No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

रूस-युक्रेनमा चीन पनि युद्ध लडिरहेको छ, कसरी ?

0

केशवप्रसाद भट्टराई ।
यस अघि मैले उठाएको सन्दर्भ थियो –’रूस युक्रेन युद्धमा रूस आफ्नो युद्धमात्र लडिरहेको छैन –– ऊ युक्रेनमा चीनको युद्ध पनि लडिरहेको छ । र अमेरिकाले युक्रेन युद्धलाई चीन समेतको युद्ध सम्झिरहेको छ । युद्ध युरोपमा लडिएको छ, परिणाम एसियामा खोजिएको छ ।’

१. यसलाई यसरी स्पष्ट पारौँ, रूस र चीन दुवैवीच केही ठूला रणनीतिक मतभेद नभएका होइनन् । मध्य एसिया र मध्य पूर्वमा दुवैका रणनीतिक स्वार्थहरू टकराउँछन् नै । तर वर्तमानमा दुवैले अमेरिकालाई आफ्ना प्रमुख प्रतिद्वन्द्वी र सुरक्षा खतराको रूपमा हेरिरहेका र रूसले पूर्वी युरोपलाई आफ्नो प्रभाव क्षेत्र र वृहत्तर रूसी सुरक्षा सीमाको रूपमा हेर्ने गरेको छ । नाटो वा पश्चिम युरोप माइनस अमेरिका युरोपमा रूसको अल्पकालीन र दीर्घकालीन रणनीतिक लक्ष हो । अर्थात् अमेरिकी सैन्य बल उपलव्ध नहुने हो भने युरोप रूससँग भिड्ने सामर्थ्य राख्दैन । त्यसको अर्थ युरोपमा रूसको एक छत्र प्रभाव र प्रभुता स्थापना हुने छ । संक्षेपमा भन्दा युरोपमा रूसको प्रभाव र प्रभुत्वलाई छेक्ने शक्ति भनेका नाटो, अमेरिका,र युरोपियन युनियन मात्रै हो । र युरोपमा अति दक्षिणपन्थी शक्तिहरूको उदय हुँदै गरेको र ती शक्तिहरू पनि अमेरिका, नाटो र इयुका विरोधी छन् । जस्तो फ्रान्समा हालै भएको राष्ट्रपतीय निर्वाचनमा दोस्रो ठूलो मत ल्याउने ला पेनले फ्रान्सलाई युरोपियन युनियनबाट, नाटो बाट अलग राख्ने, युरोलाई अस्विकार गर्ने नीति उल्लेख गरेकी छन् । उनको विजय त्यति टाढाको विषय होइन र उनी पराजित नै भए पनि उनको पक्षमा देखिएको ठूलो समर्थनको प्रभाव फ्रान्सको विदेश नीतिमा पर्दछ । अर्को कुरा उनी पुटिनको प्रशंसक हुन् र पूर्वी युरोपमा रूसको सुरक्षाहीतको समर्थक पनि । पश्चिम युरोपका जर्मनी, इटाली,नेदरल्याण्ड जस्ता मुलुकमा पनि ला पेनको जस्तै अति दक्षिणपन्थी दलहरूको प्रभाव र समर्थनमा निरन्तर वृद्धि भैरहेको छ । हंगेरीमा पुटिन समर्थक व्यक्ति भिक्टोर ओर्बन लगातार २०१० देखि प्रधानमन्त्रीमा निर्वाचित भैरहेका छन् । टर्की नाटोको सदस्य राष्ट्र हो, तर राष्ट्रपति रिसेप एर्दोगन नाटोको रूस नीतिको समर्थक होइनन् । रूसको तेल र ग्यास पश्चिम युरोपको आवश्यकता बनेको छ । त्यसैले जर्मनी फ्रान्स लगायतका मुलुक रूस विरुद्धको नाकाबन्दीमा त्यति धेरै प्रतिवद्ध छैनन् । रूसको बजारको आकर्षण पनि पश्चिम युरोपलाई छ ।

