निर्वाचन परिणाम विगतको जनादेशलाई खण्डित गर्ने षड्यन्त्रको अन्तिम भोजः महासचिव पोखरेल

१३ माघ २०७८, बिहीबार ०७:०५

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय सभा निर्वाचनको परिणाम विगतको जनादेशलाई खण्डित गर्ने षड्यन्त्रको अन्तिम भोज बन्न पुगेको बताएका छन् ।

राष्ट्रियसभा निर्वाचनको परिणामपछि समाजिक संजालमार्फत पोखरेलले यस्तो बताएका हुन् । उनले भनेका छन्, ‘किनकी वहुमतको वामपन्थी सरकार ढालेर कांग्रेसलाई सरकारको नेतृत्व सुम्पेको नजराना स्वरुप यस चुनावमार्फत प्रचण्ड र माधव नेपालहरुले आफ्नो दलिय हैसियत भन्दा अतिरिक्त लाभ हासिल गरेका छन् । तर पनि यस निर्वाचनमा पाँच दलिय गठवन्धनका उम्मेद्वारले गठवन्धनको मतभारभन्दा कम मत प्राप्त गरेका छन् । नेकपा(एमाले)का अधिकांश उम्मेद्वारले आफ्नो दलिय भोटभन्दा वढीमत प्राप्त गर्न सफल भएका छन् ।’

उनले स्थानीय तहका जनप्रतिनिधिहरुको अतिरिक्त भोट नेकपा(एमाले)का उम्मेद्वारलाई प्राप्त भएको दबी गरेका छन् । यसवाट स्थानीय तहलाई कमजोर बनाउने गठवन्धनको प्रयासप्रति सत्तापक्षका जनप्रतिनिधिको असन्तुष्टि प्रकट हुन खोजेको उनले उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘यस निर्वाचनपछि पनि राष्ट्रिय सभामा नेकपा(एमाले) पहिलो दलको हैसियतमा कायम छ । अब हुने सबै निर्वाचन प्रत्यक्ष हुने भएकोले गठवन्धन कमजोर हुने र नेकपा(एमाले) थप सुदृढ हुने आधार समेत यस निर्वाचनले संकेत गरेको छ । परिणाम प्रतिकुलहुने निश्चित जस्तै रहेको अवस्थामा पनि उत्साहपूर्वक नेकपा(एमाले)का उम्मेद्वारका पक्षमा मतदान गर्ने सबै जनप्रतिनिधिहरुलाई हार्दिक धन्यवाद ।’