No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

कृषि प्रधान देशमा किसानहरु नै अपहेलित किन ?

0

ठाकुर पोखरेल ।

”किसान आन्दोलन देशैभरीबाट उठ्नुपर्छ,
किसानको समस्या नबुझ्ने सरकार र ढाट छलछामको राजनीति गर्ने नेताहरुलाई ठाउँको ठाउँ चुनौती मात्र हैन सवल हुन सिकाउनुपर्छ”
——————
किसानहरुको पक्षमा वकालत गर्ने र उनीहरूको हकअधिकार सुनिश्चित गर्ने राजनीतिक नेतृत्वलाई देश भरीका कृषकको समर्थन जुट्छ र आवश्यक परे किसान आन्दोलनमा सक्रिय हुन हामी सबै तत्पर छौं ! किसानको समस्या देशैभरी यत्रतत्र छ ! किसान आन्दोलन देशैभरीबाट उठ्नुपर्छ, तराईमा मात्र होइन । नेपाल राज्यको वनावट र समाजको चरित्र अनुसार राजनीतिक,आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको सुनिश्चित गरेर आधुनिक कृषिमा लगानी बढाउनुपर्छ, देश समृद्ध बनाउन आधुनिक कृषि पद्दति नै मुख्य उत्पादन आधार र आवश्यक हो । किसानको पक्षमा काम गर्ने पार्टी नै समृद्ध नेपाल निर्माणका लागि यथार्थमा ”बैकल्पिक राजनीतिक दल वा शक्ति हो ” आजसम्म सबै दलका नेताहरुले किसानलाई चुनावी खेलौना बनाउदैँ आएका छन् ! चुनाबमा भोट बटुल्न गाउँ गाउँमा किसानलाई आ-आफ्नो पार्टीको खेलौना कार्यकर्ता बनाउदैँ आएका तथ्याङ्क हाम्रा सामु छर्लङ्ग छ । अझ तराई मधेसमा किसान माथि झनै सोषण दमन गर्ने हजुरिया शैलीका नेताको ज्यादती असैह्य पाइन्छ।
नेपालमा कृषिको महत्व र किसानको अबस्था-:
नेपाल कृषि प्रधान देश हो भन्ने तथ्य सर्वाधिक लोकप्रिय छ । यहाँका ६६.७ प्रतिशत जन संख्या प्रत्यक्ष रुपमा कृषि पेशा अगाल्दछन् । देशको कुल ग्राहस्थ उत्पादनको करिब ३३ प्रतिशत भाग कृषि क्षेत्रले ओगटेको छ । नेपाल भौगोलिक हिसाबले हेर्ने हो भने सानो देश हो तर पनि हावा पानीको हिसाबले भने ठाउँ अनुसार फरक फरक किसिमको हावा पानि पाईन्छ । जसले गर्दा ठाउँ अनुसार कै कृषि उपजहरू उत्पादन हुन्छन् । जसले गर्दा कुनै एक ठाउँमा उत्पादन हुने मौसमी उपज अर्काे ठाउँमा बेमौसमी र अनौठो हुन सक्छ जसले गर्दा आर्थिक आम्दानी गर्न सहयोग पुग्छ ।

