No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

खेलकुदमा धेरै पदक प्राप्त गर्न आवधिक कार्ययोजना बनाउँदै मन्त्रालय

0

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले अन्तर्राष्ट्रिय खेलकुदमा आगामी दिनमा धेरै पदक प्राप्त गर्न आवधिक कार्ययोजना बनाएर काम गर्ने भएको छ । नेपालले हालसम्म प्राप्त गरेका पदकका आधारमा सम्भावित खेल विधाबाट कहिलेसम्म पदक प्राप्त गर्ने ठोस लक्ष्य निर्धारणसहित मन्त्रालयले कार्ययोजनाको तयारी गरेको छ ।

मन्त्रालयका सचिव डा दामोदर रेग्मीले कुन खेलबाट कहिलेसम्म पदक हासिल गर्न सकिन्छ त्यसको स्तरण निर्धारणसहित आवधिक कार्ययोजना ल्याइने जानकारी दिए । नेपालले अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिएको लगभग छ दशक भइसकेको छ । नेपालले सन् १९५१ देखि एशियाली, सन् १९६४ देखि ओलम्पिक र सन् १९८४ देखि दक्षिण एशियाली खेलकुद प्रतियोगितामा भाग लिँदै आएको छ ।

अन्तर्राष्टिय प्रतियोगितामा नेपालले आजसम्म ओलम्पिक प्रतियोगितामा १३, एशियाली खेलकुदमा १८ र दक्षिण एशियाली खेलकुद (साग)मा १३ पटक सहभागी भई २०८ वटा पदक प्राप्त गरेको छ । एशियाली गेम्समा नेपालले बक्सिङ, तेक्वान्दो, कराते, प्याराग्लाइडिङमा रजत र कास्य गरी २४ पदक प्राप्त गरेको तथ्याङले देखाएको छ ।

राष्ट्रिय खेलकुद परिषद्का अनुसार विसं २०७७ सम्म अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता नेपाली खेलाडीको सङ्ख्या एक हजार ८६० छ । सचिव रेग्मीका अनुसार अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितमा नेपालले पदक प्राप्त गरेका खेल विधा करिब ३० छन् । विगतका अनुभव र अभ्यासका आधारमा मन्त्रालयले अन्तर्राष्ट्रिय प्रतियोगितमा पदकको बढी सम्भावनायुक्त र अली बढी मेहेनतको खाँचो रहेको खेल विधाको यकिन गरी कार्ययोजना तयारी गर्दैछ ।

दक्षिण एशियाली खेलकुदमा नेपालले कराते, गल्फ, टेबल टेनिस, कुस्ती, साइक्लिङ, एथेलेटिक्स, आर्चरी, महिला वीचभलिबल र भलिबल, पौडी, टेनिस, फुटबल, महिला फुटबल, जुडो, तेक्वान्दो र क्रिकेटमा पदक हासिल गरिसकेको छ । महिला क्रिकेट, महिला र पुरुष खोःखोे, महिला हयाण्डबल, महिला कवड्डी, व्याडमिन्टन, ट्रायथलन, भारत्तोलन, बक्सिङ र फेन्सिङमा नेपालको खेल गौरव गर्न लायक नै छ ।

एशियाली खेलकुद प्रतियोगितामा नेपालले बक्सिङ, तेक्वान्दो, कराते, प्याराग्लाइडिङमा पदक प्राप्त गरिसकेको छ । विश्वको सबैभन्दा ठूलो प्रतियोगितामा ओलम्पिक प्रतियोगितामा नेपालका तर्फबाट एथलेक्टिस, बक्सिङ, जुडो र पौडी विधाले प्राथमिकता पाउँदै आएको छ ।

अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले सबै विधामा पदकको सुनिश्चित नभई आक्कलझुक्कलरूपमा पदक पाएको तथ्याङ्क छ । टेबल–टेनिस, बास्केटबल, वीचभलिबल, महिला भलिवल, टेनिस, स्वक्वास, पुरुष र महिला खोःखो नेपाली खेलाडीले अलि मेहेनत बढी गर्न पर्ने तर पदकको सम्भावना बोकेका खेल विधा हुन् ।

महिला ह्याण्डबल, कबड्डी, व्याडमिन्टन र हाइअल्टिच्युडमा पदक प्राप्तिका लागि नेपालका तर्फबाट थोरै प्रतिभा निखार गर्न सकिने खेल विधाका सूची हुन् । अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले पदक प्राप्त गर्न सबैभन्दा पहिलो आफ्नो नयाँ राष्ट्रिय रेकर्ड कायम गर्न जरुरी छ । सचिव रेग्मी भन्छन्, “सबैभन्दा पहिले राष्ट्रिय रेकर्ड तोड्न आवश्यक छ ।

आफ्नै रेकर्ड तोड्न नसकेपछि कसरी अर्काको रेकर्ड तोड्न सकिएला ! अबको तयारी भनेको पहिला राष्ट्रिय, अनि साग, एशियाली हुँदै ओलम्पिकमा पदक प्राप्तिको विषय आउँछ ।”

नेपालले आफ्नो रेकर्ड तोड्नासाथ सार्कमा मुलुकको खेलकुदस्तर राम्रो हुने र त्यसले एशियाली खेलकुदमा पदक हासिल गर्न ऊर्जा र प्रेरणा प्रदान गर्ने छ । खेलकुद विधालाई सशक्त र प्रभावकारी तुल्याउने उपयुक्त पूर्वाधार निर्माण, प्रतिभावान खेलाडी पहिचान र नियमित अभ्यास र प्रतियोगिता आवश्यक पर्छ । नेपालले आगामी एशियाली खेलकुदका लागि सागका स्वर्ण पदाधिकारी खेलाडी छनोट गरी नियमित तालिम र प्रशिक्षण चलाउँदै आएको छ ।

प्रकाशित: ३ फाल्गुन २०७८, मंगलवार ०५:४४

Leave a Reply