झापाको दुहागढीस्थित मनषा थाइफुड्स उद्योगमा आगलागी

२९ माघ २०७८, शनिबार ०२:४६

झापा । झापाको मेचीनगर नगरपालिका १४ दुहागढीस्थित मनषा थाइफुड्स उद्योगमा आज बिहान आगलागी भएको छ । आगो अहिलेसम्म पनि निभाउन सकिएको छैन । नेपाल रेडक्रस सोसाइटीका जिल्ला अध्यक्ष लोकराज ढकालका अनुसार उद्योगमा बिहान चार बजे आगलागी भएको हो ।

आगो निभाउन झापा, मोरङ, इलाम र सुनसरीका १२ दमकल प्रयोग गरिएको छ । आगो अझै नियन्त्रणमा आइनसकेको ढकालले बताए । ठूलो संख्यामा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयबासी आगो निभाउन प्रयासरत छन् ।

विसं २०७५ मा रु एक अर्बको लगानीमा स्थापना भएको उक्त उद्योगले मगमग, अकबरेलगायत चाउचाउ उत्पादन गर्दै आएको थियो । उद्योगका प्रबन्ध निर्देशक बुद्धि घिमिरेले आगलागीबाट उद्योगमा रहेका सबै सामान जलेर नष्ट भएको जानकारी दिए । बिहानीपखमा आगो लागेकाले मानवीय क्षति भने नभएको उनले बताए ।