२. युरोप माइनस नाटो र युरोप माइनस अमेरिका रूसको रणनीतिक लक्ष रहे जस्तै एसिया माइनस अमेरिका चीनको रणनीतिक लक्ष हो । एसिया एसियालीहरूकालागि भन्ने उसको रणनीतिक नाराकोरूपमा रहँदै आएको छ । साम्यवादी विचार र दर्शनले भन्दा चीनको प्राचीन इतिहास र गौरवले चीनियाँ नेताहरूलाई बढी प्रभाव पार्ने गरेको छ । माओको पालादेखिकै स्थिति हो यो । मार्क्स,एंगेल, लेनिन वा माओ विचारधारा नभएर कन्फ्युसियस विचारधारा चीनको परिचय बनेको छ र चीनको वैचारिक एकताको आधार बन्ने गरेको छ । अर्थात् आफ्नो इतिहास र कन्फ्युसियस विचारधारामा आधारित राष्ट्रवाद चीनको पहिचान बनेको छ । कुनै समय वर्तमान पूर्वी र दक्षिण पूर्वी एसिया लामो समयसम्म चीनको प्रभाव र प्रभुताको क्षेत्र थियो । नेपाललाई पनि चीनले त्यसरी नै बुझ्ने गरेको थियो र छ ।र नेपालको इतिहासले पनि त्यसलाई अस्विकार गर्दैन ।

३. आफ्ना ऐतिहासिक प्रभुत्व र वर्चस्वको क्षेत्रमा अमेरिका सशक्तरुपमा उपस्थित छ । र अमेरिकाको यो उपस्थितिलाई अन्त्य गर्ने उसको रणनीतिक लक्ष रहिआएको छ । ख्रुश्चेभको पालामा आएर चीनको सोभियत संघसँग सीमा युद्ध भएको र लामो तनावको स्थितिमा चीन र अमेरिकाले साझा सोभियत विरोधी रणनीति अवलम्वन गरेका थिए । तर सोभियत सङ्घको पतन र दुई मुलुकवीच सीमा सन्धि सम्पन्न भैसकेको अवस्था एकातिर र अर्कोतिर दुवै मुलुकका वृहत्तर सुरक्षा स्वार्थ र रणनीतिक लक्षप्राप्तिमा अमेरिका वाधक रहेको आधारमा दुवै मुलुक अमेरिका विरुद्ध एकै विन्दुमा उभिएका छन् । तर आफ्ना विराट महत्वाकांक्षालाई बोक्ने , त्यसलाई यथार्थतामा रुपान्तरण गर्ने राजनीतिक र आर्थिक क्षमता रूससँग छैन । तर रूस अझै सैन्य रूपमा अमेरिकापछिको दोस्रो महाशक्ति हो । तर माथि उल्लेख गरे जस्तै त्यो शक्तिलाई धान्ने आर्थिक क्षमता उसको छैन । उदाहरणको लागि रूसको रक्षा बजेट ६० अर्व डलर आसपास छ र त्यो भारतको भन्दा पनि कम हो । त्यो भनेको चीनको रक्षा बजेटको २५ प्रतिशत र अमेरिकाको रक्षा बजेटको आठ प्रतिशत जति हो । चीनको आर्थिक शक्ति र रूसको सैन्य शक्तिको संयोजनबाट निर्माण हुने रणनीतिक दवावको बलमा युरोपमा रूस र एसियामा चीन अमेरिका विरोधी रणनीतिक लक्ष प्राप्त गर्न समर्थ हुने उनीहरुको विश्वास देखिन्छ । र फेब्रुवरी ४ मा रूस र चीनका राष्ट्रपतिहरूले बेइजिङ्गमा जारी गरेका संयुक्त घोषणाले त्यो बताएको छ ।

४. रूसको सैन्य सामग्री उत्पादनका विराट पूर्वाधारहरूलाई अद्यावधिक गर्ने, त्यसलाई आधुनिकीकरण गर्ने प्रविधि विकासगर्ने, प्रविधि खरीद गर्ने आर्थिक क्षमताको अभावमा तिनले प्राविधिक श्रेष्ठता हाँसिल गर्न सकेका छैनन् । तिनको दक्षता र प्रभावकारिता कम थालेको छ । जस्तो रुसले आर्थिक अभावका कारण उसले आफ्ना ठूला रक्षा उद्योगहरूलाई निजीकरणमा लग्यो, निजीकरणमा गए तर ती उद्योगहरूले अनुषन्धान र विकासमा पर्याप्त लगानी गर्न नसकेकाले ती क्रमशः प्राविधिकरूपमा पछि पर्दै गएका छन् । त्यसैले तिनको बजार खुम्चिदै गएको छ । हालै मात्रै रूससँग निकट रहँदै आएको सर्वियाले चीनसँग जमिनबाट आकाशमा प्रहार गर्ने क्षेप्याश्त्र प्रणाली खरीद गर्यो , जबकि त्यस्तो हतियार उसले रूससँग खरीद गर्ने कुरा तय गरेको थियो ।

