No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

कर्म ऊर्जा हो

0

डा. गोविन्दशरण उपाध्याय ।

मान्छेको रचनानै कर्म गर्न भएको हो । ज्ञान, कर्म र भक्ति तीनैमार्गको आरम्भ “कर्म“बाट हुन्छ । कर्म नगरी कुनै पनि व्यक्ति ज्ञानी, भक्त वा कर्मयोगी बन्न सक्दैन । मूलतः ज्ञान र कर्म – यी दुईप्रकारका अभिमुखिकरणका साथ कर्म गरिन्छ । यस्तो अभिमुखिकरण “निष्ठा“मा आधारित हुन्छ ।

निष्ठाको अर्थ हो – कुनै पनि कर्म वा लक्षप्रति चुर्लुम्म डुब्नु । संसारका असंख्य मान्छेहरूको अभिमुखिकरण कर्म, समर्पण र ज्ञानतिर देखिन्छ । असलमा कर्म “ऊर्जा“ हो जसको उपयोग कर्मयोगी, ज्ञानी तथा भक्तिको लक्ष प्राप्त गर्नका लागि गरिन्छ । कर्म मनुष्यमात्रमा भएको “उर्जा“ हो जुन त्रिगुणका अनुसार व्यक्ति–व्यक्तिलाई ज्ञान, कर्म वा भक्तितिर उन्मुख पारेर लक्ष प्राप्त गर्न अभिप्रेरित गर्छ ।

यदि कसैले मूल प्रकृतिले निर्माण गरेको स्वाभाविक गुण वा व्यक्तित्वलाई वेवास्ता गरेर विपरित कार्यमा कर्मरूपी उर्जा खर्च गर्छ भने त्यस्तो व्यक्तिले गरेको कर्मफल देखिए पनि स्वाभाविक हुँदैन । गीताको तेस्रो अध्यायमा अर्जुनले श्रीकृष्णलाई “यदि ज्ञानी बन्नुनै सबैभन्दा श्रेष्ठ कर्म हो भने मलाई युद्धजस्तो भयानक कर्मका लागि किन उत्प्रेरित गर्नुहुन्छ ? भने निर्दोष पूरक प्रश्न गर्दा श्रीकृष्णले दिएका उपदेशको अंश हो माथिल्लो भनाई ।

असलमा, आफ्नो मूलगुण ( -Orientation) विरुद्ध कर्म गर्नु मिथ्याचार हो । प्रयास गर्दा हरेक मान्छेले आफ्ना कर्मइन्द्रियहरूका क्रियाकलापमा नियन्त्रण प्राप्त गर्न सक्छ तर उनको मन तथा बुद्धिले संसारिक सुखको लागि निरन्तर वैकल्पिक उपायहरू अवलम्बन गर्छ । कर्म इन्द्रियहरूलाई नियन्त्रण गर्दैमा मनले विषयवासना खोज्दैन भन्नु गलत हो । यदि मनले विषयवासनाको चाहना गर्छ भने इन्द्रियहरूको उपयोग नगर्दैमा “विषयमुक्त“ भन्न मिल्दैन ।

कर्मइन्द्रियका क्रियाकलापलाई नियन्त्रण गरेर यदि कसैले आफ्नो मूलगुण विरुद्ध सन्यास लिन्छ भने त्यो “मिथ्याचार“ हुन्छ किनभने सम्बधित व्यक्तिले इन्द्रियहरूलाई नियन्त्रित गरेर मनले विषयहरूको उपयोग गर्दैछ । वास्तवमा कर्म र मन यी दूवैमा पूर्ण नियन्त्रण सहित कर्म गर्नु नै सही निर्णय हुन्छ तर शरीरको निरन्तरताका लागि कर्म गर्नैपर्छ ।

भौतिक शरीरका लागि “भौतिक आवश्यकता“हरूको आपूर्ति गर्नैपर्छ । शरीरलाई वेवास्था गर्नु प्रकृतिविरुद्धको निर्णय हो । त्यसैले हरेक व्यक्तिले शरीर रक्षालाई प्राथमिकता दिएर कर्म गर्नुपर्छ तर कर्मप्रति आसक्त हुनुहुँदैन । आजका मान्छेहरूले “कर्मप्रति आसक्ति हुनुहुँदैन“ भन्ने बुझाईको सम्मान गर्दैनन् । इन्द्रिय र इन्द्रियानुभवलाई सबैभन्दा महत्व दिनेहरू सधैं मानसिक तथा भौतिक तनावमा हुन्छन् । त्यसैले हरेक व्यक्तिले त्रिगुणद्वारा जन्मसिद्ध रूपमा स्थापित आफ्नो मूल स्वभावअनुसारनै कर्म गर्नुपर्छ ।

