No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

महाेत्तरीमा विद्यार्थीलक्षित ‘मोडर्ना’ खोप दिइँदै

0
महाेत्तरी । कोभिड–१९ विरुद्धको ‘मोडर्ना’ खोप आजदेखि यहाँका विद्यार्थीलाई लगाउन सुरु गरिएको छ । सङ्घीय सरकारले यही माघ १५ देखि २० सम्म विद्यार्थी लक्षित सो खोप सबै विद्यालयमा लगाउने बताए पनि जिल्लामा भने आजदेखि सुरु गरिएको हो । स्वास्थ्य कार्यालयका निमित्त जनस्वास्थ्य प्रशासक भोला यादवले मौसम प्रतिकूल बन्दा खोप कार्यक्रम ढिलो सुरु भएको जानकारी दिए । जिल्लाका १५ स्थानीयतहमध्ये पाँच नगरपालिका र तीन गाउँपालिकाका विद्यालयमा अध्ययतरत विद्यार्थीलाई खोप लगाइने छ । आज खोप लगाउन थालिएका विद्यालय बलबा, मटिहानी, मनराशिश्वा, लोहारपट्टी र जलेश्वर नगरपालिका एवं एकडारा, पिपरा र महोत्तरी गाउँपालिकाका हुन् । यस पहिलो चरणको विद्यालय केन्द्रित खोप अभियान माघ २८ मा सम्पन्न हुने उनले बताए । ‘मोडर्ना’ १२ देखि १८ वर्ष उमेर लक्षित कोभिड–१९ विरुद्धको खोप हो । दोस्रो चरणमा जिल्लाका सात स्थानीयतहका विद्यालयका विद्यार्थीलाई सो खोप लगाइने छ । आगामी फागुन २ गतेदेखि ६ गतेसम्म सञ्चालन हुने यो चरणमा पाँच नगरपालिका र दुई गाउँपालिकाका विद्यालय पर्नेछन् । यसमा भङ्गाहा, औरही, रामगोपालपुर, गौशाला र बर्दिबास नगरपालिका एवं सम्सी र सोनामा गाउँपालिकाभित्रका विद्यालय रहने कार्यालयले जनाएको छ । जिल्लामा ७४ हजार मात्रा खोप आएको निमित्त जनस्वास्थ्य प्रशासक यादवले जानकारी दिनुभयो । राहदानी लिएर विदेश जाने तयारीमा रहेका १८ वर्षभन्दा माथिका सबैलाई ‘जोनसोन’ खोप दिइएको कार्यालयले जनाएको छ । यो सेवा स्वास्थ्यचौकी, अस्पताल र यसबाहेक तोकिएका केन्द्रबाट प्रवाह भइरहेको छ । जिल्लाका सबै स्थानीयतहमा विशेष अभियानअन्तर्गत फागुन १० देखि १४ सम्म पाँच दिन खोप लगाउने निर्णय गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा अझै खोप लिनेको सङ्ख्या ५० प्रतिशत नाघेको छैन । खोपलाई प्रभावकारी बनाउन स्वास्थ्य जनशक्तिको समुचित विन्यास, खोपबारे सचेतना बढाउन राजनीतिक दल, सामाजिक सङ्घ संस्था र स्थानीयतहको प्रत्यक्ष पहलकदमी उपलब्धिमूलक हुने मधेश प्रदेश स्वास्थ्य निदेशनालयका निर्देशक विजयकुमार झाको भनाइ छ ।
प्रकाशित: २४ माघ २०७८, सोमबार ०३:२३

Leave a Reply