No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

जमिन दिलाइदिन्छु भनी सुकुम्वासीलाई ठगी गर्ने दुई पक्राउ

0
काठमाडाैँ । नेपाल प्रहरीले भूमि आयोगको मान्छे बनेर जमिन दिलाइदिन्छु भनी सुकुम्वासीलाई ठगी गर्ने दुईजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–१६ स्थित भेटघाट क्याफेमा सुकुम्वासीलाई बोलाएर जग्गा दिलाइदिने भन्दै ठगी गर्ने झापाका ३८ वर्षीय होमनारायण चौधरी र बूढानीलकण्ठका ४४ वर्षीय उद्धव भण्डारीलाई पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले चार आना जग्गा प्राप्त गर्न जनही रु ५० हजारको फारम भर्न लगाई रकम लिई ठगी गरेको अभियोगमा पक्राउ गरिएको जानकारी दिए । “पक्राउ परेका व्यक्तिले आफूहरु भूमि आयोगबाट आएका मान्छे भएको र सुकुम्वासीहरुलाई जग्गा वितरण गर्छौं, फारम भर्नुपर्छ भन्दै भूमिहीन दलित, भूमिहीन सुकुम्वासीले भर्ने निवेदन फारम भर्न लगाई पैसा असुल गरेको अनुसन्धानबाट खुलेको छ”, उनले भने । प्रहरीले पक्राउ गरेका व्यक्तिसँग ल्यापटप एकथान, चार्जर एकथान, प्रिन्टर एकथान, मोबाइल दुई थान, स्पिकर एकथान र भूमिहीन दलित, भूमिहीन सुकुम्वासीले भर्ने निवेदन फाराम बरामद गरेको छ । पक्राउ परेका व्यक्तिसँग थप अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले बताए ।
प्रकाशित: २४ माघ २०७८, सोमबार १०:१९

Leave a Reply