‘नेपहपको श्रीपेच’को दोस्रो प्रोमो सार्वजनिक

२६ माघ २०७८, बुधबार ०३:२२

काठमाडौं । रियालिटी शो ’नेपहपको श्रीपेच’ को दोस्रो प्रोमो सार्वजनिक गरिएको छ । प्रोमोमा अहिलेका भाइरल र्यापर ’माइला’को प्रस्तुतिलाई देखाइएको छ ।

प्रोमोमा मिस्टर डी, डेजेन र कवि–जी प्रि–जजहरूको रूपमा देखाइएको छ । तर यस शोको जजमा भने र्यापर बालेन शाह, गिरिस खतिवडा र मानस घले छन् । यसअघि निर्माण टिमले पहिलो प्रोमोमा फिमेल र्यापर फुर्दुकीलाई देखाएको थियो । जुन भिडियोले हाल सम्म युट्युबमा २ लाख तीस हजार भ्युज र विभिन्न सामाजिक सञ्जालमा २० लाख भ्युज प्राप्त गरेको थियो ।

कार्यक्रम फागुन १६ बाट इमेज टेलिभिजन र डि म्युजिक टिभीमार्फत प्रसारणमा आउने भएको छ । कार्यक्रम युट्युबमा भने ओएसआर रियालिटीबाट आउनेछ । नेपालमा पहिलो पटक हुन लागेको ‘नेपहपको श्रीपेच’ र्याप म्युजिक रियालिटी शो हो । डि म्युजिक टिभीको प्रस्तुती रहेको उक्त शोलाई सुदीप पोख्रेल र रोशन श्रेष्ठले निर्माण गरेका हुन् ।

कार्यक्रमका लागी आठ हजार भन्दा बढीले डिजिटल अडिसनमार्फत सहभागिता जनाएका थिए । जसमध्ये ६ सय जनाको बिभिन्न शहरमा फिजिकल अडिसन लिइएको थियो । अब फिजिकल अडिसनबाट छानिएका १२३ जनाले श्रीपेचको लागि प्रतिस्पर्धा गर्नेछन् । ’नेपहपको श्रीपेच’ को विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने छन् ।