२८ करोड राजश्व छली आरोपित उमाशंकर २५ हजार धरौटी बुझाएर रिहा

१६ माघ २०७८, आईतवार ११:१०
काठमाडौँ । २८ करोड राजश्व छली गरेको आरोपमा पक्राउ परेका उमाशंकर रायभर २५ हजार धरौटी बुझाएर आइतबार रिहा भएका छन्। यसअघि उच्च अदालत पाटनले ७५ लाख धरौटी मागेपछि बुझाउन नसकेर थुनामा रहेका रायभर आइतबार रिहा भएका हुन् । सर्वोच्च अदालतले शुक्रबार उनको धरौटी रकम घटाएर २५ हजार बनाइदिएको थियो । सर्लाहीका सरोजकुमार मिश्राले उनको नागरिकता दुरुपयोग गरेर कम्पनी खोलेर राजश्व छली गरेको र उनी राजश्व चुहावटमा संलग्न रहेको नपाइएकोले सर्वोच्च अदालतले धरौटी घटाएकाे हाे । सर्वोच्चका न्यायाधीश विश्वम्भर श्रेष्ठ र सपना प्रधान मल्लको इजलासले रायभरलाई २५ हजार धरौटीमा रिहा गर्न आदेश दिएपछि आइतबार प्रक्रिया पूरा गरेर उनी रिहा भएका हुन् । ‘निवेदकको नाउँमा व्यापारिक कारोबार गर्ने संस्था दर्ता रहेता पनि सो संस्थाको खातापातालगायत संस्था सञ्चालन गर्ने र प्रयोग गरी सम्पूर्ण लाभ लिने कार्य प्रतिवादी सरोजकुमार मिश्रले गर्ने गरेको र निजले नै वास्तविक कारोबार गरिरहेको सन्दर्भमा यी निवेदकबाट राजश्व चुहावटमा प्रत्यक्ष हानी-नोक्सानी गर्ने कार्यमा संलग्नता रहेको देखिएन,’ सर्वोच्चले भनेको छ। त्यसमाथि रायभरको आर्थिक अवस्था पारिवारिक स्थिति हेरेर उनको धरौटी ७५ लाख निकै धेरै रहेको अदालतको आदेशमा उल्लेख छ। ‘बिगोको दोहोरो दाबी अन्य मुख्य प्रतिवादीहरू उपरसमेत रहेको तथा निवेदकको आर्थिक अवस्था पारिवारिक स्थिति र कसुरबाट सिर्जित परिणाम तथा प्रस्तुत मुद्दाको विषयवस्तु तथ्य र निवेदकको संलग्नताको स्थिति समेतको रोहबाट निवेदक प्रतिवादीबाट २५ हजार नगद वा जेथा धरौट माग गर्नु उपयुक्त र न्यायोचित हुनेमा,’ सर्वोच्च अदालतको आदेशमा उल्लेख छ,’७५ लाख धरौटी माग गर्ने गरेको उच्च अदालत पाटनको आदेश सो हदसम्म मनासिव देखिन नआएकोले बदर गरिदिएको छ।’