नेपालमा भ्रष्टाचार नियन्त्रणमा केही प्रगति हुन सकेनः ट्रान्सपरेन्सी

११ माघ २०७८, मंगलवार ०६:१३

काठमाडौं । नेपाल भ्रष्टाचार व्याप्त मुलुकको सूचीमा परेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) ले मंगलबार सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकाङ्क (सीपीआई) प्रतिवेदनअनुसार नेपाल भ्रष्टाचार व्याप्त मुलुकहरूको सूचीमा परेको हो । प्रतिवेदनअनुसार १८० देशमध्ये नेपाल भ्रष्टाचार हुने देशको ११७ औं स्थानमा रहेको छ ।

अघिल्लो र यसवर्ष नेपालको स्कोर स्थिर रहनुमा भ्रष्टाचार नियन्त्रणमा केही प्रगति हुन नसकेको रुपमा लिन सकिने ट्रान्सपरेन्सीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । गतवर्ष पनि यस सूचीमा नेपाल ३३ अंक पाउँदै (११७ औं स्थान) नै रहेको थियो ।

प्रतिवेदनअनुसार १८० देशमध्ये डेनमार्क, फिनल्याण्ड र न्यूजिल्याण्ड कुल १०० मा ८८ अङ्क प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक भएका छन् भने साउथ सुडान ११ अङ्क प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकको रुपमा सूचीकृत भएको छ । । टीआईले नेपाललाई सन् २००४ देखि यस सूचीमा समावेश गर्दै आएको छ ।