No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

युक्रेन आक्रमणको विरोधमा रुसमा प्रदर्शन

0

युक्रेनमाथि रुसले आक्रमण गरिरहँदा त्यसको विरोधमा रुसकै हजारौँ नागरिक सडकमा ओर्लिएका छन् । राजधानी मस्को, सेन्ट पिटर्सबर्गलगायत कैयौँ शहरमा भएका प्रदर्शनहरूका क्रममा अहिलेसम्म १७ सय जनालाई पक्राउ गरिएको छ । रुसले युक्रेनका विभिन्न क्षेत्रमा सैन्य आक्रमण गर्न थालेको शुक्रवार दोस्रो दिन हो ।

विपक्षीहरूका प्रदर्शनका क्रममा हुने गिरफ्तारीबारे सूचना राख्ने समूह ओभीडी इन्फोका अनुसार मस्कोमा ९०० जना र सेन्ट पिटर्सबर्गमा ४०० जना पक्राउ परेका छन् । युद्धविरोधी नाराहरू लेखिएका प्लेकार्डसहित हजारौँ मानिस सडकमा रहेको सामाजिक सञ्जालमा राखिएका पोस्टमा देखिन्छ । रुसी शहरहरूमा बाहेक विश्वका अन्य कैयौँ शहरमा पनि युद्धको विरोधमा प्रदर्शन गरेका छन् ।

सयौँ प्रदर्शनकारीले न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि रुसी नियोगको कार्यालयअगाडि विरोध जनाएका छन् । युद्ध चर्किदै गएसँगै युक्रेनमा रात्रिकालीन कर्फ्यु लागू गरिएको छ। युक्रेनका विभिन्न भागमा रुसी सेना तीव्र गतिमा अघि बढिरहेका विवरण प्राप्त भएका छन् । त्यहाँ गोलाबारी, विस्फोट अनि हवाई हमला भएको छ। एउटा हवाई अखडामा रुस र युक्रेनी सेनाबीच भिडन्त भएको बताइएको छ ।

रुसी सेनाले नियन्त्रणमा लिएको भनिएको उक्त हवाई अखडा पुनः आफ्नो नियन्त्रणमा लिएको युक्रेनले दाबी गरेको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफूहरूले लड्न जारी राख्ने बताएका छन् । उनका अनुसार हालसम्म सेना र सर्वसाधारण गरी १३७ युक्रेनी नागरिकले ज्यान गुमाएका छन् ।

युद्ध चर्कँदै गएसँगै युक्रेनले आमरूपमा सेना परिचालन गर्ने घोषणा गरेको छ। देशवासीलाई राष्ट्रको रक्षा गर्न आग्रह गरिएको छ । यसैबीच, पश्चिमा राष्ट्रहरूले रुसमाथि थप आर्थिक प्रतिबन्धहरूको घोषणा गरेका छन्। रुसका ब्याङ्क अनि उच्च अधिकारीहरूमाथि प्रतिबन्ध लगाइने उनीहरूले बताएका छन् । तर उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटोका सदस्य राष्ट्रहरूले युक्रेनमा सेना भने नपठाउने बताएका छन् ।

यसैबीच, अमेरिकाले युरोपमा सात हजार थप सैनिक पठाउने भएको छ । जर्मनीमा पठाउन लागिएको अमेरिकी सैन्य बलले युरोपस्थित नेटोका सदस्य राष्ट्रहरूलाई प्रत्याभूति दिलाउने अमेरिकी भनाइ छ । संयुक्त राष्ट्रसङ्घले एक लाखभन्दा बढी मानिसले युक्रेन छोडिसकेको अनुमान गरेको छ ।

प्रकाशित: १३ फाल्गुन २०७८, शुक्रबार ०३:४२

Leave a Reply