No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

जुछे विचारधारा जनतामा केन्द्रित विचारधारा भएकोेले संसारका सबै देशको निम्ति उपयोगी

११० औँ किम इल सङ जयन्ती

0

काठमाडौँ, २१ चैत । कोरियाली जनताका महान् नेता किम इल सङको ११० औँ जन्म जयन्तीको अवसरमा आइतबार प्रवचन कार्यक्रम सम्पन्न भयो ।
कोरिया पुनः एकीकरण सहयोग समिति र कोरिया अध्ययन मण्डलको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले जनतामा जाने, जनताबाट सिक्ने र जनताको सेवा गर्ने भावना किम इल सङबाट सिक्नुपर्नेमा जोड दिनुभयो ।
प्रतिक्रियावादी सञ्चारमाध्यम र केही बुद्धिजीवीहरूले प्रजग कोरियाबारे गम्भीररूपमा अध्ययन नगरी हल्का र नकारात्मक टिप्पणी गर्ने गरेको प्रस्ट्याउँदै उहाँले प्रजग कोरियाबारे गहन अध्ययन गर्नुपर्ने बताउनुभयो ।
नेता इच्छाले होइन योग्यताले बन्ने कुरा प्रस्ट पार्दै अध्यक्ष बिजुक्छेँले नेतृत्व परिपक्व र अडानमा दृढ भए साना देशहरूले पनि साम्राज्यवादविरोधी आन्दोलनको नेतृत्व लिनसक्ने शिक्षा भियतनाम र कोरियाको अनुभवले हामीलाई सिकाउँछ भन्नुभयो ।
जुछे विचारधारा जनतामा केन्द्रित विचारधारा भएकोेले संसारका सबै देशको निम्ति उपयोगी हुने धारणा उहाँले राख्नुभयो ।
साना देशहरूले ठूला देशसँग भर नपरी आफ्नै खुट्टामा उभिएर आफ्नै स्रोत–साधनको बलमा अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले भन्नुभयो, “युक्रेन युद्ध संसारमा युद्ध भड्काएर हतियारको व्यापार गर्नु ठूला शक्ति राष्ट्रहरूको उद्देश्य रहेको प्रस्ट छ ।”
अध्यक्ष रोहितले भन्नुभयो, “कुनै पनि देशको विदेश नीति उक्त देशको आन्तरिक नीतिबाट निर्देशित हुन्छ । आफ्नो देशको जनतालाई दबाउने सरकारले विदेशका जनताको न्यायपूर्ण सङ्घर्षमा साथ दिन्छ भन्ने विश्वास गर्न सकिन्न ।”
“प्रजग कोरियाले ‘वार्ता वा युद्ध’ जस्तोसुकै परिस्थितिको निम्ति आफूलाई तयार पारेको छ । जुछे निर्देशित आत्मनिर्भर अर्थतन्त्र र विदेश नीतिविना त्यो सम्भव छैन”, उहाँले भन्नुभयो ।
प्रजग कोरियाले कोभिड–१९ को महामारीमा पनि आफूलाई उत्कृष्ट साबित गरेको अध्यक्ष बिजुक्छेँ बताउनुभयो ।
कार्यक्रमका विशेष अतिथि एवम् नेपालका निम्ति प्रजग कोरियाली राजदूत यो योङ्ग मानले किम इल सङ कोरियाली जनताका निम्ति मात्र होइन संसारकै मुक्तिको निम्ति लड्ने एक योद्धा भएको बताउनुभयो ।
किम इल सङको नेतृत्वमा कोरियामा वैचारिक, प्राविधिक र सांस्कृतिक क्रान्ति अगाडि बढेको बताउँदै उहाँले प्रजग कोरिया किम इल सङद्वारा प्रतिपादित जुछे विचारधाराको मार्गनिर्देशनमा अगाडि बढिरहेको बताउनुभयो ।
“हालै सम्पन्न पार्टी महाधिवेशनको भावनाअनुरूप ५० हजार कोरियाली परिवारको निम्ति घर–वासको व्यवस्था भइरहेको छ”, उहाँले भन्नुभयो ।
कार्यक्रमका सभापति एवम् कोरिया पुनः एकीकरण सहयोग समितिका अध्यक्ष तथा नेमकिपाका सचिव प्रेम सुवालले चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष माओ त्सेतुङले भन्नुभएको भनाइ स्मरण गर्दै भन्नुभयो, “राष्ट्रपति किम इल सङले विश्व क्रान्ति तथा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनलाई बाटो देखाउनुभएको थियो ।”
संसारका राष्ट्रपतिहरूमध्ये सबभन्दा परिपक्व र सम्मानित राजनेता किम इल सङ भएको क्युवाका नेता फिडेल क्यास्ट्रोको भनाइलाई पनि उहाँले स्मरण गर्नुभयो ।
सचिव सुवालले भन्नुभयो, “फ्रान्सको अखबार ले मोन्डेले लेखेको थियो –राष्ट्रपति किम इल सङ असंलग्न आन्दोलनका प्रमुख नेता हुनुहुन्थ्यो ।”
उहाँले भन्नुभयो, “प्रजग कोरियाले किम इल सङ, किम जङ इल र किम जङ उनको नेतृत्वमा साम्राज्यवादीहरूको नाकाबन्दीलाई पाइलापाइला कमजोर बनाएर आजको विकास गर्न सकेको हो । राष्ट्रपति किम इल सङले कोरियाली क्रान्तिको नेतृत्व गर्ने व्यावहारिक सङ्घर्षको क्रममा जुछे विचारधारा प्रतिपादन गर्नुभएको हो । यसको मूल सार जनता आफैँ क्रान्तिकारी सङ्घर्ष र निर्माणमा सामेल हुनु हो । मानिस संसारको मालिक हो र संसारको रूपान्तरणको निम्ति मानिसले नै निर्णायक भूमिका खेल्छ भन्ने वैज्ञानिक तत्वज्ञानमा आधारित जुछे विचारधारा हो । यसले जनतालाई आफ्नो भविष्य आफै बनाउन इतिहासको निर्णायक बाटो देखाउँछ ।”
नेमकिपाका केन्द्रीय सदस्य एवम् बाग्मती प्रदेशसभा सदस्य सृजना सैंजूले सोभियत सङ्घको विघटनपछि पुँजीवादीहरूले समाजवादको अन्त्य भएको हल्ला मच्चाइरहँदा किम इल सङले विश्वका श्रमिक र कम्युनिस्ट पार्टीहरूको साथमा ‘प्योङयाङ घोषणापत्र’ जारी गरी समाजवादको झन्डा उँचो फहराउनुभएको बताउनुभयो ।
स्रष्टा समाजका अध्यक्ष लक्ष्मण जोशीले शत्रुले विरोध गर्नु राम्रो कुरा भएको बताउनुभयो ।
नेमकिपाले प्रखर प्रतिपक्षको भूमिका खेलिरहेको बताउँदै उहाँले नेमकिपाले भक्तपुरलाई प्रजग कोरिया बनाउन लागेको शत्रुले प्रचार गर्ने गरेकोे बारे प्रस्ट पार्नुभयो ।
कोरिया अध्ययन मण्डलका अध्यक्ष राजेन्द्र चवालले स्वागत गर्नुभएको सो कार्यक्रममा नरेश खत्री र राजन ग्वाछाले पनि बोल्नुभएको थियो ।

प्रकाशित: २२ चैत्र २०७८, मंगलवार ११:४७

Leave a Reply