”किसानहरुलाई आधुनिक कृषिमा आत्मनिर्भर मात्र हैन समृद्ध नेपाल निर्माणका लागि सहुलियतपूर्ण ऋण र कृषक पेन्सन को ब्यावस्था हुनुपर्छ”
——————————————
कृषि के हो र किन कृषिको महत्त्व हुन्छ ?
सर्वप्रथम कृषि भनेको एउटा कला हो, विज्ञान हो । जसमा हामीले विभिन्न वस्तुहरूको उत्पादन गर्छाै । त्यसको लागि विभिन्न विधिहरूको आवश्यकता पर्दछ । कृषि एउटा महत्वपूर्ण विषय हो । जसको एकदमै महत्वपूर्ण भूमिका हुन्छ । जस विना प्राणीहरूको अस्तित्व हुन सक्दैन । मानिसलाई आफ्नो जीवन निर्वाह गर्नको लागि आवश्यक पर्ने खाद्य तत्व, पौष्टिक तत्व सम्पूर्ण हामीले कृषिको सहायताले उत्पादन गर्न सक्छौ । जस्तै : खाद्य तत्वहरुमा- अन्न, फलफूल, दूध, माछा, मासु इत्यादि। सानो देशमा कृषि क्षेत्रमा यति धेरै सम्भाव्यताको देश विश्वमा नेपाल नै एक हो। जहाँ उच्च हिमाली भेगमा पशुपालन पहाडी भेगमा फलफूल लगायत बहु किसिमका अन्नको खेती र तराईमा अझ धेरै खाद्यान्न उत्पादन हुन्छ। वातावरणीय प्रभाव अनुसार बाली जन्य र पशुजन्य उत्पादन गर्नु भनेको कृषि हो भने उक्त उत्पादन कार्यमा संलग्न व्यक्ति हरु किसान हुन । यो खेत वा वारीमा अन्न रोपी त्यसलाई गोडमेल गरेर उब्जाउने काम हो । पशुपालन, वालि उत्पादन, मत्स्य पालन र अन्य जीव जन्तुको पालन वा खेती यस अन्तर्गत पर्दछन् ।नेपाली समाजलाई नियालेर हेर्ने हो भने सबै भन्दा भरपर्दाे पेशा कृषिलाई मान्न सकिन्छ । धेरै नेपालीको जिविकोपार्जनको बलियो आधार कृषि नै हो । मानव सभ्यताको विकास क्रमसँगै परम्परागत रुपमा खेति पातिको शुरुवात भएको पाईन्छ । जीवन निर्वाह तथा जीवन सञ्चालनको निम्ति कृषि नभई नहुने कुरा हो । कृषि पेशा विश्वका अधिकांश मुलुकहरूले अपनाएकै पेशा हो फरक यति छ अरुकोमा सरकारले कृषिमा सरकारी अनुदान र आधुनिक कृषि पद्दति उपलब्ध गर्दछ ।

कतिपय मुलुकहरूले आधुनिकिकरणमा रुपान्तरण गरिसकेका छन् भने कतिपय अझै पनि परम्परागत तथा जीवन निर्वाहमुखी कृषि पेशा मै सिमित रहेका छन् । नेपाल कृषिमा आधुनिकता तर्फ बढिरहे ता पनि अझै पनि नेपालको अधिकांस क्षेत्रको त परम्परागत कृषि प्रणाली तथा जीवन निर्वाहमूखी रुपमै अगाडि बढिरहेको छ । कृषि नेपालको लागि मुख्य पेशा भएपनि यतिबेला यो देश वार्षिक रुपमा खाद्यान्न आयत गर्नु पर्ने अवस्थामा रहेको छ ।

नेपालमा उत्पादन हुने प्रमुख खाद्य वाली जस्तै धान, मकै, कोदो, गहुँ लगाएतका अन्य अन्न समेत विदेशबाट आयत हुन थालेको देखिन्छ। यसबाट स्पष्ट हुन्छ कि हाम्रो कृषिको दयनीय अवस्थालाई संकेत गर्दछ र चालु आर्थिक बर्षको दश महिनामा ३१ अर्ब रुपैया बरावरको धान तथा चामल, मकै, कोदो, गहुँ, फापर लगाएतका खाद्य सामाग्री आयत भएका छन् । यस्ता तथ्यगत कृषि गणनाले पनि स्पस्ट पार्दछ । वि.सं. २०६८ सालको कृषि गणना अनुसार करिब ३८ लाख घर परिवारले कृषिलाई प्रमुख पेशाको रुपमा अपनाएको पाइन्छ ।

