प्रसिद्ध भारतीय गायिका लता मंगेशकरको निधन

२३ माघ २०७८, आईतवार ०५:०१

काठमाडौं । प्रसिद्ध भारतीय गायिका लता मंगेशकरको निधन भएको छ । मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा उपचारका क्रममा उनको आइतबार बिहान उनको निधन भएको हो ।

जनवरीको सुरुमा कोभिड संक्रमण भएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्य अवस्थामा सुधार नहुँदा उनी आईसीयूमा उपचाररत थिइन् । उनले नेपाली गीतहरु पनि गाएकी छन् ।

उनले ३६ भाषामा ३० हजारभन्दा बढी गीत गाएकी छन् । उनलाई राष्ट्रिय प्रतिभाका रूपमा स्थापित गर्ने कार्य भने भारतको हिन्दी चलचित्र उद्योगमा गरेको कामले गरेको हो । उनको जन्म सन् १९२९ को सेप्टेम्बर २८ तारिखमा भारतको मध्य प्रदेश राज्यस्थित इन्दोर सहरमा भएको थियो । पाँच वर्षको उमेरमा पिता दिनानाथ मङ्गेशकरबाट उनले सङ्गीत सिक्न थालेकी थिइन् ।

दिनानाथ त्यस बेला थिएटर कलाकार थिए । पिताको मृत्यु पश्चात् उनको परिवार मुम्बई (तत्कालीन अवस्थामा बम्बई) बसाइँ सर्यो जहाँ किशोरावस्थामा मङ्गेशकरले मराठी चलचित्रहरूका लागि गाउन थालिन् ।

परिवारलाई सहयोग गर्नका लागि उनले केही चलचित्रमा छोटो भूमिका निर्वाह गरिन् तर उनले पछि त्यसमा आफ्नो मन नलागेको बताउने गरेकी थिइन् । सन् १९४९ मा महल चलचित्रको ’आएगा आनेवाला’ बोलको गीतले उनलाई फड्को मार्ने अवसर दियो । हिन्दी चलचित्रमा यो नै उनको पहिलो गीत थियो।