No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

अनि कुरा कसरी मिल्छ ?

0

हरिप्रसाद रिमाल ।

१. आफ्नो कुरामात्र सत्य हो । आफूले गर्न लागेका वा गरेका काममात्र ठीक हुन्, आफ्ना विचार र सिद्धान्तमात्र सही हुन्, अरुका विचार र सिद्धान्त गलत हुन् र अरुका कुरा मिथ्या हुन् भन्ने भ्रम अहिले घर परिवारदेखि समुदाय, समाज र राष्ट्रसम्म फैलिरहेको स्थिति छ । जुनसुकै बादलमा चाँदीको घेरा हुन्छ भनेझै सकारात्मक धेय र कुृनै पनि सिद्धान्त, विचार र अभिव्यक्तिमा केही न केही राम्रा कुरा त हुन्छन् नै । तर ती राम्रा कुरा, सिद्धान्त र विचारलाई पनि महत्व नदिने परिवेश फैलँदै गएको छ । त्यसैले त जताततै कुरा मिलिरहेको छैन । अझ आफ्ना कुरा, सिद्धान्त र विचारमा अरूलाई तर्कसम्म गर्न नदिएर, विचारसम्म अभिव्यक्त गर्ने छुट नदिएर मानिसहरू मपाइँवादको प्रचार गरिरहेका छन् । त्यसैले त ठाउँ ठाउँमा मनोमालिन्य अन्तर्विरोध, कलह र अशान्ति मच्चिरहेको छ ।

२.सर्वप्रथम घरकै कुरा गरौँ न ! कतिपय घरहरूमा श्रीमान् श्रीमतीको कुृरा सुन्दैनन्, आफ्नै ढिपी अघिसार्छन् सधैँभरि । ‘आफूले जे भन्यो त्यो कुरा मात्र सही र लागू गर्न योग्य’ ठान्छन् उनी । त्यसमा श्रीमतीलाई अलिकति आफ्नो विचार राख्नेसम्म छुट दिंदैनन् झम्टी हाल्छन् उनी । उता श्रीमती पनि ‘श्रीमान्को कुरा, अमिल्दो, अव्यवहारिक र असत्य अनि हुनै नसक्ने बकम्फुसे’ ठान्छिन्, उनको जिद्दी हुन्छ ‘आफूले जे भन्यो त्यो सही हो र त्यसै अनुसार सबै कुृरा हुनुपर्छ ।’ यिनै कुरालाई लिएर लोग्ने—स्वास्नीमा ठास्सटुस्स शुरु हुन्छ र कहिलेकाहीँ त चर्कै झगडा पनि पर्ला पर्लाजस्तो हुन्छ ।

यसरी नै कतिपय घरमा बाबु—आमाले भनेको छोराछोरी मान्दैनन् । उनीहरू बाबु—आमाका राम्रा र मननयोग्य कुरालाई पनि Outdated ठान्दछन् । छोरो बाबु—आमाको कुरा सुन्न चाहँदैन । ऊ ठान्दछ—‘यी मेरा बाबु—आमा कुरै बुझ्दैनन् ।’ छोरी आफू खुशी गरेर हिढ्छे, । बाबु—आमाको वास्तै गर्दिन । बुहारी छोरोलाई एकोहोर्याएर हिँँडिरहेकीछ र सासू—ससुरालाई मान्छे नै गन्दिन । बुढा—बुढी पनि ‘आफ्नै कुरा मात्र ठीक’ भन्ने ठान्दछन् र साना—तिना कुरामा पनि कचकच गरिरहन्छन् । त्यसो भएपछि कुरा कसरी मिल्छ ? त्यस्तो भएपछि घरमा कुरा मिल्दैन । सानो र सुन्दर घर—परिवार पनि विग्रहको कालो दहमा डुब्ने त होइन भन्ने भय पैदा हुन्छ ।

३. देशमा नै पनि कुरा मिल्दैन । सत्तामा बसेकाहरू प्रतिपक्षीलाई मान्छे गन्दैनन् । प्रतिपक्षी सत्तासीनहरूका कुरा सुन्नै चाहँदैनन् । सत्तासीन र प्रतिपक्षीहरू आआफ्नै हठ र अहं देखाएर हिढ्छन् भने कुरा कसरी मिल्छ ? एकाथरी भन्छन् ‘स्थानीय निकायको निर्वाचन यथासमयमा गर्नुपर्छ,’ अर्काथरी निर्वाचन सार्ने बहाना खोजिरहेका छन् । यस्तो भएपछि कुरा कसरी मिल्छ ? ‘MCC देशका निम्ति अपरिहार्य’ भन्छन् एकाथरी भने अर्काथरी ‘त्यो राष्ट्रघाती परियोजना हो र त्यसलाई स्वीकार गरिनुहुन्न’ भन्ने ठान्दछन् ।

४. कुरा मिल्न दुबैथरीले एक अर्काको कुरा सुन्नुपर्छ, एक अर्कामा संवाद बारम्बार हुनुपर्छ । एक पटकको वार्ता असफल भए पुनः पुनः वार्ता गर्नुपर्छ र पक्ष—विपक्षले असल र राम्रा कुरा अरुको पनि सुन्ने गर्नुपर्छ । जोसुकैले दिएको पनि उचित राय—सल्लाह मान्नुपर्छ । कुरा मिल्न अलिकति त्याग पनि गर्न सक्नुपर्छ । लोभदेखि माथि उठेर सबैको हित हुने असल विचारको बिरुवा आफूभित्र उमार्न र हुर्काउन सक्नुपर्छ । त्यसो भए कुरा मिल्छ होइन भने कुरा मिल्न सक्तैन ।

५.अहिले यस देशमा सत्तासीनहरू र प्रतिपक्षीका बीच मात्र होइन कि पार्टीभित्रै पनि कुरा मिलिरहेको छैन । सत्तासीन दलभित्रै पनि सत्तामा बसेका र नबसेका बीच कुरा मिल्न सकिरहेको छैन । सत्तासीनहरू सत्ताबाहिर बसेकाहरूको कुरा सुन्दैनन् र उनीहरूलाई मान्छे गन्दैनन् । सत्तासीन दलकै पनि सत्ताबाहिर परेका नेता र कार्यकर्ता आफुहरू हेपिएको, आफ्नो कुनै भाउ नभएको र अपमानित हुनुपरेको अनुभव गर्छन् । त्यसो भएपछि दुई थरीका बीच मनमुटाब पैदा हुन्छ । त्यस्तो स्थितिमा कुरा कसरी मिल्छ ? कुरा मिल्न अरुको पनि कुरा सुन्नुपर्छ । आफूले जे आँट्यो त्यो गरेरै छोड्ने, आफ्नो आँट लागू गर्न पेलेरै पनि जाने भएपछि कुरा कसरी मिल्छ ?अहिले कतिपय घर—परिवारमा र देशमै पनि यस्तै कुरा नमिलेको अवस्था दृष्टिगोचर भैरहको छ, अनुभव गरिरहनुपरेको स्थिति छ ।

प्रकाशित: २९ माघ २०७८, शनिबार ०४:२३

Leave a Reply