No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

द्वैध शासनको प्रमाण अर्को चाहिन्छ र ?

0

केशवप्रसाद भट्टराई ।
१. अमेरिकाको शासन व्यवस्था सिस्टम र टीमले चलाउँछ । त्यो सिस्टम र टीमलाई थिङ्क ट्यांकले नेतृत्व गरेको हुन्छ । जब कुनै नयाँ राष्ट्रपति आउँछन् आफ्नो टिममा थिङ्क ट्यांकका श्रेष्ठ विज्ञहरूबाट मन्त्रीहरू नियुक्त गर्दछन् । दुनियाँकै उत्कृष्ट विज्ञहरू उनीहरूसँग छन् । समस्या पर्यो उनीहरू आइहाल्छन् । ती थिङ्क ट्याङ्कका विज्ञहरू जे भन्छन्, जे लेख्छन् त्यो दुनियाँको लागि मानक बन्दछ ।

२. साँच्चै भन्ने हो भने अमेरिकामा शासन नै थिङ्क ट्याङ्कहरूले गर्दछन् । उनीहरूद्वारा प्रस्तुत र शिफारिस गरिएका विचार र दृष्टिकोणले शासन गर्दछ । थिङ्क ट्याङ्कहरू पनि वैचारिक आस्थाका आधारमा छन् –जस्तो ब्रुकिङ्ग्स इन्स्टिच्युट, ओपन सोसाइटी जस्ता वामपन्थी थिङ्क ट्याङ्क छन् । हेरिटेज , हुभर, क्याटो र अमेरिकन इन्टरप्राइज जस्ता उदार दक्षिणपन्थी थिङ्क ट्याङ्कहरू छन् । सिएसआइएस, सिएनएएस.कार्नेगी इन्स्टिच्युट, अट्लान्तिक जस्ता मध्यमार्गी र र्यान्ड जस्ता स्वतन्त्र थिङ्क ट्याङ्कहरू छन् । डेमोक्रेट राष्ट्रपति वा डेमोक्रेट प्रशासन छ भने नीति निर्माण र कार्यन्वयन तहमा ब्रुकिङ्ग्स र ओपन सोसाइटीका प्राज्ञहरू प्रभावी हुन्छन् । रिपब्लिकन भए हेरिटेज , हुभर, क्याटो र अमेरिकन इन्टरप्राइजहरू त्यही भूमिकामा रहन्छन् । सरकारहरू जुन दलको भए पनि र्यान्ड, सिएपÞmआर ( काउन्सिल अन फरेन रिलेसन्स) जस्ता स्वतन्त्र र मध्यमार्गी थिङ्क ट्याङ्कहरूले निर्णायक हैसियत राख्दछन् । तिनका दृष्टिकोण, अध्ययन, अनुषन्धान, सिफारिश र निष्कर्षहरू विश्वका धेरै मुलुकका लागि नीति बन्दछन् । एक किसिमले भन्दा विश्वको शासन नै अमेरिकी विज्ञ, विद्वान र विचारकहरू, चिन्तक र वैज्ञानिकहरूले गर्दछन् । त्यसैले अमेरिकाको सिस्टम दुनियाँकै सवैभन्दा सक्षम र प्रभावकारी मध्ये छ र तिनीहरूले मुलुक धानेकाछन् ।

३ . भारत र चीनमा नेता, पार्टी र सिस्टमले शासन चलाउँछ । पार्टी बलिया छन् । प्रणाली बलियो छ । भारतमा सेना,प्रहरी,प्रशासन, अदालत,सुरक्षा संगठनहरू सवल छन् । दुनियाँकै प्रभावकारी गनिन्छन् । नत्र राजनीति त खासै गतिलो छैन त्यहाँ (राजनीति त अमेरिकामा पनि त्यस्तै देखिन थालेको छ ।) त्यहाँको सेना,प्रहरी,प्रशासन,अदालत,सुरक्षा संगठनहरूले कुन दलको सरकार छ भनेर हेर्दैनन् । संविधान र कानुन अनुसार आफ्नो बाटो हिड्छन् –त्यसैले धानेको र थामेको छ भारतलाई । हिजोआज राम्रा थिङ्क ट्यांक पनि भारतमा देखिन लागेका छन् । मोदी, अमित शाह , अजित डोभाल सवै सिस्टमबाट आएका हुन् । गर्नुपर्ने काम र जिमेवारी सिस्टमले पहिचान गर्यो र जिम्मेवारी बोक्न को सक्षम छ ? भनेर खोज्दा, उनीहरू ल्याइए । मोदीलाई बलियो सहयोगी चाहियो भनेर शाह ल्याइए । युवा राजनीतिज्ञ योगी आदित्यनाथको प्रशिक्षण चलिरहेको छ । उनीहरू सक्षम थिए र छन् – सिस्टम र पार्टीको असामान्य समर्थन छ । सिस्टम बुझेकाले, सिस्टमको नेतृत्व गर्न जानेकाले सिस्टमले उनीहरूको क्षमता थपिदिएको छ , बढाइदिएको छ । सवाल सिस्टमलाई विश्वासमा लिएर त्यसलाई नेतृत्व दिने हो आफ्ना अभावहरूका सिस्टमलाई सरापेर बस्ने होइन भन्ने उनीहरूले बुझे र सफल र लोकप्रिय बने – बन्दैछन् । आफ्नो र सिस्टम दुबैको क्षमता बढाए । सिस्टमलाई पनि बलियो बनाए , आफू पनि बलिया छन् ।

