No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

खजुरामा मगर घरबास सञ्चालन

0

बाँके । बाँकेको खजुरा गाउँपालिका–३ धौलागिरिमा मगर घरबास (होमस्टे) सञ्चालन गरिएको छ । एक पालिका एक घरबासको अवधारणालाई अगाडि बढाउँदै दुई वर्षको निरन्तर प्रयासपछि गुरुङ र मगरको बस्ती रहेको धौलागिरिमा नौमती सामुदायिक होमस्टे सञ्चालनमा ल्याइएको हो ।

मगर संस्कृति, संस्कार र सभ्यतामा रमाउन मगर समुदायले घरबास सञ्चालनमा ल्याएका छन् । सुरुमा नौ घरलाई घरबासका रुपमा सञ्चालनमा ल्याइएको छ । “यसलाई बढाउँदै लैजाने हो”, होमस्टे परामर्शदाता पूर्णचन्द्र उपाध्यायले भने । उनले मगर संस्कार र संस्कृतिको जगेर्नामा पनि यसले सहयोग गर्ने उल्लेख गर्दै होमस्टे सञ्चालनमा आएसँगै मगर कला, संस्कृति, रहनसहन र खानपानमा जोड दिइएको बताए ।

खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले होमस्टे आर्थिक समृद्धिसँग पनि जोडिने भएकाले खजुराको समृद्धिमा यसले टेवा पुग्ने विश्वास व्यक्त गरे । नौमती सामुदायिक घरबास धौलागिरिका अध्यक्ष छविकला थापाले धौलागिरिमा पाहुना भएर आउनेलाई मगर संस्कृतिमा मनोरञ्जन गराइने बताइन् ।

संस्कृतिसँगै नजिकै रहेको किरणनालामा गोही हेर्ने र नौमती बाजाको धुनमा नाचगान गरी भरपुर मनोरञ्जन लिने व्यवस्था घरबास गाउँमा गरिएको उनले जानकारी दिइन् । उनले स्थानीय मगर अगुवा चित्रबहादुर रानामगरले मगर र गुरुङको खानपान, संस्कृतिलाई बचाउँदै भावी पुस्तालाई समेत संस्कार र संस्कृति बचाइराख्न प्रेरणा दिन खोजिएको बताए ।

“हाम्रा पुर्खाले गरेका परम्परागत कुराको सिकाइ, संस्कार, संस्कृतिको संरक्षण गर्ने उद्देश्यले घरबास सञ्चालन गरिएको हो”, उनी भन्छन् ।

घरबास महासङ्घका महासचिव कृष्ण चौधरीले घरायसी वातावरणमा बसोबास, आफ्नै खेतबारीमा उत्पादन भएका जैविक खानाका परिकारको स्वाद पस्कन घरबास प्रभावकारी हुने बताए । “कला, संस्कृतिको जर्गेना गरी राम्रो आयआर्जनका रुपमा समेत घरबासलाई प्रवद्र्धन गर्न आवश्यक छ”, उनले भने ।

प्रकाशित: ३ बैशाख २०७९, शनिबार ०३:०२

Leave a Reply