No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

पूर्वी पहाडी जिल्लामा लगातारको हिमपातले जनजीवन कष्टकर

0
इलाम । लगातारको हिमपात र झरीका कारण पूर्वी पहाडी जिल्लाको जनजीवन कष्टकर बन्दै गएको छ । गएका वर्ष भन्दा यस पटक धेरै पटक हिउँ परेको छ । इलामका उच्च पहाडी क्षेत्रमा यसवर्ष पटक–पटक हिउँ झरेपछि सो क्षेत्रका बासिन्दाको जनजीवन कष्टकर बनेको हो । चिसोका कारण विशेष गरेर घर बाहिरको काम गर्न मुस्किल भएको छ । मङ्गलबार साँझबाट हिउँ झरेपछि उच्च पहाडी क्षेत्रका बासिन्दालाई समस्या भएको हो । यस पटक विगत भन्दा निकै तलसम्म हिउँ परेको स्थानीयवासीको भनाइ छ । यस पटक भने जिल्लाको माइजोगमाई गाउँपालिकाको नयाँ बजारसम्म हिउँ परेको छ । सदरमुकामलगायत तल्लो क्षेत्रका मानिसलाई हिउँमा खेल्न रमाइलो हुने भए पनि माथिल्लो क्षेत्रका बासिन्दाले कष्टकर जीवन बिताउनु परेको माइजोगमाई गाउँपालिका नयाँ बजारकी निर्मला बस्नेतले बताइन् । यस पटक नयाँ बजारसम्म हिउँ परेको उनले बताइन् । जिल्लाको उच्च पहाडी क्षेत्र सन्दकपुर, जौबारी, मेग्मालगायतका स्थानमा यसअघि पनि पटक–पटक हिउँ झरेको भए पनि नयाँ बजारसम्म हिउँ परेपछि चीसो बढेको स्थानीयवासीको भनाइ छ । यस पटक धेरै तल अर्थात माइमझुवा, टप्पु, नयाँ बजारलगायत धेरै तलसम्म हिमपात भएको छ । त्यस्तै राति जिल्लाका धेरै स्थानमा पानी समेत परेको छ ।   उच्च पहाडी क्षेत्रमा मात्र हिमपात र झरी परेपछि सदरमकाम इलामसहित जिल्लाका अन्य स्थानमा जाडो बढेको छ । जाडो बढेपछि विषेश गरेर बालबालिका र वृद्धवृद्धालाई समस्या भएको छ । हिउँ परेको स्थानमा स्थानीयवासीलाई घरबाट बाहिर निस्कन समस्या भएको छ । उनीहरुलाई दैनिक कामकाज गर्न समस्या भएको छ । गाईबस्तुलाई घाँस लगाउन झनै समस्या भएको छ । लेकाली क्षेत्रमा यसबेला घर बाहिरको घाँस दाउरा काट्ने, आलु रोप्ने, मल बोक्नेलगायतका काम हुने गरेका छन् । तिनै काम गर्न नसकिने अवस्था आएको स्थानीयवासीको भनाइ छ ।
प्रकाशित: १९ माघ २०७८, बुधबार ११:१९

Leave a Reply