‘ए मेरो हजुर ४’को शीर्ष गीत सार्वजनिक

२९ माघ २०७८, शनिबार ०१:५५

काठमाडौं । यसवर्षको प्रतिक्षित सिनेमा ’ए मेरो हजुर ४’को शीर्ष गीत सार्वजनिक गरिएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको पहिलो गीत रिलिज गरिएको हो । शिव रेग्मी निर्देशित सिनेमा ‘ए मेरो हजुर’ को गीतको हुक लाइन ‘फूलको थुंगा हौकी’ लाई मिश्रण गरेर तयार गरिएको गीतमा गायक सुगम पोखरेल र गायिका अस्मिता अधिकारीको स्वर रहेको छ ।

रवि मल्लको शब्द रचना रहेको गीतमा कल्याण सिंहले संगीत भरेका छन् । नेपालको पर्यटकीय गन्तव्य शे–फोक्सुन्डोमा खिचिएको गीतको भिडियोमा सिनेमाका मुख्य अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापा फिचर्ड छन् । भिडियोमा उनीहरुको जोडीलाई जति सुन्दर तरिकाले प्रस्तुत गरिएको छ, शे–फोक्सुन्डोको मनोरम दृश्यले उस्तै मन लोभ्याउँछ । सञ्जय लामाको छायांकन तारिफ गर्न लायक छ । शे–फोक्सुन्डोमा छायांकन भएको ‘ए मेरो हजुर ४’ पहिलो सिनेमा हो ।

राजधानीमा आयोजित गीत रिलिज कार्यक्रममा झरना थापाले आफूले ‘ए मेरो हजुर’ को सिक्वेलमा साधारण लभस्टोरीलाई पस्किने गरेको बताइन् । निर्देशक थापाले अब सिनेमा ‘भागवत गीता’ पछि मात्र ‘ए मेरो हजुर ५’ निर्माण गर्ने पनि जानकारी दिएकी छन् । बैशाख १ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको सिनेमालाई सुहाना इन्टरटेनमेन्ट र सुनिल कुमार थापा प्रोडक्सनमा सुनिल कुमार थापाले निर्माण गरेका हुन् । यो उनको व्यानरमा निर्माण भएको आठौं सिनेमा हो ।

सिनेमाको कथा झरना थापाले लेखेका हुन् । पटकथा र संवादमा उनलाई स्व. निर्देशक छेतेन गुरुङ, मन्दीप गौतम, प्रतिक पौडेल, बाबुराम दाहाल, उपकार पाण्डे र माधव शर्माले सघाएका छन् । मित्र डि गुरुङको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी, उत्तम न्यौपानेको ब्याकग्राउन्ड स्कोर र हिमाल केसीको द्वन्द्व रहेको सिनेमामा अनमोल र सुहानाका अलवा सरोज खनाल, सलोन बस्नेत, निराजन प्रधान, रेयर राई, रवी कार्की, दुर्गेस थापा लगायतका कलाकारको अभिनय रहेको छ ।