No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

रुसको प्रमुख सैन्य पानीजहाजमा ठूलो क्षति

0

रुसको रक्षा मन्त्रालयले ब्ल्याक सी मा विष्फोटक पदार्थ भण्डारण गरी तैनाथ एउटा आफ्नो सैन्य पानीजहाजमा आगलागी र विस्फोटबाट नराम्ररी क्षति भएको जनाएको छ । उसले मस्क्भा अर्थात् मस्को नामक उक्त क्षेप्यास्त्र सहितको क्रुजरका चालकदलका सदस्यहरूलाई उद्धार गरिएको र आगलागीको कारणबारे अनुसन्धान भइरहेको बताएको छ ।

रुसी रक्षा मन्त्रालयले आगलागीको कारणबारे केही बताएको छैन । यसअघि एक युक्रेनी अधिकारीले उक्त सैनिक जहाजमा दुईवटा युक्रेनी क्षेप्यास्त्र लागेको बताएका थिए । युक्रेनमा बनेको नेप्च्युन क्षेप्यास्त्र उक्त सैनिक जहाजमाथि प्रहार गरिएको बताइएको थियो । युक्रेनी राष्ट्रपतिका एक सहयोगी ओलेक्सी एरिस्ट्रोभिचले रुसी उद्धारकर्ताहरू पानीजाहाजमा पुग्न नसकिरहेको भन्दै त्यहाँ ५१० जनासम्म रहेको हुनसक्ने बताएका थिए। तर त्यसको पुष्टि भएको थिएन ।

यसअघि सीमामा रहेको एउटा टापुको प्रतिरक्षा गरिरहेका युक्रेनी सीमा रक्षकहरूसँग गरेको व्यवहारका कारण उक्त सैनिक पानीजहाजले बदनामी व्यहोरेको थिए । स्नेक आइन्यान्डमा खटिएका ती युक्रेनी सैनिकले मस्कोले गरेको आत्मसम्पर्णको मागलाई अस्वीकार गरेपछि अन्ततः तिनलाई बन्धक बनाइएको थियो । यसैबीच रुसी सेनाले आफ्नो भूमिमा आक्रमण भइरहे युक्रेनको राजधानीमा रहेका कमान्ड केन्द्रहरूमा हमला गर्ने चेतावनी दिएको छ ।

यसैबीच, संयुक्त राज्य अमेरिकाले युक्रेनलाई थप ८० करोड अमेरिकी डलर आर्थिक सहयोगको घोषणा गरेको छ । पूर्वी युक्रेनमा रुसले व्यापक बनाउने ठानिएको आक्रमणसँग जुझ्न उपलब्ध गराइने उक्त सहयोग अन्तर्गत नयाँ अस्त्रहरू पनि रहने राष्ट्रपति जो बाइडनले बताएका छन् । राष्ट्रपति जेलेन्स्कीसँगको वार्तापछि बाइडनले संयुक्त राज्य अमेरिकाले युक्रेनलाई उसको प्रतिरक्षाका लागि निरन्तर सहयोग गरिरहने बताए।

प्रकाशित: १ बैशाख २०७९, बिहीबार ०४:२१

Leave a Reply