No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

सुनचाँदी आपूर्तिको वैकल्पिक व्यवस्था मिलाउन सरकारलाई व्यवसायीको आग्रह

0

काठमाडौं । सुनचाँदीको आपूर्ति ठप्प भएपछि वैकल्पिक व्यवस्था मिलाउन सुनचाँदी क्षेत्रका तीन महासङ्घले सरकारसँग सामूहिक रुपमा आग्रह गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासङ्घको संयोजनमा आइतबार बसेको संयुक्त बैठकले आपूर्तिको वैकल्पिक व्यवस्था अवलम्बन गर्न सरकारलाई अनुरोध गरेको हो ।

अत्यावश्यक वस्तुबाहेक अन्यको एलसी नखोल्ने बैंकहरूको गत साताको निर्णयसँगै बजारमा सुनचाँदीको आपूर्ति ठप्प भएको छ । त्यसबाट यस क्षेत्रमा आबद्ध २० हजारभन्दा बढी व्यवसायी हजारौँ कालिगडको रोजीरोटी नै सङ्कटमा परेको उनीहरूको भनाइ छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले विदेशी मुद्राको सञ्चिति घटेको हालको अवस्थामा बैंकहरूबाट ल्याइने सुनको आपूर्ति रोकिए पनि बजारलाई नियमित राख्न वैकल्पिक व्यवस्था अवलम्बन गर्नुपर्ने बताए ।

विदेशी मुद्रा सञ्चितिमा प्रभाव नपर्ने गरी आन्तरिक स्रोत र अन्य उपाय अवलम्बन गरी अहिलेको गर्जो टार्न सकिने उनको भनाइ छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी महासङ्घका अध्यक्ष सुरेशमान श्रेष्ठले पनि सरकार, सुनचाँदी व्यवसायी र आम उपभोक्ता सबैलाई सहज हुनेगरी आपूर्तिको विकल्प खोज्नुपर्नेमा जोड दिए ।

यस्तै नेपाल हस्तकला व्यवसायी महासङ्घका अध्यक्ष प्रचण्ड शाक्यले कच्चा पदार्थको आपूर्ति रोकिँदा चौतर्फी समस्या आएको भन्दै त्यसको निराकरणका लागि तीनैवटा संस्था संयुक्तरूपमा लागि पर्नुपर्ने खाँचो औँल्याए ।

सुनचाँदी क्षेत्रमा काम गर्दै आएको तीनैवटा छाता संस्थाका तर्फबाट एउटा साझा संयन्त्र बनाएर समस्या समाधानका लागि अगाडि बढ्ने सहमति भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष अर्जुन रसाइलीले जानकारी दिए ।

प्रकाशित: ४ बैशाख २०७९, आईतवार ११:४२

Leave a Reply