मोटरसाइकल चोरी गर्ने दुई पक्राउ

२० माघ २०७८, बिहीबार १३:५५
काठमाडाैँ । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा मोटरसाइकल चोरी गर्ने दुईलाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोशाकमा खटिएको टोलीले काठमाडौँको गोकर्णेश्वर र ललितपुरको सानेपाबाट मोटरसाइकलसहित दुईलाई आज पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुर्खेत वीरेन्द्रनगर घर भई हाल चावहिल बस्ने २३ वर्षीय सौरभ महतरा र सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका–१८ का समिर तामाङ रहेका छन् । महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले वास्तविक नम्बरप्लेट परिवर्तन गरेर नयाँ नम्बर प्लेट हालेर सञ्चालन गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको जानकारी दिए । उनका अनुसार गोकर्णेश्वरबाट नियन्त्रणमा लिइएको तामाङको साथबाट वास्तविक नम्बर परिवर्तन गरेर बागमती प्रदेश–०२–०२५ प १३१८ नम्बर हालेको अवस्थामा बरामद गरिएको हो । अनुसन्धानपश्चात उक्त मोटरसाइकलको वास्तविक नम्बर बागमती प्रदेश–०२–०२९ प ५२०९ भएको खुल्न आएको महाशाखाले जनाएको छ । ललितपुरको सानेपाबाट बा ९८ प ७९६१ नम्बरको सेतो रङको डुक मोटरसाइकल बरामद गरेको छ । उक्त मोटरसाइकलको वास्तविक नम्बर बा ९९ प ४८८२ भएको महाशाखाले जनाएको छ । पक्राउ परेका दुवैलाई चोरी मुद्दामा अनुसन्धान एवं कारबाहीका लागि प्रहरी वृत्त क्रमशः ठिमी र सिंहदरबार पठाइएको महाशाखा प्रमुख जोशीले बताए ।