No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

स्याउका बगैँचा व्यवस्थापन गर्दै जुम्लाका किसान

0

खलंगा । जुम्लाका कृषि प्राविधिक स्याउ किसानका बगैँचा व्यवस्थापन तथा बिरुवा काँटछाँट गर्न बगैँचामा पुगेका छन् । प्राविधिकले बगैँचामै पुगेर स्याउको उत्पादन वृद्धि गर्नका लागि बगैँचा व्यवस्थापन र काँटछाँट सम्बन्धी ज्ञान किसानलाई सिकाइरहेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याउ सुपर जोन कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख गङ्गा पोखरेलले किसानलाई प्रविधिक सीपमूलक तालिमसमेत दिएको बताइन् ।

उनले भनिन्, “स्याउ सुपरजोन कार्यालय जुम्लाले कार्य क्षेत्रभित्रका अधिकांश किसानको बगैँचामै पुगेर स्याउ बगैँचाको व्यवस्थापन गर्न सिकाउन थालेका छौँ । स्याउ किसानका बगैँचामै पुगेर काँटछाँट र व्यवस्थापनको व्यावहारिक अभ्यास गर्न थालिएको छ । बगैँचामै गएर अभ्यास गराउँदा किसान छिटो सिक्छन् । एकापसमा बगैँचाको व्यवस्थापनबारे अनुभव आदानप्रदान गर्छन् । गुणस्तरीय स्याउ उत्पादनका लागि जोड दिन्छन् । ”

बगैँचामै पुगेर व्यवस्थापन गर्दा किसानको समेत हौसला बढ्ने गरेको निमित्त कार्यालय प्रमुख पोखरेलले जानकारी दिइन् । यहाँको चन्दननाथ, तातोपानी, गुठीचौर र पातारासीका १० किसानको बगैँचामा स्याउ बगैँचा व्यवस्थापनको व्यावहारिक अभ्यास गरिएको हो । जुम्लासँगै कालीकोटको रासकोट र तिलागुफा नगरपालिकाका किसानको बगैँचामै कृषि प्राविधिक पुगेर सीप सिकाउन थालेका छन् । यो पटक कृषि प्राविधिकले ३७५ जना किसानलाई व्यवस्थापन र काँटछाँटको व्यावहारिक ज्ञान दिएका छन् । किसानलाई बगैँचामै बोलाएर व्यवस्थापन गर्न सिकाउँदा निकै लाभान्वित भएका छन् । बिरुवा लगाउनेदेखि काँटछाँट, मलखादको प्रयोग लगायतका विषयका किसानलाई सहजीकरण गर्ने गरिएको निमित्त प्रमुख पोखरेलले जानकारी दिइन् ।

प्रशिक्षक रामबहादुर खत्रीका अनुसार किसानले स्याउ लगाएपछि बिरुवाको हेरचाह र व्यवस्थापनमा ध्यान नदिँदा हुने हानिका विषयमा प्रविधिक तालिम दिएको बताउनुभयो । अहिले बगैँचामै पुगेर व्यवस्थापन तथा काँटछाँटको सीप सिकाउँदै आएका छौँ । किसान पनि निकै जागरुक भइसकेका छन् । बगैँचाभित्र देखिएको समस्याका बारेमा किसानले राय लिन्छन् ।

कृषि प्राविधिकले समस्या समाधानका लागि गर्नुपर्ने कार्यका बारेमा सुझाव दिने गरेको कृषि प्रविधिक बताउँछन् । कार्यालयबाट कृषि प्राविधिक बगैँचामै पुगेर सीप दिन थालेपछि यहाँका स्याउ किसान उत्साहित बनेको चन्दननाथ नगरपालिका–३ का स्याउ किसान बाटुली सार्कीले बताइन् । किसानको जीवनस्तरमा परिवर्तन ल्याउन सीप निकै प्रभावकारी हुने गरेको छ ।

स्याउ खेतीमा किसानको आकर्षणसमेत बढाउने गरेको छ । स्याउ व्यवस्थापन र काँटछाँट गर्न किसान आफँै परिपक्व भएमा सहज हुने जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाले बताइन् । स्याउ सुपरजोन परियोजना जुम्लामा लागू भएपछि स्याउ खेतीमा हुने हरेक समस्याका बारेमा किसानले सहजै रुपमा परामर्श लिन सक्ने स्याउ सुपर जोन कार्यालयले जनाएको छ ।

 

प्रकाशित: १७ फाल्गुन २०७८, मंगलवार ०७:१८

Leave a Reply