४. चीनसँग तलैबाट उठेको संसारको सवैभन्दा शक्तिशाली पार्टी छ । तलैदेखि प्रशिक्षित हुँदै , विभिन्न क्षेत्रको अनुभव हाँसिल गर्दै –संगठन,ज्ञान र अनुभवमा समृद्ध व्यक्ति मात्रै त्यहाँ नेतृत्वमा पुग्ने व्यवस्था छ । दुई तीन दशक अघिदेखि भावी नेतृत्वको खोजी हुन्छ । उनीहरूलाई जिम्मेवारी दिँदै, सो जिम्मेवारी निर्वाहमा उनीहरूले प्रदर्शन गरेको योग्यता, क्षमता, कार्यकुशलता, निष्ठा सवैको मिहिन अनुगमान र मूल्याँकन गरिरहेको हुन्छ — पार्टीले , प्रणालीले । त्यसको आधारमा अघि बढाउँदै, माथिल्लो जिम्मेवारी प्रदान गर्दै थप कसीमा घोट्दै माथि ल्याइन्छ र अन्त्यमा पार्टी, सरकार र राज्यको नेतृत्व सुम्पिइन्छ । राम्रा थिङ्क ट्यांक छन् चीनमा – देङ्ग युग पछि आएका–सरकारको मेरुदण्डको रूपमा छन् ।
उट्पट्यांग कुरा, कार्य शैली, जथाभावी भाषण र मिडियाले उचालिदिएको बलमा मात्रै त्यहाँ चीनमा कम्युनिस्ट पार्टीको नेता बन्न पाइन्न । हामी कहाँ जस्तै विद्यार्थी राजनीतिगर्दा गर्दै राजनीतिमा र मन्त्री र मूख्य मन्त्रीहरू भारतमा पनि कतै कतै आए, तर हराए । धान्नै सकेनन् । प्रशिक्षण नपाएका , सोझै पार्टी नेतृत्वमा आएका राहुल गान्धी र हाम्रा जस्तै कम्युनिस्टका कारण तीन दशक शासनमा रहँदा पनि, प्रचुर साधन र स्रोत भैकन पनि पश्चिम बंगालमा मानिसले तान्ने रिक्साहरू देखिन्छन् । भारतमा प्रचूर साधन र स्रोतले भरिएको राष्ट्र हो पश्चिम बङ्गाल ! त्यसै अंग्रेजहरूले रोजेका थिएनन् बंगाललाई आफ्नो राजधानी बनाउन । अर्को, चीनले आफूलाई उम्दा जनशक्तिको राष्ट्रमा रुपान्तर गरेको छ । शिक्षा र प्राविधिक श्रेष्ठतामा अब्बल छ ।