स्पष्ट रुपमा भन्दा रूसका रक्षा उद्योगहरू ठूलो घाटामा छन् । एउटा अध्ययन अनुसार तिनको घाटा र रूसको रक्षा बजेट झन्डै झन्डै बराबर जस्तो छ । त्यस अवस्थामा रूसका ती सैन्य उद्योग र पूर्वाधारहरूको विकासमा चीनियाँ लगानीका सम्भावना छन् । दुई मुलुकवीच सैनिक र रणनीतिक साझेदारी र सहयोगमा व्यापकता आइरहेको छ । युक्रेन युद्धमा भएको खर्च र आर्थिक नाकाबन्दीको कारणले रूस आर्थिकरुपले कमजोर हुँदै गएको अवस्थामा रूसका सैन्य उद्योग र पूर्वाधारहरूमा चीनियाँ लगानीका लागि बाटो खोल्नु रूसको वाध्यता बन्न जाने देखिन्छ । अमेरिकी र युरोपीय आर्थिक नाकाबन्दीबाट उत्पन्न हुने आर्थिक संकटबाट जोगिने बाटो त्यो हुन सक्छ । अर्को शव्दमा आर्थिक संकट चरम हुँदै जाँदा आफ्ना सैन्य उद्योग र त्यसका पूर्वाधारहरू चीनलाई ठेक्कामा सुम्पिनुको विकल्प रूससंग नहोला । त्यसको अर्थ निकट भविष्यमा चीन आर्थिक रुपमा मात्र नभएर सैन्यरूपमा पनि अमेरिकाको टक्करको शक्ति बन्ने सम्भावना निर्माण हुनु हो । त्यसैले युक्रेन युद्धले रूसको चीनमाथिको निर्भरता बढाउने मात्रै नभएर मध्य एसिया, रूस र पूर्वी युरोपमा चीनको प्रभाव र प्रभुत्वलाई बढाउने छ । युक्रेन युद्धमा रूस विजयी हुँदा पूर्वी र मध्य युरोपको सुरक्षा सम्वेदनशीलता जटील बन्न पुगेर अमेरिकाले आफ्नो ठूलो शक्ति युरोपमै केन्द्रित गर्ने रणनीतिक वाध्यता आइपर्ने छ । र रूस पराजित हुँदा रूस र समस्त युरेसिया क्षेत्रमा चीनको वर्चस्व स्थापना हुनेछ । युद्धमा रुस हार्यो, पुटिन पराजित भए भने पनि रूसमा अमेरिकाको प्रभाव बढ्ने छैन । पुटिन हारे भने पनि रूसमा स्थापना हुने भनेको पुटिन तन्त्र नै हो । सात दशक लामो कम्युनिस्ट शासन, एक दशक लामो येल्तसिनको र दुई दशक लामो पुटिनको शासन गरेर एक सय वर्ष लामो अधिनायकवादमा अभ्यस्त रूसलाई प्रजातान्त्रिक अभ्यासमा अभ्यस्त बनाउन लाग्ने समय र नेतृत्व रूसलाई सजिलै प्राप्त हुने छैन ।
त्यो चरण पूर्वी युरोपका लागि सजिलो हुने छैन ।

