बाजुरामा हिमपात : किसान खुसी

२१ माघ २०७८, शुक्रबार ०९:०१
मार्तडी । मौसम बदलीसँगै सुदूरपश्चिमका हिमाली र पहाडी जिल्लामा हिमपात भएको छ । बिहीबार साँझबाट बाजुरासहित सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली जिल्लाका विभिन्न स्थानमा हिमपात भएको हो । हिमपातका कारण चिसो निकै बढेको छ । चिसोको कारण जिल्लावासीको जनजीवन प्रभावित बनेको छ । चिसोका कारणले वृद्धवृद्धा, बालबालिका बढी प्रभावित भएका छन् । हिमपातका कारण जिल्लाको आवतजावत नै बन्द भएको छ । यस वर्ष पटक–पटक भएको हिमपातका कारण मानिससँगै पशुचौपायालाई पनि समस्या भएको छ । हिमपातले चिसो बढ्दै गएपछि स्वास्थ्य संस्थामा बिरामीको चाप बढ्दै गएको स्वास्थ्यकर्मीले बताएका छन् । लामो समयदेखि पानी नपर्दा समस्यामा परेका किसान हिमपात र पानी परेपछि भने खुसी भएका छन् । बाजुरासहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा जिल्लामा भारी हिमपात भइरहेको छ । हिमपातका कारण नागरिक समस्यामा परेका छन । आज पनि पश्चिमी वायुको प्रभावका कारण हिमाली जिल्लामा हिमपात हुने र अरु क्षेत्रका धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । जिल्ला सदरमुकाम मार्तडीसहित यहाँका नौ वटै पालिकामा हिमपात भइरहेको छ । हिमपातका कारण पूर्वी उत्तरी भेगका हिमाली गाउँपालिकाको विच्छ्या, रुगिनका स्थानीयवासी बढी प्रभावित बनेका छन् । त्यहाँ मौसम बदली भएपछि हिमपात हुने गरेकाले सो क्षेत्रका स्थानीय बढी प्रभावित हुने गरेका छन् । यसैगरी लामो समयदेखि सुख्खा रहेपछि समस्यामा परेका किसानलाई भने हिमपात भएपछि गहूँबालीमा राहत पुगेको छ । हिउँदे वर्षाका कारण पहाडी क्षेत्र तथा तराईका जिल्लामा लगाइएका विभिन्न बालीलाई राहत भएको किसान बताउँछन् । वर्षाले विभिन्न अन्नवाली, फलफूल र तरकारीलगायतका किसानलाई फाइदा पुगेको हो । जिल्लाका बडिमालिका, बूढीनन्दा, दहडाँडा, बडालेखलगायतका उच्च हिमाली क्षेत्र यतिबेला सेताम्मे बनेका छन् । जिल्लाका हिमाली गाउँपालिकाको गुम्बा, बडिमालिका नगरपालिकाको ढम्कने, बूढीनन्दा नगरपालिकाको पाण्डुसैनलगायतका क्षेत्रका किसानलाई भने समस्या भएकोे छ ।