कतिपय किसानहरू जमिन्दार तथा भूमि पतिकोमा न्युनतम ज्याला मै काम गर्न वाध्य छन् । यसरी थुप्रै नेपाली कृषकहरू पुरानै प्रचलनमा काम गर्न बाध्य भएकै कारण नेपाल कृषि वस्तुहरूका लागि छिमेकी मुलुकहरूमा भर पर्नु परेको छ । नेपालमा कृषिको सन्दर्भमा सकारात्मक कदम नचालिएको पनि होइन तर विगत केही बर्ष यता केही कृषकले यस पेशालाई आधुनिक र व्यावसायीक रुपमा अनुकरणीय प्रयास गरेका छन् । यस्ता कृषि बजारमा केही मात्रामा भएपनि स्थान लिएको छ । केही अपवादलाई छोडेर नेपाली कृषिले अझै पनि युवा वर्गलाई आकर्षित गर्न सकेको छैन । जसको फलस्वरुप दिनहुँ हजारौ संख्यामा युवा रोजगारीका लागि खाडी मुलुक जान बाध्य छन् ।

जस मध्ये केहीले विदेशमा कृषि मजदूर कै रुपमा काम गरिरहेका छन् । सरकारले युवा वर्ग लक्षित कृषि कार्यक्रमलाई प्रभावकारी बनाउन नसक्दा यो समस्या झनै बढोत्तरी हुदै गएको हो। युवा बेरोजगार नेपाली समाजको गहन चुनौती बन्न पुगेको छ भने राजनीतिक दलका शीर्ष नेतृत्व सँग युवा युवतीहरु लाइ स्वरोजगार दिन सक्ने कुनैपनि दिर्घकालिन योजना नहुँदा राजनीति प्रति युवा पुस्ताको धारणा नकारात्मक देखिन्छ ।
औद्योगिकिकरणको लागि कृषि -:
मुलुकमा औद्योगिकिकरणको विकासको लागि मुख्य आधार कृषि हो । राज्यको औद्योगिकिकरणको लागि पनि उपलब्ध स्रोत र साधनलाई कृषि मैत्री बनाउन जरुरी छ । कृषिमा उत्पादन बढाउन सकेमा मात्र कृषिमा आधारित उद्योगलाई आवश्यक कच्चा पदार्थको अभाव हुँदैन । यसबाट औद्योगिकिकरणको विकासले पनि गति लिन सक्ने थियो ।

हामीले कृषिलाई व्यवशायका रुपमा विस्तार गरी आफ्नो उपभोगको लागि मात्र नभएर बढि भन्दा बढी उत्पादन गरेर आय आर्जन गर्न सक्ने वातावरण बनाउनु पर्दछ। हाम्रो देशमा कृषि क्षेत्रको उन्नतीको लागि किसानहरूलाई हौसला दिनु जरुरी छ । राज्यले कृषि नीति बनाउँदा दुर्गम तथा ग्रामिण क्षेत्रमा कृषि सहकारी वा लघु वित्त संस्थाको माध्यमबाट स्थानीय निकायको परिचालन गरि सामुहिक खेति प्रणालीको अबधारणा अगाडि बढाउन सके गरिबी तथा बेरोजगारी हटाउन सहयोग पुग्न सक्छ ।

