No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

अमेरिकाद्वारा युक्रेनलाई नेटो सदस्य बन्न रोक लगाउनुपर्ने रुसी माग अस्वीकार

0

अमेरिकाले युक्रेनलाई नेटो सदस्य बन्न रोक लगाउनुपर्ने रुसी मागलाई अस्वीकार गरेको छ । रुसले उसको छिमेकी मुलुक युक्रेनमाथि हमला गर्नसक्ने चिन्ताबीच अमेरिकाको यस्तो भनाइ आएको हो ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले युक्रेन सङ्कट समाधानका लागि रुसले अघि सारेका मागको औपचारिक रूपमा जवाफ दिँदै अमेरिकी अडान प्रस्तुत गरेका हुन् । उनले वाशिङ्टनले आफ्नो मूलभूत सिद्धान्तमा कुनै छुट नदिने बताए ।

एन्टोली ब्लिङ्कनले सङ्कट समाधानका लागि गम्भीर कूटनीतिक बाटो अगाडि बढाउने प्रस्ताव राखेका छन् र रुसले त्यसैलाई रोज्नुपर्नेमा जोड दिएका छन् । एकजना रुसी मन्त्रीले चाहिँ नेटोसँगको समन्वयमा आएको ब्लिङ्कनको प्रतिक्रियाको आफ्नो देशले अध्ययन गर्ने बताएका छन् ।

यसअघि रुसले पनि नेटो सैन्य गठबन्धनको बिस्तार र सम्बन्धित सुरक्षा मामिलाबारे आफ्ना चिन्ताका विषयमा लिखित सूची जारी गरेको थियो । त्यसमध्ये युक्रेन र अरूलाई गठबन्धनमा सामेल हुने सम्भावनालाई अस्वीकार गर्न नेटोसँग माग गरिएको थियो ।

हालैका साताहरूमा रुसले युक्रेनको सीमा क्षेत्रमा हातहतियारसहित ठूलो सङ्ख्यामा सैनिकहरू तैनाथ गरेको छ । त्यसलाई पश्चिमा देशहरूले रुसले युक्रेनमाथि गर्न सक्ने सम्भावित हमलाका रूपमा अर्थ्याएका छन् । तर रुसले त्यसलाई अस्वीकार गर्दै आएको छ।

प्रकाशित: १३ माघ २०७८, बिहीबार ०४:१२

Leave a Reply