५. चीनले दक्षिण चीन सागरमा कृतिम टापु निर्माण गरेर त्यहाँ अमेरिका र उसका सहयोगी राष्ट्र विरुद्ध सैन्य संरचना निर्माण गरेको छ । फिलिपिन्स देखि सोलोमन टापु समूह हुँदै दक्षिण पश्चिम प्रशान्त क्षेत्रमा चीनियाँ सेना सम्बद्ध कम्पनीहरूले रणनीतिक महत्वका टापुहरू धमाधम किनिरहेका छन् । पूर्वी अफ्रिकाको जिबुतीमा उसको सैनिक अड्डा छ, पाकिस्तानको ग्वादर, श्रीलंकाको हम्बनटोटा, बर्माको क्याक्पु बन्दरगाहहरूमा चीनले रणनीतिक र सैन्य सुविधा र संरचनाहरू विकास गरिरहेको विज्ञहरूले बताउने गरेका छन् । लामो समयदेखि चीन एसियाबाट अमेरिकालाई विस्थापित गर्ने रणनीति अन्तर्गत काम गरिरहेको छ । अमेरिकालाई एसियाबाट विस्थापित गर्न नसकुन्जेल चीनले एसियाको नेतृत्व प्राप्त गर्न सक्दैन र एसियाको नेतृत्व भनेकै विश्वको नेतृत्व प्राप्ति हो भन्ने बुझेको चीनले ताइवानमाथि नियन्त्रण गरेर आफ्नो एसियाली र विश्व नेतृत्वको यात्रा आरम्भ गर्ने लक्ष राखेको छ । ताइवान आफैंमा बलियो सैनिक शक्ति हो । त्यसमाथि ताइवानको रक्षा अमेरिकाको दायित्व हो भन्ने कुरा अमेरिकी कानुनले नै किटेको छ ।

त्यसैले चीनले आफ्नो सैन्य शक्तिको ठूलो पाटो ताइवान जलमार्गको वारी तैनाथ गरेर राखेको छ । माथि उल्लेख गरिए जस्तै युरोपमा युक्रेन युद्ध वा युक्रेन युद्धपछिको स्थितिमा युरोपको सुरक्षामा अमेरिकाको ठूलो शक्ति नाटोको सम्पूर्ण शक्ति केन्द्रित गर्नु पर्ने वाध्यताको स्थितिमा चीनले ताइवानमाथि आक्रमण गरेमा अमेरिका पूर्ण सामर्थ्यमा ताइवानको सहयोगार्थ आउन सक्नेछैन ।

ताइवानमाथि चीनको आक्रमणको अवशरलाई उत्तर कोरियाले दक्षिण कोरियामाथि आक्रमणगर्ने अवशरको रूपमा लिने छ । त्यसले पूर्वी एसिया र दक्षिण पूर्वी एसियाको समस्त रणनीतिक वातावारणमा एकाएक ठूलो परिवर्तन ल्याउने छ । यसै कारण अमेरिका र नाटो युक्रेनमा प्रतक्ष सैन्य सहयोगको स्थितिमा पुगेका छैनन् । अमेरिकालाई युरोपमै बाँधिराख्नु चीनको प्रमुख लक्ष रहेको छ –त्यसैले चीनले युक्रेन माथिको रूसी आक्रमणको समर्थन गरिरहेको छ । युक्रेन युद्धमा त्यत्रो ध्वंश र नर संहार हुँदा पनि एउटा मित्र राष्ट्रलाई सैन्य सहयोग गर्नबाट हच्किएको अमेरिका र नाटोलाई उत्तेजित पार्न रूस फिनल्याण्ड, स्वीडेन र युरोपका नाटो राष्ट्रहरुलाई चेतावनी दिइरहेको छ । भ्लादिमिर पुटिन मूर्ख होइनन्, चतुर र धुर्त रणनीतिज्ञ हुन् । एउटा ठूलो जोखिम लिन नसक्ने हो भने आफ्नो र रूसको भविष्य सुरक्षित र सुनिश्चित छैन भन्ने बुझेका छन् । त्यसैले उनी जुनसुकै हदसम्म जान सक्छनन् । यसले आफ्नो एसिया रणनीतिलाई सहयोग गर्ने भएकोले चीनले पनि रूसलाई त्यसकोलागि उत्प्रेरित गरिरहेको छ । यिनै आधारमा मैले रूस युक्रेनमा चीनको पनि युद्ध लडिरहेको उल्लेख गरेको हूँ ।

प्रकाशित: २ बैशाख २०७९, शुक्रबार ०२:५३

Leave a Reply