आजभोली अन्न तथा तरकारीजन्य कृषि प्रणालीमा आधुनिक प्रविधि तथा सूचना प्रणालीको प्रयोग गर्न थालिएको छ । आधुनिक खेतिमा कृषकहरूको भूमिका महत्वपूर्ण बन्दै गएको छ । आधुनिक खेति प्रणालीले कृषि योग्य भूमिको उत्पादकत्व बढाएको छ । आधुनिक प्रणाली अन्तरगत आधुनिक मेशिन तथा प्रविधिको प्रयोग हुने हुँदा यसबाट भुक्षयमा कमी, खडेरी, किरा लाग्ने, विभिन्न रोग लाग्ने र अन्य हानी नोक्सानी बाट जोगाउनका साथै जमिनको उत्पादकत्व बढाउन मदत पुगेको छ । वालिनालि तथा पशुपालन सम्वन्धि आधुनिक तथा उन्नत प्रजनन प्रक्रियाको प्रयोग गर्नाले उत्पादन, गुणस्तर र विश्वसनियतामा वृद्धि गर्न सक्छ ।
नेपालमा कृषिको महत्त्व:-
नेपालमा कृषिको महत्व निकै नै धेरै छ । किन भने कृषि भनेको विकासको एक प्रमुख माध्यम हो । हाम्रो देश नेपालमा कृषिको सम्भावना पनि त्यतीकै प्रचुर मात्रामा रहेको छ । हामीले स्रोत साधन पाएको खण्डमा कृषिको मदतले हामी देशको मुहार फेर्न सक्छौ । देशलाई प्रगतिको दिशातिर लम्काउन सक्छौ । तसर्थ नेपालमा कृषिको महत्व एकदमै अमुल्य रहेको छ । हामीले कृषिको महत्वलाई निम्न अनुसार उल्लेख गर्न सक्दछौ ।
A. खाद्य सुरक्षा
हामीले प्रयाप्त मात्रामा खाद्यान्नको उत्पादन मार्फत आत्म निर्भर भई खाद्य सुरक्षा कायम गर्न सक्छौ । जसबाट हामी भोकमरि, अनिकाल, र खाद्यन्नको कमि जस्ता समस्याहरूलाई जरैबाट हटाउन सक्षम हुनेछौं । हामीले हाम्रै देशमा उत्पादन भएका खाद्यन्नको प्रयोग गर्छौ जसबाट हाम्रो स्वास्थ्यलाई पनि महत्वपूर्ण पौष्टिक तत्व उपलब्ध हुन्छ ।
B.गरिबि न्युनिकरण
कृषिको विविधिकरण, व्यावसायकरण, यान्त्रिकिकरण र गुणस्तर मार्पmत गरिबि र बेरोजगारी जस्ता समस्याहरू न्युनिकरण गर्न सकिन्छ । कृषिको विकास सँगै देशमा विभिन्न कृषिसँग सम्बन्धीत उद्योगहरूको स्थापना हुन्छ । जसबाट आम सर्वसाधारणले रोजगारीको अवसर पाउछन् । विदेशिनु पर्दैन । आफ्नै देशमा आफ्नै पसिना र मेहनेतले कमाएर छाक तार्न सकिन्छ । त्यसकारण कृषिले एकदमै महत्वपूर्ण भूमिका निर्वाह गर्ने गर्दछ ।
C. आर्थिक बृद्धि
यदी हामीले कृषिको महत्वलाई बुझेर कृषिमा केही गर्न पर्छ भन्ने सोचका साथ लाग्यौ भने हामीले हाम्रो देशमा विभिन्न कृषिजन्य वस्तुहरूको उत्पादन गरी देशको विकासका साथसाथै आर्थिक विकासमा समेत सहयोग पु¥याउन सक्दछौ । हामीले उत्पादन गरेको वस्तुहरूलाई विदेशमा निर्यात गर्न सकेमा हामीले विदेशी डलर पनि आर्जन गर्न सक्छौ । उच्च मुल्यका वाली वस्तुको उत्पादन र निर्यात मार्फत आर्थिक बृद्धि गर्न सकिन्छ ।
D. ब्यापार र घाटा न्यूनीकरणमा जोड-:
हामीले अधिकतम मात्रामा कृषिजन्य खाद्यको उत्पादन गरी त्यसको विदेशमा समेत निर्यात गरि व्यापार विस्तार गर्न सकिन्छ, व्यापार घाटा न्युनिकरण गर्न सकिन्छ । हाम्रो देशमा सम्भावना धेरै भएका कृषि उपजहरुलाई बढवा दिनु पर्छ । हाम्रो देश बहुमुखी वातावरण मैत्री तथा भौगोलिक अवस्था, हावा पानी पनि कृषि उत्पादनको लागि उपयुक्त मुलुक हो। यहाँ विश्वका अधिकांश देशमा पाईने वातावरण भूगोललै पिच्छे फरक फरक पाईन्छ। हिमाल, पहाड र तराई मधेस अलवा भित्र बाहिर फरक फरक वातावरणिय प्रभावका कारण प्रायः विश्वका धेरै देशहरूमा उत्पादन हुने बालि बिरुवा नेपाली माटोमा हुन्छ/सप्रन्छ भन्ने तथ्य स्पष्ट भैरहेको छ ।
E. अनुसन्धान
कृषिको विकासको लागि यस क्षेत्रमा हामीले नयाँ नयाँ कुराहरूको अनुसन्धान गर्न सक्छौ । कृषिको विकासको लागि अनुसन्धान एकदमै सकरात्मक कार्य हो, अपरिहार्य पनि हुन्छ । जसको मदतले हामीले नयाँ बिरुवाहरू उत्पादन गर्न सक्छौं । विरुवाहरुको उत्पादकत्व क्षमता, रोग किरा सँग लड्न सक्ने क्षमता विकास गर्न सकिन्छ । त्यसरी नै नयाँ प्रजातिका विरुवाको आविस्कार र जनावरहरुको वासस्थानमा सुधार, उत्पादन क्षमता धेरै भएको जातको विरुवाहरुको विकास, त्यसको साथ साथै अनुसन्धानबाट आधुनिक खेती गर्ने प्रविधिको पनि विकास हुन्छ ।
F. आत्मनिर्भर
कृषिले प्रमुख कुरा आत्मनिर्भर हुन मदत गर्छ । जसमा युवाहरूलाई कृषिमा आकर्षित गरी विदेश पलायनलाई निरुत्साहित गर्न मदत पुग्दछ । जसले स्वाधिन अर्थतन्त्रको निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।

