No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

जुम्लाको सिञ्जा गाउँपालिकामा खस भाषामा पठनपाठन

0

जुम्ला । जुम्लाको सिञ्जा गाउँपालिकाले पालिकाभित्रका विद्यालयमा खस भाषामा पठनपाठन गर्ने भएको छ । गाउँपालिकाको नवौँ गाउँसभाले पालिकाभित्रका २२ विद्यालयमा कक्षा १ देखि ३ सम्म खस भाषाको पढाइ प्रारम्भ गर्ने निर्णय गरेको गाउँपालिकाका प्रवक्ता नवीन शर्माले बताए ।

उनले भने, “खस भाषा यहाँको पहिचान हो । नेपाली भाषाको केन्द्रविन्दु मानिएको सिञ्जामा खस भाषाको पाठ्यक्रम बनाएर पढाइ प्रारम्भ हुनु सुखद पक्ष हो । अब यहाँको इतिहास बालबालिकाले खस भाषामै पढ्न पाउनेछन ।” यहाँको आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यटन क्षेत्रको बयान पनि खस भाषामै गर्ने गाउँपालिका प्रवक्ता शर्माले बताए ।

खस भाषाको पाठ्यक्रम निर्माणले सिञ्जा क्षेत्रका स्थानीयवासी खुसी भएको गाउँपालिका अध्यक्ष देवलसिंह रावलले बताए । अब खस भाषाको पाठ्यक्रम निर्माणले खस भाषाको प्रवद्र्धन गर्ने विश्वास गाउँपालिकाले लिएको छ ।

नवौँ गाउँसभाले १५ शय्या अस्पताल निर्माणका लागि केन्द्र सरकारलाई आग्रह गर्ने, गाउँपालिकामा कार्यरत बालविकास केन्द्रका सहजकर्ताहरुको रोकिएको तलब निकासा गर्ने र तलब वृद्धि गर्ने निर्णयसमेत गरेको गाउँपालिका अध्यक्ष रावलले बताए । स्थानीय सरकार सञ्चालन भएदेखि न्यायिक समितिको माध्यमबाट गाउँमा हुने स–साना विवाद समाधान गर्न सफल भएको गाउँपालिकाका उपाध्यक्ष जन्मकन्य खत्रीले बताए ।

गरिबीको अन्त्य गर्न कृषि उत्पादनको क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर युवावर्गलाई कृषिमा आकर्षित गर्न र कृषिलाई आधुनिकीकरण गर्दै सहुलियत ऋणको व्यवस्था गर्ने नीति लिएर कार्यान्वयन भइसकेको गाउँपालिकाले जनाएको छ ।

 

प्रकाशित: १८ फाल्गुन २०७८, बुधबार ०७:५८

Leave a Reply