५. २४ वर्ष भयो हामी एउटा मेलम्ची परियोजनालाई सम्पन्न गर्न सकिरहेका छैनौ, तर यस्तो परियोजना सम्पन्न गर्न चीनलाई चार महिना पनि लाग्दैन । भारतलाई एकाध वर्ष लाग्दछ होला । त्यस्ता सक्षम र विराट सम्भावना युक्त मुलुकहरूका वीचको सानो मुलुकलाई यही शैलीको शासन र राजनीतिले धानिरहन सक्दछ ? आफैँले हस्ताक्षर गरेको, आफैँले अघि बढाएको, आफैँले अनुमोदन गरेको एउटा विकास परियोजना सम्वद्ध अनुदानलाई लिएर स्वयम् उक्त अनुदान र विकास परियोजना सम्बद्ध सवालमा यत्रो वितण्डा हुन्छ, सरकारले सहमति जनाएर हस्ताक्षर गरिसकेको विषयमा सरकार फेरि आफैँ प्रश्न माथि प्रश्न गरेर पत्र पठाउँछ ।स्वयम् प्रधानमन्त्रीलाई आफूले जनाएको प्रतिवद्धता पर्याप्त नहोला कि भन्ने लागेर, नपत्याउलान भन्ने लागेर अर्का पूर्व प्रधानमन्त्रीको समेत संयुक्त हस्ताक्षर सहित विदेशमा पत्राचार गर्दछन् । यसको मूल्यांकन र समीक्षा पनि त दुनियाँमा भइरहेकै होला । विदेशी राष्ट्रसँगको सवालमा नेपालको प्रधानमन्त्रीको प्रतिवद्धता र हस्ताक्षर पर्याप्त नहुने अवस्था आउनु भन्दा अर्को दुर्भाग्य के हुनसक्छ मुलुकका लागि ? द्वैध शासनको प्रमाण अर्को चाहिन्छ ? गठबन्धनको सरकार भनेर पन्छाउन सकिन्न यसलाई । गठबन्धनको सरकार जहाँ पनि हुन्छ , झन्डै तीन दशकदेखि त्यहीं भारतमा गठबन्धनकै सरकार छ । प्रान्तमा पनि छन् । अनि काम हुन्छ मुलुकमा ? विकास गर्न सकिन्छ ?

६. प्रष्ट छ, सरकारसँग सरकार संचालनको सामान्य विज्ञता पनि छैन । सरकारले सरकारको हुर्मत लिएको छ । मन्त्री किन हो ? कसरी मन्त्रालय चल्छ ? भन्ने विषयको बढी ज्ञान भएर होला भन्नु पर्यो–मन्त्रीहरू काम देखाउन सडकमा जुलुस लिएर हिँडेका छन् । स्वयम् राष्ट्र बैंकको भनाई र त्यसको निहितार्थ हेर्दा सरकारले अभूतपूर्व क्षमता प्रदर्शन नगरे र अवस्था यस्तै रहे अर्को छ–सात महिना पछि मुलुकसँग अत्यावश्यक बस्तु आयात गर्न विदेशी मुद्रा नहोला । मुलुकहरूले आफूसँग भए मध्येका योग्य अर्थविदलाई अर्थमन्त्रीमा नियुक्त गर्दछन् । नेहोरा गरेर, बिन्ती गरेर अर्थमन्त्री भैदिन अनुरोध गर्दछन् । डाक्टरले अनुहार हेरेरै, नाडी छामेरै रोगको अनुमान गरेर थप डाइग्नोसिस गर्छन् –गराउँछन् । त्यस्तै विज्ञ अर्थमन्त्री चाहिन्छ मुलुकलाई ।तर हामी !!! नेताको मुलुक भित्र–बाहिरको पैसाको कारोबार सजिलो मिलाइदिने अर्थमन्त्री खोज्छौँ ।

७. तर सरकार विज्ञहरूले चलाउनु पर्दछ । विज्ञहरूको सहयोगमा चलाउनु पर्दछ । विज्ञ नभए तयार गर्नु पर्दछ , लगानी गर्नु पर्दछ विज्ञतामा । नेपालमा विज्ञ नभए स्वतन्त्र विदेशी विज्ञको सहयोग लिनुपर्दछ । देश भएपछि देश देश जसरी चल्नु पर्दछ, चलाउनु पर्दछ । विश्वको भूराजनीतिक दवाव र तनावको लहर नेपालको साँधमा आइपुगेको छ । शासन संचालनमा भारत र चीनको भन्दा बढी क्षमता नेपालको खाँचो हो । सिङ्गापुर, ताइवान , इजरायल, दक्षिण कोरियाले जस्तै शासकीय र राष्ट्रिय क्षमता प्रदर्शन गर्नु पर्दछ — तिनले चीन र भारतको भन्दा मात्रै होइन, बेलायत र अमेरिकाको भन्दा पनि कुशल शासन दिएका छन् । त्यसैले आजको स्थितिमा छन् ।
मुलुक भित्र हिंसा द्वन्द्व र अशान्तिको मूल कारण शासकीय अक्षमता हो, आर्थिक गतिहीनता र भ्रष्टाचार हो । राजनीतिक अस्थिरता हो । देश देश जसरी चलेन भने हामी समेतले अनुमोदन गरेको, हामी समेत सदस्य रहेको राष्ट्र सङ्घ को विधान र व्यवस्था हेरे हुन्छ ।

प्रकाशित: २८ माघ २०७८, शुक्रबार ०५:२९

Leave a Reply