No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

लोकतन्त्र र संविधान नै खतारामा जाने अवस्था बनेपछि एमसीसीमा सहमतिः प्रचण्ड

0

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग परियोजना(एमसीसी) प्रतिनिधिसभाबाट अनुमोदन भएकोमा गर्व गर्नुपर्ने बताएका छन् । सोमबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले संसदबाट एमसीसी अनुमोदन हुँदा नेपाली समाज विभाजित हुनबाट बचेको बताएका हुन् ।

उनले भने, ‘केही साथीहरु व्याख्यात्मक टिप्पणीलाई कागजको खोस्टो हो भन्नुहुन्छ । तर होइन नेपाली समाज विभाजित हुनबाट बचेको छ । गर्व गर्नुपर्छ हामीले । राष्ट्रिय स्वभाभिमानलाई स्वतन्त्र अडान स्थापित भएको छ ।’ उनले एमसीसी सम्झौता अनुमोदन नहुँदा शान्ति सम्झौता पनि दुर्घटनामा पर्ने खतरा, संविधान डिरेल हुने खतरा, गठबन्धन टुट्ने खतरा रहेको बताए ।

उनले भने,‘अर्को सरकार आउने मात्र थिएन धेरै चीज उल्टिने खतरा थियो । अब गठबन्धन अघि बढ्छ । सरकार चुनावमा केन्द्रित हुन्छ।’ उनले एमसीसीलाई संसदबाट संकल्प प्रस्ताव पारित गर्ने तत्कालीन नेकपाको सरकारमा नै प्रस्ताव गरेको तर त्यो बेला तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गरेको आरोप लगाएका छन् ।

उनले भने,‘पोहोरसाल नै व्याख्यात्मक टिप्पणीबारे सोचेको थिएँ । सार्कका पूर्वमहासचिव डा. अर्जुनबहादुर थापासँग यसबारे छलफल गरें । सन्धिका बारेमा भियना कन्भेन्सन अनुसार एउटा पक्षले आधिकारिक व्याख्यात्मक घोषणा गरेको कानुनी मान्यता हुन्छ । अर्को पक्ष मान्नुपर्छ भन्ने कुरा रहेछ । उहाँले यस्तो बताएपछि उज्यालोतिर गयो । कानुनविदसँग पनि कुरा भयो । गोविन्द बन्दीले पनि यो बाटो छ भनेर विस्तारपूर्वक बताउनुभयो । त्यही क्रममा गगन थापाहरु पनि यसैमा लागेको थाहा पाइयो । घोषणासहित गर्दा महाकालीमा जस्तो नहुने रहेछ भन्ने भयो र मलाई एकजना विद्धान कानुन व्यवसायी सुर्यप्रसाद सुवेदीले मलाई एउटा चीठी दिनुभयो र त्यसबाट ठूलो मनोबल दियो । उहाँले दिएको चार पेजको चीठीले एमसीसी निकास दिने कुरा कानुनीरुपमा छर्लंग भएको छ ।’ अध्यक्ष प्रचण्डले यी सबै कुरा हेरेपछि पार्टीमा दायाँबायाँ गर्नुहुँदैन भनेर अनुमोदन गर्ने निर्णय गरेको बताए । उनले भने,‘यो भएपछि हाम्रो पार्टीमा दायाँबायाँ गर्नुहुँदैन र देशलाई दुर्घटनामा जान दिनु हुँदैन भनेर निर्णय गर्यौं ।’

उनले पार्टीका नेता नारायणकाजी श्रेष्ठले एमसीसीका बारेमा मतभेद पार्टीमा व्यवस्थित रुपमा राख्न सुझाव दिए । उनले फरक विचारको सम्मान गर्नेसमेत बताए । उनले एमसीसीको विरोध गर्दैमा जनतमत आफ्नो पक्षमा नआउने भएकाले त्यसमा ध्यान दिन उनले आग्रह गरे ।

उनले भने,‘नारायणकाजीले मतभेद राख्नु भएको छ । त्यसलाई सम्मान गरिन्छ । मैले पनि यो बाटो क्लियर नहुँदासम्म समस्या हुन्छ भनेकै हो । उहाँलाई लागेको छ यस्तो भनेपछि जनता म तिर आउँछन् भन्ने लागेको होला । केन्द्रीय समितिमा व्यवस्थित रुपमा राख्नुहोला । नत्र प्रेम सुवालले मुर्दावाद भनेर कति नारा लगाउनु भएको छ । उनकोमा सवै नेपाली जनता जानुपर्ने नि ? खै त गएका ?महाकालीमा विरोध गरेर वामदेव आधा नेता कार्यकर्ता लिएर जानुभयो तर चुनावमा भोट आयो शून्य ।’

प्रकाशित: १६ फाल्गुन २०७८, सोमबार १०:२८

Leave a Reply