No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

संविधान बमोजिम स्थानीय तहको निर्वाचन समयमै सम्पन्न गर्न प्रधानमन्त्रीलाई राष्ट्रपतिको आग्रह

0

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । बिहीबार दिउँसो राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री देउवा शीतलनिवास पुगेका थिए ।

भेटमा राष्ट्रपति भण्डारीले स्थानीय तहको निर्वाचन संविधानले व्यवस्था गरेबमोजिम समयमै सम्पन्न गर्न आग्रह गरेकी छन् । राष्ट्रपति भण्डारीले संविधानको मर्म र भावनाबमोजिम समयमै स्थानीय निर्वाचन र अन्य निर्वाचनहरु समेत सम्पन्न गर्नुपर्ने बताएकी हुन् ।

राष्ट्रपतिका प्रेस सल्लाहकार टिका ढकालले संविधानको भावनाबमोजिम समयमै स्थानीय निर्वाचन गर्नुपर्ने र अन्य निर्वाचनहरु पनि समयमै गरेर संविधानको पूर्ण कार्यान्वयनमा जोड दिनुपर्ने राष्ट्रपतिले बताएको जानकारी दिए ।

जवाफमा प्रधानमन्त्री देउवाले स्थानीय निर्वाचनबारे सबै दलहरुसँग परामर्श भइरहेको बताएका थिए । प्रधानमन्त्रीको भनाई उदृत गर्दै ढकालले भने,‘संविधानको कार्यान्वयनमा सरकार प्रतिबद्ध छ, संविधानको मर्म र भावनाबमोजिम समयमै निर्वाचन हुन्छ, यसबारे सबैसँग सल्लाह गरेरै निष्कर्षमा पुग्छौं ।’

त्यस्तै भेटमा राष्ट्रपति र प्रधानमन्त्रीबीच बुधबारमात्रै सम्पन्न राष्ट्रिय सभा निर्वाचन, संसदको गतिरोध अन्त्य गर्ने लगायत समसामयिक राजनीतिक गतिविधिका विषयमा समेत छलफल भएको थियो ।

प्रकाशित: १३ माघ २०७८, बिहीबार १२:२५

Leave a Reply