No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

पुटिनले युक्रेनमा जातीय नरसंहार गराएको बाइडनको आरोप

0

अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले जातीय नरसंहार गराएको आरोप लगाएका छन् । यसअघि उनले रुसलाई युद्ध अपराध गरेको बताएका थिए ।

बाइडनले सुरुमा उक्त टिप्पणी आयोवा राज्यमा बढ्दो इन्धन मूल्यसम्बन्धी नियन्त्रणका उपायहरू बताउने क्रममा गरेका थिए । त्यहाँ उनले अमेरिकी परिवारको बजेट र इन्धनको मूल्य तिर्ने क्षमता आधा संसार पर रहेको कुनै तानाशाहले छेडेको युद्ध र जातीय नरसंहारमा भर पर्न नहुने बताएका थिए ।

त्यसपछि उनले उक्त आरोपमा पुनः जोड दिँदै पुटिनले युक्रेनी हुनु नै अपराधझैँ गरेको र त्यो सोझै जातीय नरसंहार जस्तो आफूलाई लागेको बताए । आफ्नो टिप्पणीको व्याख्या गर्दै उनले आफूले नरसंहार भनेको र त्यो कुरा पुटिनका क्रियाकलापका कारण झन् झन् स्पष्ट हुँदै गएको पनि बताए । त्यसका निम्ति प्रमाणहरू पनि एकपछि अर्को प्राप्त हुँदै गएको उनले बताए ।

कानुनी रूपमा यस्ता कार्य के हुन् भन्ने निर्क्योल गर्ने जिम्मा वकिलहरूलाई दिइने तर सोझो रूपमा आफूलाई यो नरसंहार नै भएको लागेको बाइडनले बताए । यसअघि अमेरिकी राष्ट्रपतिले बुचा तथा अन्य नगरहरूमा सयौँ गैरसैनिकको हत्यापश्चात् रुसलाई युक्रेनमा युद्ध अपराध गरेको आरोप लगाएका थिए । रुसले युक्रेनमा गैरसैनिकलाई निसानामा पारेको अस्वीकार गर्दै आएको छ।

 

प्रकाशित: ३० चैत्र २०७८, बुधबार ०२:३१

Leave a Reply