निष्कर्षमा
किसानहरुको पक्षमा वकालत गर्ने र उनीहरूको हक अधिकार सुनिश्चित गर्ने राजनीतिक नेतृत्वलाई मेरो समर्थन र आवश्यक परे किसान आन्दोलनमा सक्रिय हुदै ”नेपाल किसान आन्दोलन” ले नयाँ बैकल्पिक राजनीतिक बिचार संस्थागत गर्न सकिन्छ ! किसानको समस्या देशैभरी यत्रतत्र छ ! किसान आन्दोलन देशैभरीबाट उठ्नुपर्छ, तराईमा मात्र होइन, सिङ्गो नेपाल राष्ट्रको समस्या हो। नेपाल राज्यको वनावट र समाजको चरित्र अनुसार राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको सुनिश्चित गरेर आधुनिक कृषिमा लगानी बढाउनुपर्छ, देश समृद्ध बनाउन आधुनिक कृषि पद्दति आवश्यक हुन्छ। किसानको पक्षमा काम गर्ने पार्टी नै यथार्थमा ”बैकल्पिक राजनीतिक दल वा शक्ति हो ” आजसम्म सबै दलका नेताहरुले किसानलाई चुनावी खेलौना बनाउदैँ आएका छन् ! चुनाबमा भोट बटुल्न गाउँ गाउँमा किसानलाई आ-आफ्नो पार्टीको खेलौना कार्यकर्ता बनाउदैँ आएका तथ्याङ्क हाम्रा सामु छर्लङ्ग छ । अझ तराई मधेसमा किसान माथि झनै सोषण दमन ज्यादै पाइन्छ।

प्रकाशित: ११ माघ २०७८, मंगलवार ०८:५७

Leave a Reply