क्यामरुनको एउटा नाइटक्लबमा आगलागी हुँदा १६ जनाको मृत्यु

९ माघ २०७८, आईतवार १७:३६

क्यामरुन सरकारले आइतबार राजधानी याउन्डेस्थित एक रात्रिक्लबमा आतसबाजीका कारण भएको आगलागीमा परी कम्तीमा १६ जनाको मृत्यु भएको बताएको छ ।

क्यामरूनले अफ्रिका कप अफ नेशन फुटबल टुर्नामेन्ट आयोजना गर्दा रमाइलोका लागि बालिएको आतसबाजीका कारण उक्त दुःखद घटना भएको हो ।सञ्चार मन्त्रालयद्वारा विज्ञप्तिमा भनिएको छ, “प्रारम्भिक रिपोर्टमा शनिबार राती एक्कासी आगलागी’ भएपछि १६ जनाको मृत्यु भएको र आठ गम्भीर घाइते भएको देखिएको छ ।”

आगलागीमा राजधानीको माथिल्लो क्षेत्रमा रहेको राजदूतावास र कुटनीतिज्ञ निवास रहेको भवनमा सञ्चालित लिभ्स नाइट क्लबको मुख्य कोठामा क्षति पुगेको छ । मन्त्रालयले भनेको छ, ‘यी स्थानहरूमा प्रायः प्रयोग गरिने आतसबाजीबाट भएको विस्फोटनको कारण पहिलो भवनको छत जलेको थियो भने पछि दुईवटा ठूलो विस्फोट भई धेरै व्यक्तिको ज्यान गुमेको छ ।’

एक प्रहरी अधिकारीका अनुसार घटनास्थलमा तत्कालै पुगेको सुरक्षाकर्मीको समूहले १६ जनाको मृत्यु र पाँच जना घाइते भएको पुष्टि गरेको छ । क्यामरुनले देशको पश्चिममा नियमित हिंसाको बावजुद एएफकोन टुर्नामेन्टको आयोजना गर्दै आइरहेको छ । यसै खुशियालीमा आतसबाजी गरिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।