No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

रुसबाट ऊर्जा आयात नबढाउन मोदीलाई बाइडनको आग्रह

0

अमेरिकी राष्ट्रपति जो बाइडनले भारतले रुसबाट ऊर्जा आयात बढाउने कुरा दिल्लीको स्वार्थअनुकूल नभएको बताएका छन् । खासगरी सैन्य सामग्रीहरूको ठूलो आपूर्तिकर्ता रहेको अनि परम्परागत न्यानो सम्बन्ध रहेको कारण भारतले युक्रेन युद्धपश्चात् पनि रुसलाई चिढ्याउने गरी उसको निन्दा गरेको छैन ।

रुसविरुद्धका अन्तर्राष्ट्रिय आर्थिक प्रतिबन्धहरूमा पनि दिल्ली सामेल छैन । यसै पृष्ठभूमिमा सोमबार राष्ट्रपति बाइडन र प्रधानमन्त्री मोदीबीच एक घण्टा लामो भिडियो संवाद भएको थियो । संवादका क्रममा अमेरिकी राष्ट्रपतिले रुसी ऊर्जा आयात बढाउने विषय दिल्लीको स्वार्थअनुकूल नरहेको बारे मोदीलाई बताएको ह्वाइट हाउसले जनाएको छ ।

बरु बाइडनले ऊर्जा आयातमा विविधिकरण गर्न भारतलाई अमेरिकाले सहयोग गर्ने पनि बताएको ह्वाइट हाउसकी प्रवक्ताले बताइन् । मस्कोलाई लिएर अमेरिका र भारतको दृष्टिकोण फरक भएपनि उक्त सम्वाद रचनात्मक रहेको बताइएको छ ।

यसबीच वाशिङ्टन भ्रमणमा रहेका भारतीय विदेशमन्त्रीसँग आयोजित संयुक्त पत्रकार सम्मेलनका बेला अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले उस्तै सोचाइ भएका देशहरू रुसविरुद्ध एकताबद्ध हुनुपर्ने बताएका थिए । भारतीय प्रधानमन्त्री मोदीसँग सोमबार भएको कुराकानीमा युक्रेन युद्ध लगायत कोभिड सहयोग, विश्व अर्थतन्त्र अनि हिन्द प्रशान्त सुरक्षा मामिलाबारे छलफल भएको बताइएको छ ।

प्रकाशित: २९ चैत्र २०७८, मंगलवार ०२:५१

Leave a Reply