ता नभएको भन्दै अब आफ्नो पार्टीले देश बनाउने पनि जिकिर गरे । उनले राष्ट्रियताको रक्षाको लागि आफ्नो पार्टी साथ र समर्थन गर्न सबैलाई आग्रह गरे ।

कार्यक्रममा बोल्दै प्रदेश नम्बर १ का महामन्त्री भक्तराज भुषालले २००३ सालदेखि नेपाली कांग्रेस सुरु भएर २०७८ सालमा आउँदा कांग्रेसका कार्यक्रम र एजेण्डामा विचलन आएको आरोप लगाए । त्यही भएर आफूहरुले २०७४ साल असार ३० गते नेपाली कांग्रेस (वि.पी.) को स्थापना गरेको उनले स्पष्ट पारे । उनले स्थापनाकालपछि आफ्नो पार्टीले विभिन्न एजेण्डा बोकेर चुनावमा सहभागी भएकोसमेत स्मरण गराए । उनले भने,‘अब वी.पि. कांग्रेसले जनतामाझ आफ्ना विचार र कार्ययोजना बोकेर जान्छ । जनताले हामीलाई विश्वास गर्नुहुन्छ भन्ने लागेको छ ।’

यसैगरी, पार्टीका लुम्बिनी प्रदेशका महामन्त्री देवेन्द्र प्रकाश पौडेलले मुलुक अहिले विषम परिस्थितिबाट गुज्रिरहेको बताए । उनले कोरोना भाइरसले विश्वलाई आक्रान्त बनाएको बेला देशको सिमानाका मिचिने भएकोले सबै सचेत हुनपर्नेमा जोड दिए । जीवन रहे जिन्दगी हेर्न पाइने भन्दै उनले कोरोना कालको समयमा देशको सिमा जोगाउन नेपाली कांग्रेस (वी.पी.) तत्पर रहेको जानकारी दिन पत्रकार सम्मेलनको आयोजना गरिएको पनि उनले स्पष्ट पारे ।

 

कोरोनाको भेरियन्ट पटक–पटक आएको भन्दै उनले देशमा कोरोना कालमै भ्रष्टाचार बढेको आरोप लगाए । जनतालाई थिचोमिचो गरेर प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुले गलत भूमिका खेलेको उनको भनाई थियो । उनले अब आफ्नो पार्टीले राष्ट्रमा भएको बेथितिबारे भण्डारफोर गर्ने पनि जानकारी दिए । देशमा राष्ट्रिय जागरण ल्याउने उद्देश्यले सारा जनताको घरदैलोमा पुगेर बेथिति र भ्रष्टाचारको बारेमा बताउनको लागि (आजकै दिन) माघ ७ गतेबाट कार्यक्रमको सुरुवात गरेको सुनाए । सबै मिलेर नेतृत्वमा रहेकाहरुलाई दबाब दिनुपर्नेमा उनले जोड दिए ।

त्यस्तै, कार्यक्रममा बोल्दै धर्मगुरु भिम्पोक्षे लामाले देशका सबै जनताले सहयोग गरेर आउने दिनमा नेपाली कांग्रेस (वी.पी.)लाई पहिलो पार्टी बनाउनुपर्ने धारणा राखे । धर्मगुरु लामाले देशभरका सबै जनतालाई देशप्रेम वी.पि कांग्रेसलाई सहयोग गरेर ठुलो पार्टी बनाउन आग्रह गरे । उनले आगामी दिनमा वि.पी.कांग्रेसलाई धार्मिक संस्थाहरुले पनि साथ दिने प्रतिवद्धता व्यक्त गरे । अहिलेका नेतृत्वमा रहेका पार्टीहरुले सेवाभन्दा पनि नाफाको हिसाबले राजनीति गरेको उनले आरोप लगाए ।