राम्ररी सरकार चलाउनेहरू र मुलुकलाई उचाल्नेहरूका कुरा र हाम्रा कुरा

१७ माघ २०७८, सोमबार १७:३३

केशवप्रसाद भट्टराई ।
१. पढ्दा सुदा र बुझ्दा थाहा हुन्छ ,पहिला उनीहरू (राष्ट्रपति वा प्रधानमन्त्रीहरू) आफ्ना लक्ष,नीति र कार्यक्रमहरूबारे आफ्नो धारणा निर्माण गर्दछन् । त्यसको अध्ययन, मनन र चिन्तनद्वारा निष्कर्ष निर्माणकोलागि वर्षौँको समय र श्रम खर्चेका हुन्छन् । एक किसिमको तपस्या गरेर बसेका हुन्छन् ।

२. र त्यसबारे विभिन्न क्षेत्रका विज्ञहरू, सरोकार समूहहरू, विपक्षीहरूका परामर्शद्वारा प्राप्त निष्कर्षहरूका आधारमा त्यसलाई तयारगरेका हुन्छन् । निरन्तरको अध्ययन , चिन्तन , परामर्शहरुद्वारा त्यसलाई अध्यावधिक गरिरहेका हुन्छन् । त्यसको पक्षमा जनमत निर्माण गरिरहेका हुन्छन् ।

३. जब सरकारको नेतृत्वगर्ने अवशर प्राप्त हुन्छ – उनीहरू अलमल र अन्यौलमा रहन्नन् । सरकारका मन्त्रीहरू, आफ्ना सल्लाहकारहरूलाई ती विचार , नीति र कार्यक्रमहरूलाई मुलुकका विद्यमान नीति, नियम र कार्यक्रमहरूसँग तुलना गर्ने, विज्ञ र सरोकार समूहहरूसँग परामर्श गरेर वैकल्पिक नीति र कार्यक्रमहरूबारे समेत आफ्नो राय तयार गरेर ल्याउन निर्देशन दिन्छन् । ती सवैको आधारमा सरकारका लक्ष, नीति र कार्यक्रमहरू तय हुन्छन् । तर त्यसको मूलमा आफ्नो मूल नीति, लक्ष र कार्यक्रमहरू हुन्छन् ।

४ . त्यसपछि सरकार प्रमुखको रूपमा रहेका राष्ट्रपति वा प्रधानमन्त्रीले मन्त्रीहरू र सरकारका उच्चाधिकारीहरूलाई विपक्ष,जनता, मिडिया, सरोकार समूहहरू समक्ष ती लक्ष,नीति र कार्यक्रम लागू गर्ने, र त्यसका कट्टर विरोधीहरूलाई एक्ल्याउने राजनीतिक, सामाजिक र आर्थिक परिवेश निर्माण गर्न निर्देशन दिन्छन् । आफ्ना नीति, मूल्य र विचारका कट्टर विरोधीहरूसँगको सम्झौताले मुलुक र सरकार गतिहीन र उर्जाहीन हुन जाने कुरामा उनीहरू सतर्क हुन्छन् । प्रतिपक्ष भनेको हाम्रोमा जस्तो अवशर प्राप्ति र ग्रहण, र संग्रहणका सवालहरूमा होइन , मूल्य, विचार, दर्शन र कार्यक्रममा हुन्छ भन्ने त झन् बुझेका हुन्छन् । अवसर प्राप्ति र ग्रहण, र संग्रहणका सवलमा संझौता होला, लेनदेन होला तर मूल्य, विचार, दर्शन र कार्यक्रममा हुन्न । आफ्ना मूल्य र विश्वासहरूमा नीति र कार्यक्रमहरूका पक्षमा सरकारमा रहँदा र नरहँदा उनीहरू फरकरूपमा प्रस्तुत हुँदैनन् । सरकारमा बस्नैकालागि तिनमा सम्झौता गर्दैनन् र मुलुकलाई निर्णय लिई नसक्ने गरी गतिहीन हुन दिन्नन् ।

५ . त्यसपछि त्यस्ता नीति , लक्ष र कार्यक्रमहरूलाई कार्यान्वयनमा लगिन्छ – त्यसबाट आउने सकारात्मक र नकारात्मक सङ्केत र प्रतिक्रियाहरूको समीक्षा पार्टी, सरकार र स्वतन्त्र नागरिक समूहहरूबाट निरन्तर गराइएको हुन्छ । त्यसको आधारमा नीति र लक्ष समायोजनको प्रक्रिया अघि बढिरहेको हुन्छ ।

६ . राष्ट्रपति वा प्रधानमन्त्रीले आफू, आफ्ना निकट सहयोगीहरू ,मन्त्रीहरू मार्फत आफ्ना शुभेच्छुक , समर्थक, वौद्धिक समुदाय , प्रमुख मिडिया कर्मी,प्रतिद्वन्द्वी र विरोधीहरूसँग निरन्तर सम्बाद र सम्पर्कमा हुन्छन् । उनीहरूका , विचार , दृष्टिकोण, सरकारका नीति, निर्णय र कार्यबारे उनीहरूका समर्थन, आलोचना र विरोधहरूबारे सरकार प्रमुख र उनका सहयोगीहरूले निरन्तर अनुगमन गरिरहेका हुन्छन् । सरकार प्रमुख र उनका प्रमुख सहयोगीहरूले आफ्ना समर्थक, विरोधी वा आलोचकलाई गर्ने एउटा फोनले , सामाजिक सञ्जालमा उनीहरूले गर्ने एउटा टिप्पणीले मात्रै पनि सरकारको विरोधमा रहेको ठूलो पङ्क्तिको आवाज मथ्थर हुन्छ भन्ने उनीहरूले बुझेका हुन्छन् । त्यस्तै एउटा फोनले , सामाजिक सञ्जालमा उनीहरूले गर्ने एउटा टिप्पणीले आफ्ना समर्थक र शुभेच्छुकहरूमा सशक्त उर्जा प्रवाह गरिरहेको हुन्छ भन्ने बारे त उनीहरू अहोरात्र सतर्क र सचेत हुन्छन् ।

७ . आफ्नो ज्ञान, बुद्धि, विवेक र अनुभव भन्दा बाँकी राष्ट्र, समाज र विश्वको ज्ञान, बुद्धि, विवेक र अनुभव कता हो कता विराट परिमाणको हुन्छ र त्यसको तुलनामा आफ्नो त्यस्तो ज्ञान, बुद्धि, विवेक र अनुभव एउटा सानो थोप्लो वरावर पनि हुन्न भन्ने उनीहरूले सधैँ हेक्का राखेका हुन्छन् । त्यसैले उनीहरू हाम्राले जस्तो बाँकी समस्त राष्ट्र, समाज र विश्वको ज्ञान, बुद्धि, विवेक र अनुभवलाई चुनौती दिएर आफ्नो देशलाई नेपाल जस्तो बन्न दिँदैनन् ।