जव व्यक्तिले कर्म गर्नुनै छ भने शास्त्रीयविधि र निर्देशनअनुसार कर्म गर्दा त्यही कर्म “यज्ञ“मा रुपान्तरित हुन्छ । आजका व्यक्तिहरूले “शास्त्रको निर्देशअनुसार कर्म गर“ भन्दा अन्धविश्वासी भनेर अश्रद्धा गर्नेछन् तर हजारौं वर्षदेखि ऋषिमुनि र मनुष्यक पूर्वजहरूले जीवन सरल र सहज बनाउन स्थापित र आरम्भ गरेका नैतिक, सामाजिक, सांस्कृतिक तथा धार्मिक नियमहरूनै शास्त्र हुन् । वैदिकहरूले वेद र वेदमा आश्रित शास्त्रहरूको आदेश तथा निर्देशअनुसार कर्म गर्नुपर्छ । यस्तो “कर्म“ यज्ञ हुन्छ ।

शास्त्रीय निर्देशअनुसार कर्म गर्नु “यज्ञ“ गर्नु हो भने यज्ञले सधैं कर्मबन्धनबाट मुक्त हुन बाटो खोल्छ । जवसम्म मनुष्यमा उर्जारूप कर्म छ, तवसम्म हरेक मान्छे कर्म, अकर्म र विकर्म गर्न बाध्य छ । शास्त्रीय निर्देशनअनुसार कर्म गर्दा “कर्मको ऊर्जा“ क्षय हुन्छ र मोक्ष, भगवानको सान्निध्य वा सत्यआदि लोकहरूको अभिप्राप्ति हुन्छ । कर्मलाई ज्ञानप्राप्त गर्न प्रयोग गर्नेहरूले ब्रह्मैक्यता, कर्मलाई समर्पणमा उपयोग गर्नेले भगवान्को निकटता र कर्मलाई कर्मयोगको अभिप्राप्तिका लागि प्रयोग गर्नेले उच्चतरलोकहरू प्राप्त गर्छन् ।

त्यसैले प्रकृतिद्वारा पुर्वनिर्धारित स्वभावअनुसार कर्म गर्नेले आफ्नो ऊर्जालाई आफ्नै प्रकृतिअनुसार उपयोग गरिरहेका हुन्छन् र त्यसैबाट मोक्षको लक्ष प्राप्त गर्छन् । यो भौतिक संसारमा शरीरको स्वास्थ्य सुनिश्चित गर्न पनि कर्म गर्नैपर्छ तेसैले हे अर्जुन ! तिमीले प्रकृतिले पूर्वनिर्धारित गरेको मूल व्यक्तित्वअनुसार नै कर्म गर । प्रकृति विरुद्ध कर्म गर्ने सोच नगर (गीता–३÷८)

कर्म ऊर्जा हो तेसैले कर्म प्राकृतिक बाध्यता हो । महान् योगी, महान् ज्ञानी र महान् भक्तको आरम्भ “कर्म“बाट नै हुन्छ । भौतिक आवश्कता पनि कर्मबाटनै पूर्ति हुन्छन् । शास्त्रीय निर्देशअनुसार कर्म गर्दा सामान्य कर्म पनि सुख, सन्तोष तथा मोक्ष प्राप्त गर्ने “यज्ञ“ बन्छ । अब उर्जारूप कर्मलाई यज्ञका रूपमा उपयोग गरेर मोक्ष प्राप्त गर्ने कि मनमुखी कर्म गरेर सधैं “तनाव“पूर्ण जीवन बाँच्ने – हरेक व्यक्ति आफ्नो लागि निर्णय गर्न स्वतन्त्र छ ।

भौतिक शरीरको सुरक्षाका लागि इन्द्रियानुभव जन्य कर्महरू उपयोगी हुन्छन् र शरीरको हेरचाह गर्ने कर्महरू सुनिश्चित गरिनुपर्छ तर इन्द्रियानुभवलाई दमन गरेर ती इन्द्रियबाट प्राप्त हुने विषयहरूको स्वाद मनले लिनु पाप हो । इन्द्रिय र मन दूवैले विषयहरूको स्वादको आसक्तिबाट मुक्त हुनुपर्छ । नत्र “मुखमा रामराम बगलीमा खुकुरी“को उखान चरितार्थ हुन्छ ।

कर्म गरौँ किनभने कर्म जीवन संचालन गर्ने ऊर्जा हो तर आफुले गरिरहेको कर्म आफ्नो मूलप्रकृति, स्वभाव, शीप र व्यक्तित्व अनुरुप छ र शास्त्रीय निर्देशन विरुद्ध छैन भन्ने सुनिश्चित गरौँ । आफ्नो मूलगुण र शास्त्रीय निर्देशन अनुसार गरिने कर्म “यज्ञ“ हुन्छ भने यज्ञले भौतिक उन्नतिका साथै मानसिक तथा आध्यात्मिक शान्ति, पूर्णता र सुखको प्रत्याभूति दिन्छ ।

बाटो कुन् हिड्ने, कसरी हिड्ने र कोसँग हिड्ने ? निर्णय भने आफ्नै हुन्छ ।

प्रकाशित: ११ फाल्गुन २०७८, बुधबार ०४:०७

Leave a Reply