नेपाली नेताहरुमाथि अमेरिकी दबाब राष्ट्रिय स्वाधीनतामाथिको ठाडो हस्तक्षेपः मोहन वैद्य

२९ माघ २०७८, शनिबार ०६:३०

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) ले एमसीसी परियोजना अनुमोदन गर्न अमेरिकाले नेताहरूलाई दबाब दिनु एउटा सार्वभौम देशको राष्ट्रिय स्वाधीनतामाथिको ठाडो र नाङ्गो हस्तक्षेप भएको बताएको छ ।

शनिबार विज्ञप्ति जारी गरी महासचिव मोहन वैद्यले एमसीसी अनुमोदनका लागि अमेरिकाले दबाब दिनु राष्ट्रिय स्वाधीनतामाथिको ठाडो हस्तक्षेप भएको बताएका हुन् ।

उनले भनेका छन्, ‘अमेरिकी साम्राज्यवादी शासक वर्गले हिन्द–प्रशान्त रणनीति अन्तर्गतको एमसीसी परियोजनालाई नेपालको संसद्बाट अनुमोदन गराउन चर्को दबाब दिँदै आएको छ । त्यसले मात्र नपुगी अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले पुनः अस्ति माघ २७ गते नेपाली काँग्रेसका सभापति तथा गठबन्धन सरकारका वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रत्यक्ष फोनबाट तोकिएको सीमाभित्र एमसीसी परियोजना संसद्बाट अनुमोदन गर्नु पर्ने र सो नगरे चीनको दबाबका कारण अनुमोदन हुन नसकेको भनी बुझ्ने भनेर शीर्ष नेताहरूलाई धम्क्याइएको कुरा अमेरिकी साम्राज्यवादको दादागिरी र एउटा सार्वभौम देशको राष्ट्रिय स्वाधीनतामाथिको ठाडो र नाङ्गो हस्तक्षेप हो ।’

वैद्यले अमेरिकी साम्राज्यवादको यस प्रकारको प्रत्यक्ष हस्तक्षेप हुँदा पनि त्यसको प्रतिवाद गर्नुको साटो नेपाली काँग्रेससको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले एकमतले एमसीसी परियोजनालाई अनुमोदन गर्ने निर्णय गर्नुका लज्जास्पद भएको बताए ।

उनले अमेरिकी साम्राज्यवादको यस प्रकारको प्रत्यक्ष हस्तक्षेपको भर्त्सना र विरोध गरेका छन् । एमसीसी परियोजनालाई खारेज गराउन र देशको सार्वभौमिकताको रक्षा गर्नका लागि सबै क्षेत्रबाट आवाज बुलन्द गर्नुका साथै सङ्घर्ष अगाडि बढाउन उनले अपील गरेका छन् ।