No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

जेलेन्स्की भन्छन् – रुसी तेलका लागि तिरिएको ‘रकम रक्तरञ्जित’

0

युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले रुसी तेलको खरिदलाई निरन्तरता दिएका युरोपेली देशहरूलाई ’अरू मानिसको रगतबाट पैसा कमाइरहेको’ आरोप लगाएका छन् ।

बीबीसीलाई दिएको अन्तर्वार्तामा राष्ट्रपति जेलेन्स्कीले जर्मनी र हङ्गेरीलाई तोकेरै उनीहरूले इन्धन विक्रीमा प्रतिबन्ध लगाउने प्रयासलाई अवरुद्ध तुल्याइरहेको बताए ।

यो वर्ष रुसले तेल बेचेर ३२६ अर्ब अमेरिकी डलर कमाउने अनुमान गरिएको छ । रुसविरुद्ध केही प्रतिबन्धहरूलाई समर्थन गरेपनि तेलको विक्रीमा कडा कदम चाल्ने प्रस्तावलाई समर्थन गर्ने मागप्रति कठोर धारणा राखिरहेको बर्लिनप्रति युक्रेन नेतृत्वको निराशा बढ्दै गएको पाइन्छ ।

राष्ट्रपतिले युक्रेनलाई थप हतियारहरू उपलब्ध गराइनुपर्ने मागलाई दोहोर्याउने क्रममा रुसी आक्रमणलाई विफल पार्ने सामग्रीहरू प्राप्त नगरिरहेको बताए ।

रुसी फौजहरू हालैका दिनमा युक्रेन राजधानी किएभ र मध्य तथा उत्तरका विभिन्न ठाउँहरूबाट फिर्ता भएका छन् । बल प्रयोग गरेर सम्पूर्ण युक्रेनमाथि नियन्त्रण कायम गर्ने प्रयासबाट उनीहरू पछि हटेको जस्तो देखिन्छ ।

तर युक्रेनको पूर्व र दक्षिणमा रक्तपातपूर्ण र लामो द्वन्द्वको जोखिम रहेको छ किनभने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले त्यहाँ भूभाग कब्जा गर्ने प्रयासमा आफ्नो सैनिक अभियानको ध्यान केन्द्रित गरेका छन् ।

हप्तौँदेखिको रुसी गोलाबारीका कारण पुटिनको रणनीतिक लक्ष्यका रूपमा हेर्ने गरिएको दक्षिणी बन्दरगाह शहर मारिऊपोल ध्वस्त भएको छ । राष्ट्रपति जेलेन्स्कीले उक्त शहरमा दशौँ हजार मानिस मारिएको हुनसक्ने बताए ।

मारिऊपोलमा ९५ प्रतिशत भवन क्षतिग्रस्त भएको राष्ट्रपति जेलेन्स्कीले बताएका छन् । जेलेन्स्कीले रुसी फौजहरूले मारिऊपोल र किएभको बाहिरी क्षेत्र बुचा र बोरोड्यान्कामा गरेका जघन्य अपराधहरूले रुससँगको शान्तिवार्ताको सम्भावनालाई थप साँघुरो बनाएको बताए।

प्रकाशित: ३ बैशाख २०७९, शनिबार ०२:४९

Leave a Reply