No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

किएभ टेलिभिजन टावरमाथि रुसी आक्रमण, पाँचजनाको मृत्यु

0

रुसी फौजले किएभ टेलिभिजन टावरमाथि आक्रमण गर्दा पाँचजना मारिएका छन् । रुसले युक्रेनमा अब ’लक्षित हमला’ गर्ने चेतावनी दिएकै दिन टेलिभिजन टावरमाथि प्रहार गरिएको हो । रुसी क्षेप्यास्त्र हमलामा अरू पाँचजना घाइते भएका छन् । आक्रमणपछि टेलिभिजनका केही प्रसारण रोकिन पुगेको जनाइएको छ ।

आक्रमणबाट टेलिभिजन टावरनजिकै रहेको यहुदी नरसंहारका पीडितहरूको सम्झनामा बनाइएको एउटा स्मारकमा समेत क्षति पुगेको छ । ठूलो विस्फोट भएको र टावरबाट धुवाँको मुस्लो निस्किरहेको भिडियो फुटेजमा देखिन्छ । आक्रमणले टेलिभिजन टावरलाई नै निशाना बनाएको वा नबनाएको विषयमा स्पष्ट हुन सकेको छैन ।

आक्रमणपश्चात् पनि ३८० मिटर अग्लो टावर ठडिइरहेकै अवस्थामा छ । हमलापछि सामाजिक सञ्जाल ट्विटरमार्फत् प्रतिक्रिया जनाउँदै युक्रेनी विदेश मन्त्रालयले रुसी अपराधीहरू आफ्नो बर्बरता देखाउन कतै पनि नरोकिने गरेको जनाएको छ ।

यसअघि युक्रेनी रक्षामन्त्री ओलेक्सी रेज्निकोभले रुसले सञ्चार सेवामा अवरोध उत्पन्न गराउने र युद्धमा युक्रेनको तर्फबाट आत्मसमर्पण गरिएको भन्ने मिथ्या खबर फैलाउने योजना बनाइरहेको बताएका थिए ।

यसैबीच युक्रेनी किएभस्थित एउटा गोप्य बङ्करबाट पश्चिमा सञ्चारमाध्यमसँग कुरा गर्दै राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेन अझै बलियो भएर लड्ने बताएका छन् । यद्यपि रुसविरुद्ध जारी लडाइँको सामना गर्न युक्रेन एक्लैलाई गाह्रो हुने उनले उल्लेख गरेका छन् ।

प्रकाशित: १८ फाल्गुन २०७८, बुधबार ०२:३७

Leave a Reply