No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

युक्रेन-रुस युद्धका सम्भावित परिदृष्य

0

रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको दुई साता भएको छ । तर युद्धविराम हुने र युद्ध अन्त्य हुने अवस्था अझै देखिएको छैन । युद्धमा दुबै तर्फका गरी हजारौं मानिसको मृत्यु भइसकेको छ भने लाखौं अन्य मुलुकमा शरणार्थी भएका छन् । खासगरी युक्रेनीहरु युरोपेली मुलुकमा शरण लिइरहेका छन् । बीबीसीमा अनुसार अहिलेको परिदृश्यमा रुसले सैन्य गतिविधि बढाउँछ र युक्रेनमाथि अझै धेरै आक्रमण गर्छ । अहिलेसम्म ठूलो भूमिका नखेलेको रुसी वायुसेनाले घातक आक्रमण गर्ने आँकलन गरिएको छ ।

युक्रेनका महत्वपूर्ण पूर्वाधारहरूमा ठूलो साइबर आक्रमण हुन्छ । ऊर्जा वितरण र सञ्चार सञ्जाल काटिन्छन्। हजारौँ नागरिकको मृत्यु हुन्छ । साहसिक प्रतिरोधका बाबजुद किएभ केही दिनमै रुसी नियन्त्रणमा पुग्छ र युक्रेनमा रुस–समर्थित सरकार स्थापित हुन्छ । राष्ट्रपति जेलेन्स्की मारिन्छन् वा पश्चिम युक्रेन वा विदेश भागेर आफ्नो सरकार कायम गरेको दाबी गर्छन् । पुटिनले युक्रेनको सत्ता परिवर्तन गर्न र पश्चिमासँग मिल्नबाट रोक्न सक्ने अनुमान पनि गरिएको छ ।

तर रुस–समर्थित सरकार गैरकानुनी र विरोधको निसाना हुनेछ। यो परिदृश्यमा युक्रेन अस्थिर हुनेछ र पुनः सङ्घर्ष हुने सम्भावना उच्च हुनेछ । तर कतिपयले भने लामो युद्ध हुने सम्भावना रहेको बताएका छन् । किनकी लामो युद्ध भएमा रुसी सैनिकलाई युक्रेनको सडकमा भएका प्रतिरोधका कारण सहर कब्जा गर्न असहज हुनेछ । यस्तो अवस्थाले सन् १९९० को दशकमा रुसी सेनाले चेचन्याको राजधानी ग्रोन्जीलाई कब्जा र ध्वस्त गर्न लगाएको लामो र क्रूर सङ्घर्षको झझल्को दिनेछ ।

अनि रुसी सेना युक्रेनको सहरहरूमा उपस्थित भए पनि उनीहरूलाई नियन्त्रण कायम राखिराख्न गाह्रो हुनसक्छ। युक्रेनको सेना स्थानीय बासिन्दाको सहयोगप्राप्त विद्रोही हुन सक्छन् । उनीहरूलाई पश्चिमा देशहरूले हतियार दिइराख्नेछन् । तर सायद धेरै वर्षपछि मस्कोमा नयाँ नेतृत्व आएपछि रुसी सेनाले सन् १९८९ मा अफगानिस्तान छोडे जस्तै युक्रेन छोड्ने छन् ।

कतिपयले भने के यो युद्ध युक्रेनको सीमाबाहिर पुग्न सक्ने आँकलन पनि गरेका छन् । अथवा कुनै गल्तीले वा जानीजानी युरोपमा युद्ध सुरु हुनसक्छ । पुटिनले युक्रेनलाई हतियार दिने पश्चिमा देशहरूको कदमलाई आक्रमण भन्दै प्रतिरोध गर्नुपर्ने बताउन सक्छन्। उनले नेटोका सदस्य रहेका लिथूएनिआजस्ता देशमा सेना पठाउने धम्की दिन सक्छन् ।

यो परिदृश्य धेरै खतरनाक हुन्छ र नेटोसँग युद्धको जोखिममा हुन्छ । नेटोको सैन्य सहयोग चार्टरको दफा ५ का अनुसार कुनै एक सदस्यमाथिको आक्रमण सबैमाथिको आक्रमण हो । तर आफ्नो नेतृत्व बचाउने एक मात्र विकल्प त्यही भएको अवस्थामा पुटिनले यस्तो जोखिम मोल्न सक्छन् । पुटिनलाई युक्रेनमा हार्न लागेको महसुस भयो भने उनी जोखिम लिने मनस्थितिमा पुग्न सक्छन् । अहिलेसम्म थाहा भइसकेको कुरा के हो भने अन्तर्राष्ट्रिय मान्यताहरू तोड्न पुटिन सङ्कोच गर्दैनन्। त्यही कुरा परमाणुअस्त्रको विषयमा पनि लागु हुन्छ । अहिले दुई देशबीच युद्ध भएपनि संवाद नै समस्याको समाधान हो ।

दुई देशका अधिकारीहरुबीच पटक पटक वार्ता भएपनि निष्कर्ष भने निस्किएको छैन । यस्तो अवस्थामा सबैभन्दा महत्वपूर्ण प्रश्न पश्चिमाहरूले रुसलाई युद्ध रोक्ने खालको प्रस्ताव दिन सक्छन् कि सक्दैनन् भन्ने हो । रुसमाथिका प्रतिबन्ध हटाउन के चाहिन्छ भन्ने कुरा रुसी नेतृत्वलाई थाहा हुनु आवश्यक भएको कूटनीतिज्ञहरू बताउँछन् । कतिपयले भने चीनले युद्ध रोक्न रुसलाई दबाब दियो भने युद्ध रोकिन सक्छ । चीनले रुसलाई युद्ध नरोकेसम्म रुसबाट तेल र ग्यास नकिन्ने बतायो भने उसलाई ठूलो दबाब पर्न सक्छ ।

त्यस्तै युक्रेनको नेतृत्वले पनि देश विनाशभन्दा राजनीतिक सहमतिको बाटो रोज्न सक्छ। त्यस्तो अवस्थामा कूटनीतिज्ञहरूले सहमतिको प्रयास गर्नेछन् । मानौँ युक्रेनले क्राइमिया र डोन्बासका केही क्षेत्र रुसकै रहेको मान्न सक्छ अनि रुसले युक्रेनको स्वतन्त्रता र युरोपसँगको मित्रता मान्न सक्छ । यो अहिले सम्भव देखिन्न तर हिंसात्मक युद्धको अन्त्यमा यस्तो परिदृश्य पनि सम्भव हुनसक्छ ।

प्रकाशित: २८ फाल्गुन २०७८, शनिबार ०६:५०

Leave a Reply