No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

देश जोगाउने हो भने वाङ्ग छानले जस्तै अंगारले विसंगतीका विवरण लेख्ने हिम्मत अब बौद्धिकहरुलाई हुनुपर्छ

0

डा. युवराज संग्रौला ।
चिनियाँ इतिहासको एउटा टुक्रा जस्ले वर्तमान नेपालको पीडाको झझल्को दिन्छ । चाओ वंशको शासन कमजोर भएको थियो। चीन, जाओ, हान, उइ, चु, छि राज्यका सरदारहरु आपसमा लडिरहेका थिए। राजाको कुनै हैसियत थिएन। समाज अराजक भएको थियो। उइ राज्य रेसमका कपडा बनाउने सीपमा पोख्त थियो। त्यसलाई उसको सीप अरुलाइ दिन राजा मार्फत अरु राज्यले बाध्य पारे ।

रेशमको खेती चु राज्यमा हुन्थ्यो। उसले रेसमको धागो बनाउने रुइको दाम बढायो। चु राज्यका बेपारीहरु उइ राज्यका जनताको अपमान गर्थे। उइ राज्यको व्यापार चु राज्यका व्यापारीको हातमा थियो। उनीहरु उइ राज्यको स्वतन्त्रता माथी खेल्बाड गर्थे। तर कमजोर उइ सरदार चु राज्यका सरदारको अगाडि घुँडा टेक्थे।

उइ राज्यलाई महंगो दाममा रेशम किनेर सस्तोमा रेशमका कपडा बेच्ने सम्झौता गर्न चु राज्यले बाध्य बनायो। नागरिकहरुले पीडा महसुस गरे। अपमान महसुस गरे। उइ राज्यको राज्धानी दालिङ्ग शहरमा थियो। त्यहाँका पूर्व भद्र एक शासकले एउटा अग्लो खम्बा गाडेका थिए। त्यसमा लेखिएको थियो “ नागरिकहरु, यदि केही सल्लाह दिनु छ भने यो खम्बामा आएर लेख, सो बापत कुनै सजाए हुदैन।“
जब असमान सन्धि गर्ने शक्तिशाली चु राज्यका शासकले बाध्य पार्यो, विद्यार्थी र विद्वानहरुले बिद्रोह गरे। वाङ्ग छान नामका एक विद्वान विद्यार्थीले आफ्ना गुरुले रोक्दा रोक्दै, शहरको चोकमा अंगार लिएर गए र लेखे ।

“राजा राज्यका शासक हुन् । जनता राज्यका जग हुन् । यदि जग नै भत्कियो भने घर उभिँदैन। शोषित र चेतनाहीन जनताबाट राज्यको जग निर्माण हुँदैन । अहिले उइ राज्यका जवान, महिला र बालबालिकाको अपमान भएको छ चु राज्यका शासक र अधिकारीबाट । के यो उइ राज्यको स्वतन्त्रताको अपमान होइन ? हामी यो राज्यको माटोमा जन्मिन्छौं, तर हाम्रो सम्मान र इज्जत छैन।हाम्रो शासक उइ राज्यका जनता र देशको रक्षा गर्न सक्दैनन्, चु सङ्ग आत्मसमर्पण गर्छन् ।न त उनी सुधार र विकास नै गर्छन् । उनी मुकुट त लगाउँछन्, तर यो मुकुट लगाउने हैसियत उनको रहेन। तब उनी को हुन् ?“

नेपाल अहिले त्यही उइ राज्य भएको छ। फरक कति मात्र छ भने यहाँ सरकारका प्रधानमन्त्री र नेता ताँती लगाएर एउटा छिमेकी देशका सामान्य कर्मचारी राजदूतको चाकरी गर्न जाँदा जनताले आफ्ना कुरा लेख्ने खम्बा छैन। यहाँ देश र जनताको पक्षमा उभिनुपर्ने विद्यार्थी उसका नेतालाइ ६० किलोको माला बनाउन व्यस्त छ, याहाँको माटोमा विदेशीले यति धेरै विसादी छरेका छ्न कि विद्वानहरु विद्वान नै हुन पाउँदैन, भैंसीले चिथरेको बाँसको ठुट्टो तामा जस्ता हुन्छन् ।

अँध्यारोले अँध्यारो मार्दैन । देश जोगाउने हो भने वाङ्ग छानले जस्तै अंगारले विसंगतीका विवरण लेख्ने हिम्मत अब बौद्धिकहरुलाई हुनु आवश्यक छ ।

 

प्रकाशित: १ बैशाख २०७९, बिहीबार ०४:४२

Leave a Reply