No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

निर्वाचनको मिति तोक्न सरकारलाई दबाव दिने एमालेको निर्णय

0

काठमाडौं । नेकपा एमालेले स्थानीय तहको निर्वाचनको मिति नतोके दबाबमूलक कार्यक्रम गर्ने निर्णय गरेको छ । बुधवार बसेको केन्द्रीय सचिवालय बैठकले बिहीवार मन्त्रिपरिषद्को बैठकले निर्वाचनको मिति नतोके देशभर दबाबमूलक कार्यक्रम गर्ने एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

त्यस्तै एमालेले राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश–१ र सुदूरपश्चिममा भएको अनुशासन उल्लंघन र अन्तर्घातको छानबिन र कारवाहीका लागि सिफारिस गर्न प्रदेश कमिटीलाई निर्देशन दिने निर्णय पनि गरेको छ ।

बैठकले एमालेको नियमावली, जन संगठनको निर्देशिका पारित गर्नुका साथै सहकारी र स्थानीय निकाय विभागमा सदस्य थप्ने निर्णय गरेको नेता गुरुङले जानकारी दिए । एमालेले पार्टी सदस्यतासम्बन्धी केन्द्रमा अभिलेख राख्न प्रत्येक जिल्लामा आइटी विज्ञ नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

बैठकले पार्टी पंक्तिलाई स्थानीय तहको निर्वाचनको तयारीमा लाग्न निर्देशन दिएको छ । बैठकले प्रदेश अधिवेशनहरू स्थानीय निर्वाचनपछि गर्ने र जिल्ला अधिवेशनहरू निर्वाचनअघि नै गर्ने निर्णय गरेको छ ।

स्थानीय निर्वाचनमा केन्द्रित भई केन्द्रीय र प्रदेशस्तरमा अगुवा कार्यकर्ता भेला आयोजना गर्ने, युवा, विद्यार्थी, महिला र किसानबाहेकका जनसंगठनका राष्ट्रिय अधिवेशनहरू तोकिएकै मितिमा गर्ने निर्णय पनि बैठकले गरेको छ ।

बैठकले पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका सुझावसहित पारित गरेको छ । त्यस्तै बैठकले केन्द्रीय प्रचार तथा प्रकाशन, उद्योग, वाणिज्य तथा आपूर्ति विभाग, पार्टी स्कुल विभाग, सहकारी तथा गरिबी निवारण विभाग र स्थानीय तह विभागमा सदस्यहरू मनोनयन गरिएको छ ।

प्रकाशित: १९ माघ २०७८, बुधबार १२:२२

Leave a Reply