No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

पार्टीको निर्णय मानेको मात्र हो, म तालमेलको पक्षमा छैनः गगन थापा

0

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय तह निर्वाचनमा गठबन्धनमा रहेका दलहरुको स्थानीय पार्टी कमिटीमा सहमति जुट्न नसके त्यहाँ तालमेल नहुने बताएका छन् ।

बिहीबार नेपाली कांग्रेस काठमाडौं महानगरपालिका वडा नम्बर ८ ले नववर्ष २०७९ सालको अवसरमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा महामन्त्री थापाले स्थानीय निर्वाचनमा तालमेल गर्ने अधिकार स्थानीय पार्टी कमिटीलाई भएको बताएका हुन् ।

उनले गठबन्धनका दलहरुका बीचमा देशभरी छलफल चलिरहेको उल्लेख गर्दै दलहरुका बीचमा स्थानीय स्तरमा कुरा मिलेमा मात्रै तालमेल हुने तर अन्यथा आ–आफू निर्वाचन लड्ने बताए । स्थानीय पार्टी कमिटीले तालमेल नगर्ने भनेमा माथिल्लो तहले तालमेलको निर्णय नथोपर्ने उनले बताए ।

महामन्त्री थापाले व्यक्तिगत रुपमा आफू तालमेलको पक्षमा नरहेको भएपनि पार्टीले गरेको निर्णय मानेको बताए । उनले राजनीतिमा गठबन्धनको संस्कृति लोकतन्त्रको दिर्घकालिन हितमा छ कि छैन भन्ने विषयमा भने उचित समयमा छलफल गर्नुपर्ने बताए ।

उनले भने, ‘यो गठबन्धन, तालमेल नेपालको राजनीतिक संस्कृतिको लागि यो हितकर छँदै छैन । चुनाव अगाडि गर्ने तालमेल भन्ने मत मेरो आफ्नो मत हो । मत राखेँ । तर पार्टीको बहुसंख्यक साथीहरुले तालमेल गरेर जानुपर्छ भन्ने निर्णय गरिसकेपछि पार्टीको त्यो निर्णयलाई मानेको छु । मान्नुपर्छ । पार्टीमा आवद्ध भइसकेपछि परिवार भन्याजस्तै हो यो ।’ महामन्त्री थापाले नेपाली कांग्रेस पार्टीभित्र बृहत्तर एकता कायम गर्नुपर्ने उनले बताए ।

 

प्रकाशित: १ बैशाख २०७९, बिहीबार ०६:०९

Leave a Reply