No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

रुसद्वारा पृथक्तावादीको नियन्त्रणमा रहेका दुई युक्रेनी क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता

0

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको पूर्वी भागमा रहेका दुईवटा पृथक्तावादी नियन्त्रित क्षेत्रलाई स्वतन्त्र राज्यको रूपमा मान्यता दिने बताएका छन् । स्वघोषित जनगणतन्त्र डोनेट्स्क र लुह्यान्सक रुसले समर्थन गरेका विद्रोहीका पकड क्षेत्र हुन् र उनीहरूले युक्रेनको सैन्य बलसँग सन् २०१४ देखि लडिरहेका छन् । रुसको पछिल्लो कदमले उक्त क्षेत्रमा शान्ति वार्ता समाप्त हुने सम्भावना देखिएको बताइएको छ ।

उक्त कदमले युक्रेनको पूर्वी क्षेत्रमा रुसी सेना प्रवेश गर्नका लागि आधार तय गर्न सक्ने विषयबारे पश्चिमा शक्तिहरू चिन्तित छन् । घोषणा लगत्तै पुटिनले एउटा आदेशमा हस्ताक्षर गरेका छन् जसमा रुसी सेनाले दुवै क्षेत्रमा शान्ति स्थापनाका लागि भूमिका निर्वाह गर्ने उल्लेख गरिएको छ ।

पुटिनले डोनेट्स्क र लुहान्सक प्राचीन रुसी क्षेत्र रहेको उल्लेख गर्दै युक्रेनको सरकारलाई विदेशी शक्तिहरूद्वारा नियन्त्रित कठपुतली शासन भनेका छन्। सम्बोधनका क्रममा उनले पश्चिमा राष्ट्रहरू र नेटोको चर्को आलोचना गरेका छन् । रुसी राष्ट्रपतिको पछिल्लो घोषणाको अन्तर्राष्ट्रिय रूपमा निन्दा भइरहेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनबाट छुट्टिन चाहेका क्षेत्रका मानिस लक्षित प्रतिबन्ध लगाउने आदेश जारी गर्ने ह्वाइट हाउसले जनाएको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुटेरस र युरोपेली सङ्घले रुसी कदमलाई अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लङ्घन बताएका छन् ।

प्रकाशित: १० फाल्गुन २०७८, मंगलवार ०३:०१

Leave a Reply