No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

भूराजनीतिक तनाव र द्वन्द्वको भूमरीमा हामी

0

केशवप्रसाद भट्टराई ।
१. हिजो अमेरिका र सोभियत सङ्घको युगको भन्दा धेरै शक्तिशाली दुई ध्रुब विश्वमा निर्माण भएको छ । एकातिर अमेरिका, पश्चिम युरोप, जापान, भारत आदि छन् र अर्कोतिर चीन, रूस, इरान, पाकिस्तान, उत्तर कोरिया आदि । सोभियत सङ्घ राजनीतिक र सैनिकरूपमा मात्रै महाशक्ति थियो आर्थिकरूपमा थिएन । आज चीन राजनीतिक र आर्थिकरूपमा महाशक्ति हो ।
सैनिकरूपमा महाशक्ति बन्दै छ तर आर्थिक शक्ति, दुनियाँको सवैभन्दा ठूलो बस्तु उत्पादक राष्ट्र , निर्यातक राष्ट्र भएकोले संसारका हरेक मुलुकको दैनिक जीवन सँग चीन जोडिएको छ । अमेरिका त साविकको महाशक्ति भैगयो, उसको प्रभाव र शक्ति विश्वव्यापी छ । युरोपका समृद्ध र विकसित राष्ट्र र भारत, जापान जस्ता मुलुकसँगको सम्बन्धले उसको शक्तिलाई झन् बढी वृद्धि गराएको छ ।

२. आज कोही तटस्थ÷असंलग्न छैनन् , रहन नै सक्दैनन् । यस अवस्थामा आफूलाई तटस्थ÷असंलग्न बताउनु भनेको झूठ र ढोंग मात्रै हो । र झूठ र ढोंगको भरमा देश अगाडि बढ्दैन । र देशले एउटा प्रिय÷अप्रिय निर्णय लिन्छ । बाँच्नलाई लिनु पर्दछ । आफूले नलिए अर्कोले लिइदिन्छ र स्विकार्न वाध्य बनाउँछ । त्यो दुई ध्रुबमा विभक्त विश्वका प्रमुख शक्तिहरू र उनीहरुका छेऊ –छाऊका राष्ट्रहरूको अवश्याम्भावी नियति हो । तटस्थ वा असंलग्न हुन र रहन पनि राष्ट्रको क्षमता र नेतृत्व दुवै चाहिन्छ जुन दुर्भाग्यबस हामीसँग छैन । असंलग्न छौं त्यसैले हाम्रा कोही छैनन् । उपेक्षाको शिकार छौं, तर उनीहरूको स्वार्थको भारी बोक्न वाध्य छौँ ।

३. अफगानिस्तान सोभियत सङ्घ, चीन इरान जस्ता मुलुकका छिमेकी राष्ट्र भएकैले त्यो नियति भोग्यो –कहिले अमेरिकाले भोगायो –कहिले सोभियत सङ्घले । अमेरिकाको निकट रहेकैले क्युबा सधैं असुरक्षाको चुनौतीमा । रूसको निकट भएको युक्रेन । केही दशक अघिसम्म मध्यपूर्वको समृद्ध र सम्मानित राष्ट्र थियो लेबनान तर सिरिया र इजरायल उसका दुई छिमेकी ???
पूर्व युगोस्लाभियामा भन्दा हजारौँ गुणा अत्याचारी र नृशंश शाशकहरू अफ्रिकामा थिए र छन् ––तर त्यहाँ ठूला शक्ति राष्ट्रहरू छिमेकमा नरहेकाले –त्यहाँ त्यो चलिरह्यो, चलिरहेको छ ।

४. नेपालको भूगोलकै कारण भारत, अमेरिका र युरोपका मुलुकहरू जस्ता संसारका सवैभन्दा ठूला र सफल र समृद्ध प्रजातन्त्रहरुले माओवादीको क्रूर र बर्बर आतंकलाई सहयोग र संरक्षण प्रदान गरे । सत्तामा स्थापना गराए । आफू नयाँ ध्रुबमा स्थापना भएपछि आज चीन नेपालको राजनीतिका समस्याहरूमा खेल्न थालेको छ र निकासलाई छेकिरहेको छ । आजको नेपालको चुनौती पहिलो शीतयुद्ध ( सोभियत काल ) को अवधिको भन्दा धेरै कठिन र जटील छ । त्यसैले हामी घातक भूराजनीतिक तनाव र द्वन्द्वको भूमरीमा छौं । त्यसबाट पार लगाउन सक्ने क्षमता हाम्रो राजनीतिक व्यवस्थासँग छैन र नेतृत्व पनि छैन । क्षमताको कुरै छोडौँ हामी त त्यसलाई बुझ्न पनि सकिरहेका छैनौ । नेपालको आन्तरिक राजनीतिमा गठबन्धन विना कुनै दलले सरकार बनाउनै नसक्ने संविधान बनाएर मुलुकलाई एउटा न एउटा गठबन्धनको बन्दी बनाउन वाध्य पार्नेहरूले संविधानमै असंलग्न परराष्ट्र नीतिको वाध्यकारी व्यवस्थालाई उल्लेख गरेर संविधानको आयु र मुलुकको शान्ति र स्थिरतालाई संदिग्ध बनाएका छन् ।

प्रकाशित: २६ माघ २०७८, बुधबार ०२:५९

Leave a Reply