मोरिससविरुद्धको मैत्रीपूर्ण फुटबलमा नेपालको जित

१८ माघ २०७८, मंगलवार १३:३३

काठमाडौँ । मोरिससविरुद्धको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले जितेको छ । दशरथ रंगशालामा मंगलबार भएको दोस्रो खेल नेपालले एक शून्य गोलले जितेको हो । नेपालका लागि १० औं मिनेटमा सुजल श्रेष्ठले निर्णायक गोल गरेका थिए ।

यसअघि गत शनिबार भएको पहिलो खेलमा पनि नेपालले एक शून्यको गोल अन्तरले जितेको थियो । खेलको दोस्रो हाफमा मोरिससका दुई र नेपालका एक खेलाडीले रातो कार्ड पाएका थिए । यस्तै नेपाल र मोरिससका खेलाडीबीच तनाव उत्पन्न भएपछि मैदान प्रवेश गरेका नेपाली टोलीका म्यानेजर मधुसुदन उपाध्यायलाई समेत रातो कार्ड दिइएको थियो ।